ad ad

राजनीति


मुख्यमन्त्री शाक्यविरुद्ध केही दिनभित्रै अविश्वासको प्रस्ताव ल्याउने तयारी

मुख्यमन्त्री शाक्यविरुद्ध केही दिनभित्रै अविश्वासको प्रस्ताव ल्याउने तयारी

सागर न्यौपाने
भदौ २३, २०७८ बुधबार २०:३७, काठमाडौँ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध केही दिनभित्रै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ। 

परिस्थितिमा फेरबदल नभए तीन दिनभित्र अविश्वासको प्रस्ताव पेस गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

एमाले विभाजन हुनलाग्दा नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट डोरमणि पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्। शाक्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी उनलाई विश्वासको मत लिन असोज १ गतेसम्मको समय छ। 

तर मुख्यमन्त्री शाक्यले भने तत्काल विश्वासको मत नलिने यसअघि नै बताइसकेकी छिन्। 

तर, भदौ ९ गते एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि शाक्य अल्पमतमा परेकी छिन्। एमालेको कुल ५५ सांसद रहेकोमा १३ जना समाजवादी पार्टीमा खुलेका छन्।

तर, मुख्यमन्त्री शाक्यले बुधबार ४ जना मन्त्री र ५ जनालाई राज्यमन्त्री बनाउँदै मन्त्रिमण्डल विस्तार गरेकी छन्। अल्पमतमा रहेकी मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गरेपछि अविश्वास प्रस्ताव ल्याउने तयारी भएको एकीकृत समाजवादीका एक सांसदले नेपालखबरलाई बताए।

‘एकीकृत समाजवादी पार्टी गठन भएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसक्नुभएको छ,’ ती सांसदले भने, ‘उहाँले स्वेच्छाले राजनीनामा नदिए अविश्वास प्रस्ताव पेस गर्छौं त्यसका लागि छलफल भइहरहेको छ।’

बागमती प्रदेशमा १ सय ९ सांसद छन्। माओवादी केन्द्रका २३, कांग्रेसका २२ र समाजवादीको १३ समेत गर्दा बहुमत अर्थात् ५७ जना पुग्छन्। नयाँ सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ। तीनै दल मिलेर अविश्वासको प्रस्ताव ल्याउन लागिएको हो।

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले केही दिन मुख्यमन्त्रीलाई कुर्ने त्यसपछि भने अविश्वासको प्रस्ताव अघि बढाउने बताए।

‘एकदुई दिन कुर्छौं, उहाँले नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ कि,’ बानियाँले नेपालखबरसँग भने, ‘नैतिकता बिर्सेर मुख्यमन्त्रीले जबर्जस्ती अल्पमतको सरकार चलाउन खाज्नुभयो भने धेरै कुर्दैनौँ, प्रक्रिया अघि बढाउँछौं।’

अर्का एक सांसदले भने २५ गतेपछि प्रक्रिया अघि बढ्ने दाबी गरे।

‘अब २५ गतेपछि बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ,’ ती नेताले थपे। 

माओवादी केन्द्रका सांसद विशाल खड्काले पनि केही दिनभित्र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने बताए।

‘अल्पमतमा रहनुभएको मुख्यमन्त्रीले विस्तार गर्नुभएको सरकार पानीको फोका जस्तै हो,’ खड्काले भने,  ‘चाँडै हामी सार्थक निर्णयमा पुग्छौं, सायद तीन दिनभित्र त्यो प्रक्रिया अघि बढ्छ।’

समाजवादी पार्टीका सांसद लक्ष्मण लम्सालले अल्पमतमा परेपछि मन्त्रीमण्डल विस्तार गरेर मुख्यमन्त्रीले एमाले अध्यक्ष केपी ओलीको जस्तै बलमिच्याइँ गरेको र अब उनलाई हटाउनुको विकल्प नभएको बताए। उनले यो सरकार एक हप्ता पनि नटिक्ने ठोकुवा गरे। 

‘अल्पमतमा परेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु अनैतिक काम हो, ओली शैलीमा बनेको यो सरकार एकहप्ता पनि टिक्दैन,’ उनले भने। 

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयमा कांग्रेस र समाजवादी पार्टीबीच छलफल चलिरहेको छ। एक नेताका अनुसार समाजवादीले नै बागमती सरकारको नेतृत्व गर्ने सहमति लगभग जुटिसकेको छ। 

‘२५ गते दलको बैठक बस्छ, त्यसले संसदीय दलको नेता चयन गर्छ,’ समाजवादीका सांसद लम्सालले भने, ‘अनि नयाँ सरकार गठनका लागि गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्रसँग छलफल हुन्छ।’

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बानियाँले पनि सरकारको नेतृत्व गर्ने विषयमा कुनै विवाद नभएको बताए।

‘हाम्रो केन्द्रदेखि नै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन बनेको छ, बागमती प्रदेशमा पनि त्यही गठबन्धन कायम राखेर नयाँ सरकार गठन गर्छौँ,’ बानियाँले भने।

‘आउँदो स्थानीय, प्रदेश र केन्द्र सरकारसम्म गठबन्धन कायम राख्ने मैले नेतृत्वबाट जानकारी पाएको छु, पछिसम्म जाने गठबन्धनबीचमा जो मुख्यमन्त्री बनाए पनि हाम्रो सहमति र समझदारी छ,’ बाँनियाले थपे। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत नै नलिई मन्त्रिमण्डल विस्तार गरेपछि गठबन्धनका दलहरु असन्तुष्ट छन्। 

‘कि यो सरकारले विश्वासको मत लिनुपथ्र्याे, त्यसो नगरी एक्कासि मन्त्रिमण्डल विस्तार गर्नु अनैतिक काम हो,’ सांसद खड्काले थपे, ‘एक हप्ता पनि नटिक्ने मन्त्री बनाउनुको उद्देश्य राज्य स्रोतको दोहन गर्ने योजनाबाहेक केही होइन।’

सांसद लम्सालले पनि आफू अल्पमतमा रहेको जान्दाजान्दै शाक्य मुख्यमन्त्री बन्न गएको विषय रहस्यपूर्ण रहेको बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .