ad ad

म्यागेजिन


कुलत त्यागेर सय माइल दौडिएका जीवन

कुलत त्यागेर सय माइल दौडिएका जीवन

समर्पण श्री
भदौ १२, २०७८ शनिबार १२:३६, काठमाडौँ

उनी त्यो चोकमा आक्कलझुक्कल पुग्छन्। 

बिराना बनेका तारकेश्वर–४ का गल्लीहरूमा नजर डुलाउँछन्। कतै–कतै पाइला टक्क रोकिन्छन्।

‘यहीँ त हो केटाहरूसँग भेट हुने! गाँजा माड्ने, गोटी निल्ने। दिनभर झुलेर बस्ने,’ विगतको सम्झनाले मुटु बिझाउँछ। एकछिन उदास हुन्छन्। बिर्सनुपर्ने कुरा बिर्सन नसकेर होला, विस्मित भावमा उनको अनुहार खुम्चिन्छ।

त्यहाँ अझै पनि छाया हिँडिरहे जस्तो लाग्छ उनलाई साथीहरूको। ‘ओइ जीवन!’ भन्दै कोही बोलाउन पो आउला कि! उनी झस्किन्छन् र सतर्क हुन्छन्।

‘कोही यतिबेला विदेशमा रापिलो गर्मी सहँदै होलान्, कोही जेलबाट निस्कने दिन गन्दै होलान्,’ उनी सोच्छन्, ‘धन्न, म चाहिँ निस्किसकेछु त्यो नर्कबाट!’

जीवन लामा जब विगत कोट्याउन खोज्छन्, तब उनको मुटुमा गाँठो पर्छ। 

‘नालायक!’​​

शिक्षकहरूका लागि। बा–आमाका लागि। टोल छिमेकका लागि। उनी थिए– नालायक।

‘अब तँ विदेश जाने हो, पढेर खाँदैनस्,’ इराकबाट घर फर्केका बाले जीवनलाई बेस्सरी झपारे। 

विदेश जाने कुराले उनका गोडा काँपे। बोली अवरुद्ध भयो। उनी धुरुधुरु रोए। जीवन कक्षा ६ मा फेल भएका थिए। तर एक पटक होइन, पाँच पटक। 

‘हुँदाहुँदा सानी बहिनीसँगै एउटै कक्षामा पढ्नुपर्ने दिन आए, कसरी सक्थेँ र!’ उनी सम्झिन्छन्। 

केही सीप लागेन। अन्ततः उनी विदेश जाने भए। प्रक्रिया पनि सुरु गरेका थिए। तर, उनको योजना सफल हुन सकेन।

बा रक्सी पिउँथे अत्यधिक। घरमा रातोदिन आमासँग झगडा। त्यही झगडाको कारण आमा घरबाट हिँडिन् र खाडी मुलुक गइन्। यता जीवनलाई विदेश पठाउन बाले एजेन्टलाई दिएको २ लाख गायब भयो। ऋण गरेको पैसा न फिर्ता आयो, न जीवन विदेश जान पाए। 

त्यसपछि सुरु भयो अभाव र तनावको शृङ्खला।

‘यता छाक टार्न समेत पैसा भएन, उता साहुका धम्की लगातार आउन थाले। बा काठमाडौंबाहिर निस्किए,’ उनी सम्झन्छन्।

त्यसपछि नजानिँदो ढंगबाट जीवनले कुलतको बाटो रोजे।! उनलाई तनावबाट छुटकारा चाहिएको थियो। टोलका साथीहरूसँगै लागुऔषध सेवन गर्न थालेपछि लाग्यो– यसले छुटकारा दिन्छ।

गाँजा, नाइट्रोजन, ब्राउन सुगर, मर्फिनको संगतमा उनको दुई वर्ष बित्यो। उनीहरु गोप्य जंक्सनमा भेला हुन्थे, आफू पनि लागुऔषध लिन्थे, नयाँनयाँ केटाहरू ल्याएर उनीहरुलाई पनि दिन्थे।

एक किसिमको डिलर नै भइसकेका थिए उनीहरू। एकपटक किनबेचकै लागि चन्द्रनिगाहापुरसम्म पुग्यो जीवनको समूह। त्यहाँ सस्तोमा लागुऔषध किनेर काठमाडौँ ल्याउँथे र नाफा खाएर बेच्थे। 

कुनै दिन लागूऔषध नपाउँदा दिनै भारी हुन्थ्यो। ज्यान बेतोडले दुख्ने, मन उदास हुने। 

‘बिहान उठेदेखि एउटै संघर्ष हुन्थ्यो– खोज, ल्याऊ र खाऊ! त्यसबाहेक केही थिएन दिमागमा,’ जीवन भन्छन्। 

पहिला त लाग्थ्यो, ती दिन सम्झिनै नपरोस्। तर, आजकल लाग्दैन त्यस्तो। बरु लाग्छ– ‘जो यसरी फसेका छन्। उनीहरूलाई आफ्नो कहानी सुनाऊँ र फर्काऊँ त्यो नर्कबाट।’​
गत २३ अप्रिलमा काठमाडौंबाट १ सय ७५ किलोमिटरको मञ्जुश्री ट्रेल रेस भएको थियो। सय माइल दौडिने जीवनको सपना पहिलो पटक पूरा हुँदै थियो।

सहभागी हुनु र दौड पुरा गर्नु मात्र पनि ठूलो उपलब्धि हुने थियो उनको लागि। तर, नसोचेको परिणाम आयो। ट्रेल रेसमा प्रथम भए जीवन। उनले स्वर्णपदक पाए। 

रेस पुरा गरेसँगै उनले एउटा भिडिओ बनाए। जुन, अरूका लागि समेत प्रेरणाको स्रोत बन्यो। भिडिओमा दौडका प्रसंग मात्र थिएनन्। त्यसमा उनले आफ्ना विगतलाई खोतलेका छन्। हिजोको दिनमा आफू कुलतमा फस्दाका अनुभूति पोखेका छन्। अँध्यारो जीवनमा सम्भावनाका ढोकाहरू कसरी खोल्ने, बताएका छन्। 

अल्ट्रा धावकको रुपमा परिचित भइसकेका जीवन सायद यतिबेला पनि कुनै अग्लो पहाडमाथि दौडिरहेका होलान्। कि हिमालका चिप्ला हिउँहरू टेक्दै नयाँ बाटो पहिल्याउँदै होलान्। कि प्रकृतिका सुन्दर दृश्यहरूको तस्बिर खिच्दै होलान्। जे होस्, उनी स्वतन्त्र पक्षी जसरी सिर्जनशील हुनुको मजा लिँदै छन्। 

अर्को यात्रामा निस्कनुअघि ठमेलको छाया सेन्टरमा उनीसँग भेट भयो। जहाँ रेस र आफ्नो जीवनबारे सुनाए। 

‘मैले जित्नका लागि होइन, जिन्दगी बदल्न रेस सुरु गरेको हुँ,’ उनले भने, ‘मञ्जुश्री ट्रेल रेस सक्नेबित्तिकै मैले भिडिओमार्फत् मेरो जिन्दगी कसरी चेन्ज भयो भन्ने कथा सुनाएँ। अरुको जीवनमा पनि त्यस्तो परिवर्तन आओस् भन्ने चाहन्छु।’

दौडपछि फोटोग्राफी र फिल्म मेकिङ पनि उनको रुचिको विषय बनेको छ। यतिबेला सबैले उनको प्रशंसा गरिरहेका छन्। 

‘अहिले सबथोक बदलियो। मलाई हेर्ने मानिसहरूको दृष्टिकोण बदलियो। सबैभन्दा ठूलो त जीवनलाई हेर्ने मेरै दृष्टिकोण बदलियो,’ जीवनले भने, ‘त्यो कसरी सम्भव भयो, म अहिले मानिसहरुलाई सुनाइरहेको छु।’

झ्यालको छेऊमा बसेका जीवनले झ्यालबाहिर एक जनर फ्याँके। अनि सुरु गरे सुनाउन बाँकी कथा..!

