नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ।
चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।
त्यही सहमति कार्यान्वयन गर्न पौडेल पक्ष पुनः चाक्सीबारीमै शनिबार बिहानैदेखि छलफलमा जुटेको छ।
हिजो शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास (चाक्सीबारी) मै बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो।
सोहीअनुरूप पौडेल पक्षका नेताहरू राति देउवालाई भेट्न गएका हुन्। त्यस क्रममा पौडेल पक्षका मागमा देउवा सहमत भएको चाक्सीबारी स्रोतको भनाइ छ।
कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्।
देउवासँग भएका सहमतिअनुसार अघि बढ्न नेताहरू कृष्ण सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले आज दिनभर गृहकार्य गरेर जिल्ला सभापतिहरूको अनशन तोडाउने सम्भावना रहेको चाक्सीबारी स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया