पार्टी एकता गरेको १७ महिनामै दूरी बढेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष आ–आफ्नै रणनीति बनाउन लागि परेका छन्।
एकता प्रक्रियाबाट अलग हुँदा नकारात्मक सन्देश जाने र तत्काल विभाजनको पनि सम्भावना नदेखेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीति बदलेका हुन्। ओलीले नेताहरुको कार्यविभाजन गर्दा आफ्नो अनुकूल बनाउने, रिक्त सभामुख चयनमा प्रचण्डलाई विश्वासमा लिएर जाने योजना बनाएका छन् भने प्रचण्डले पार्टीको संगठन, प्रतिपक्षीसँगको सम्बन्ध विकास र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने रणनीति लिएका छन्।
एकता भएको छोटो अवधिमै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ‘कार्यशैली’लाई लिएर सतहमा देखिनेगरी दूरी बढेपछि प्रचण्डले नयाँ रणनीति तय गरेका हुन्।
प्रचण्ड निकट स्थायी कमिटी सदस्य लेखराज भट्टले पछिल्ला दिनमा प्रचण्डले पार्टीको संगठनलाई चुस्त र व्यवस्थित राख्नेगरी काम गरिरहेको बताए। नेपालखबरसँग कुरा गर्दै नेता भट्टले अध्यक्ष प्रचण्डले तीनवटा विषयलाई रणनीतिक रुपमा अघि बढाएको जानकारी दिए।
उनका अनुसार पार्टी एकतापछिको भद्रगोल संरचनालाई व्यवस्थित गर्ने, राष्ट्रिय सहमतिका लागि प्रतिपक्षी कांग्रेससँग सहकार्य गर्ने र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउने दिशामा प्रचण्ड सक्रिय भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उनले दिएका पाँच सुझाब कार्यान्वयन गराएपछि मात्रै पार्टीमा आफू बलियो हुन सक्ने प्रचण्डको विश्लेषण छ।

‘नेताहरुबीचमा सम्बन्ध बिगारेर, दूरी बढाएर भन्दा पनि जनता र पार्टी, सरकार र जनताबीचको सम्बन्धलाई बलियो बनाउँदै जनताकै काम गरे आफ्नो जनमत सुदृढ हुने उहाँको बुझाइ रहेको छ,’ भट्टले नेपालखबरसँग भने, ‘प्रचण्डले अबका दिनमा असन्तुष्टि भन्दा पनि पार्टी एकता गर्दा भएका सहमति सम्झाउने प्रयास मात्रै गर्नुहुनेछ।’ उनले एकताका क्रममा भएका सहमति र सम्झौतालाई सम्झाउँदा त्यसले पार्टीमा राम्रै प्रभाव पार्ने र त्यो पारदर्शी पनि हुने बताए।
उता प्रधानमन्त्री ओली भने प्रचण्ड असन्तुष्टिपछिको अबस्था विश्लेषण गरेर नयाँ रणनीति बनाउन थालेका छन्। तर, बाहिरबाट हेर्दा प्रचण्ड र ओलीले आइतबार र सोमबार बालुवाटारमा भेटवार्ता गरेर कुनै दूरी नबढेको सन्देश दिन खोजेका छन्। ओलीलाई भेटन् शनिबार बालुवाटार नगएका प्रचण्ड आइतबार भने ओलीसँग बालुवाटारमा गएर झण्डै दुई घण्टा छलफल गरे। त्यसपछि सोमबार पनि ओली र प्रचण्डबीच आधा घण्टा छलफल भयो।
पछिल्ला छलफल रणनीति अन्तर्गत नै भएको बालुवाटार स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलसँगको भेटघाट बाक्लो बनाएपछि ओलीले आफ्नो रणनीति बदलेका हुन्। बालुवाटारमा आफू निकटसँग परामर्शका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डसँग दूरी बढाएर राम्रो नहुने बताएका थिए।
प्रधानमन्त्री ओलीले तत्काल वरिष्ठ नेता नेपालको साथ पाउने संभावना पनि कम छ। पार्टीभित्रको वरियतामा घटुवा गरेपछि नेपाल प्रचण्डभन्दा पनि ओलीसँग बढी असन्तुष्ट रहेका छन्। बैठकमा ओली र नेपालबीच भनाभन समेत भएको थियो। यसलाई रामैसँग बुझेका ओलीले प्रचण्डसँगै सम्बन्ध सुधार गर्दा आफ्ना योजना कार्यान्वयन गर्न सहज हुने देखेका छन्।
नेकपाको पार्टी एकता प्रक्रिया अझै सकिएको छैन। अनुशासन कमिटी, पोलिटब्युरो, सल्लाहकार कमिटी, लेखा आयोग, जेष्ठ कम्युनिस्ट मञ्च मात्रै होइन केही केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट बाँकी नै रहेको छ। लामो कसतरपछि विभागीय प्रमुख र उप प्रमुख टुंगो लगाए पनि त्यसले पूर्णता पाउन सकेको छैन। प्रधानमन्त्री ओली तिहार लगत्तै सचिवालय बैठक राखेर पार्टी एकताको विषयलाई निष्कर्षमा पुर्याउने तयारीमा रहेका छन्।
विगतका आश्वासन कार्यान्वयन नगरेका कारण पछिल्ला दिन ओलीको सचिवालयका अन्य सदस्यहरुसँग पनि दूरी बढदै गएको छ। नेता गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरे पनि कार्यान्वयन गर्न आवश्यक विधान संशोधनको प्रक्रियालाई अघि बढाएपछि गौतम पनि उनीसँग सन्तुष्ट छैनन्। यो सबै बुझेका ओलीले आफ्ना केही पुर्ववत् अडान र रणनीति बदलेर नयाँ बनाउँदैछन्। त्यसका लागि उनले आफू निटकहरुसँगको परामर्शलाई तीव्रता दिएका हुन।

प्रतिक्रिया