एकदिन नशाको सुरमा उनी झुलेर हिँडिरहेका थिए। केही मिटरअगाडि एउटा गाडी रोकियो। उनले गाडीतिर हेरे। उनको एउटा साथी ङिच्च हाँस्दै गाडीबाट निस्कियो। 

‘यो त सुधार केन्द्र पुगेको थियो। यहाँ कसरी?’ जीवनले अचम्मित हुँदै साथीतर्फ हेरे। 

उनी साथीलाई छाडेर साइबरतिर छिरे। २० मिनेटपछि निस्कँदा गाडी त्यहीँनेर थियो। 

‘तपाईं त भाग्नुभयो होला भन्ने सोचेको। अब हिँड्नुस् हामीसँग,’ गाडीबाट ओर्लिएर एक व्यक्तिले भने।

‘कहाँ जाने र म?’

‘रिहाब सेन्टर। म त गएँ। अब आफ्नू साथीलाई पनि सुधार्नुपर्यो‍ नि,’ अघि ङिच्च हाँसिरहेका उनै साथीले भने।

‘मेरो घरमा कुरा गर्नुभयो त?’ जीवनले सोधे।

‘घरमा बहिनीसँग कुरा भइसकेको छ, हुन्छ भनिसक्नुभयो,’ रिहाब सेन्टरका स्टाफले जवाफ दिए। 

लामो समयदेखि सन्तापले पोलिरहेको थियो उनलाई। दुर्व्यसनी त्याग्नु थियो उनलाई। उनी राजी भए र गए सहारा नेपाल नामक सुधार केन्द्रमा। 

त्यहाँको बसाइ उनका लागि उपलब्धिमूलक थियो। सुरु सुरुमा कठिन भए पनि विस्तारै वातावरण अनुकूल बन्दै गयो। 

‘म सुध्रिँदै थिएँ, तर मलाई रिहाब लैजाने साथी चाहिँ बाहिर निस्केपछि फेरि कुलतमा फसेछ,’ जीवन सम्झन्छन्। 

तीन महिनामा जीवनको स्वभावमा धेरै परिवर्तन आयो। उनको आत्मविश्वासको ग्राफ उकालो गयो। रिहाबबाट निस्कँदै गर्दा उनले विदेश जाने सोच बनाए। बाहिर आएलगत्तै सन् २०१४ तिर उनी ओमान उडे। 

त्यहाँ एउटा क्लिनिकमा काम गर्थे उनी। सुरुमा एक्लोपनले निक्कै सतायो। भाषाको समस्याले कसैसँग कुराकानी पनि गर्न सक्दैनथे।

दुई वर्षसम्म ओमान बसेपछि जीवनलाई लाग्न थाल्यो– ‘अब आफ्नै देशमा गएर केही गर्छु।’ 

तर, के गर्ने भन्ने चाहिँ निश्चित थिएन। तैपनि नेपाल फर्किए। नेपाल आएपछि पुनः पहिलेकै साथी–सर्कलसँग उनको भेट हुन थाल्यो।

‘साथीहरू उस्तै अवस्थामा रै’छन्। फेरि तिनकै संगतले म पहिलेकै बाटोमा लागेँ,’ उनी भन्छन्, ‘तर, म खुसी थिइनँ। डर मात्र थियो मनभरि। एक वर्षपछि फेरि मुक्त हुन चाहन्थेँ म कुलतबाट। विदेश जाने सोच बनाएँ। धेरै ठाउँमा प्रयास गरेँ। तर, असफल भएँ।’

