नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको बताएका छन्।
युवा संघ नेपालको शनिबार ललितपुरस्थित लुभुमा भएको भेलालाई सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
'पार्टी फुटेको होइन, केही मान्छे पतित भएका हुन् बिग्रिएका हुन्। अलिकति मानिस चोइटिएका हुन्। फुट्नु र चोइटिनु फरक कुरा हो', उनले भने, 'फुट्नु भनेको पक्लक्क हुनु हो। भाँडो चोइटिँदा पकाउन पनि खाँचो हुँदैन, खान पनि खाँचो हुँदैन।'
ओलीले अझै पनि आफूहरुसँग ५२ प्रतिशत शक्ति रहेको बताए। 'हामी ५२ प्रतिशतको तागत देखाउँछौँ। ५२ प्रतिशत यहीँ हुनुहुन्छ पार्टी फुटेको छैन,' उनले संसदको शक्तितर्फ इंगित गर्दै भने, 'नुहाउँदा एक दुई कपाल झर्छ, त्यसो भन्दैमा मान्छे खुइलेको हुँदैन। एक दुई कपाल झरेका हुन्, पार्टी फुटेको होइन।'
ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल नर्कको बाटो हिँडेको पनि बताएका छन्।
'मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो', उनले भने, 'सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ। अहंकार पालेर बसेका थिए अब चोइटिएर गए। हाम्रो पार्टीका नेता कार्यकर्ताले म म भन्दैन।'
ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताए। 'यसले मान्छेलाई खरानी पारेर, टुक्र्याएर लग्यो', उनले भने, 'म भन्ने अहंकारको भावना छाडौँ। माधव नेपाल जाने बाटो नर्कको हो। माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु।'
Shares

प्रतिक्रिया