असफल हुनुको कारण एउटा लागुऔषध थियो, अर्को प्रमाणपत्र। जहाँ पनि एसएलसीको प्रमाणपत्र खोज्ने। अनि पढ्न नसक्नुको पश्चातापले उनलाई पोल्थ्यो।

लामो प्रयासपछि २०१७ मा दुबईको भिसा लाग्यो। नेपाल छाड्ने बेलामा उनले प्रण गरे– आइन्दा लागूऔषध छुने छैन।

एक वर्ष सामान्य ढंगले बित्यो दुबईमा। बेलाबेलामा परिवारको चिन्ताले सताउँथ्यो।

‘अरुको परिवार मिलेको देख्थेँ, मन चस्स हुन्थ्यो। यतिका वर्ष भयो हामी छरिएका थियौँ,’ उनी सम्झिन्छन्। 

एक रात बुबा बितेको खबर आयो। उनी छुट्टी माग्न दौडिए। 

घरमा उनको प्रतीक्षामा थिए सबै। तर, उनले तत्काल टिकट पाएनन्, चार दिनसम्म। त्यो चार दिन, चार रात उनको जीवनकै कष्टकर बन्यो।

उनी घर आइपुग्दा बुबालाई दागबत्ती दिइसकिएको थियो। एकातिर परिवार एक गर्ने उनको योजना भताभूंग भएको थियो, अर्कोतिर बुबालाई दागबत्ती दिन नपाउनुको पीडा।

छुट्टी सकिएपछि उनी पुनः दुबई फर्किए। यसपटक उनीसँग न जाँगर थियो, न खुसी। काम गर्ने उत्साह छँदै थिएन। उनलाई डिप्रेसनले गाँज्न थाल्यो। 

त्यसबाट मुक्ति पाउन उनी दौडिन थाले। 

‘मनमा ज्वारभाटा चलिरहेको थियो। त्यो ननिभुञ्जेल बेस्सरी कुदिरहन्थेँ। जति थाक्न खोज्थेँ, उति बल लगाउँथेँ,’ उनी सम्झिन्छन्। 

एकदिन उनले अठोट गरे, ‘यो मरुभूमिमा भाँडा माझेर बस्दिनँ। बरु १० हजारै होस्। म नेपालमै गएर केही गर्छु। पहिले म नेपाल गएर एडभेन्चर जान्छु।’

त्यसका लागि उनी क्यामेरालगायतका सामग्री तयार पार्न थाले।​

नेपाल आउनेबित्तिकै उनको पहिलो यात्रा थियो– मुस्ताङ। त्यहाँ आएका अल्ट्रा धावकहरूलाई देखेपछि उनले सपना देखे– म पनि अल्ट्रा धावक बन्छु। 

उनले रेससम्बन्धी पेजहरू खोजीखोजी लाइक गर्न थाले। त्यही क्रममा सन् २०१८ मा कान्तिपुर हाफ म्याराथन भयो। उनी पहिलो पटक म्याराथनमा सहभागी भए। 

त्यसपछि ६० किलोमिटरको म्याराथन (काठमाडौंदेखि सिन्धुपाल्चोक)मा पनि सहभागी भए उनी। उनले पहिलो पटक सय किलोमिटरको दौड पनि गरे, अन्नपूर्णको। तर, ६० किलोमिटर नपुग्दै जुत्ताको सोल भाँचियो। रेस आधाबाटै छाडिदिए। 

रेस पुरा गर्नेहरूको घाँटीमा भोलिपल्ट मेडल देख्दा भने उनी खिन्न भए। तर, २०१९ मा भने उनले त्यही रेस पुरा गरिछाडे। सँगसँगै ट्रेल रेसमा उनले फोटो खिच्ने र भिडिओ बनाउने काम समेत गर्न थाले। 

‘फोटो र भिडिओ धेरैले मन पराउनुभयो। काम आउन थाले, जीवन निर्वाह पनि हुन थाल्यो,’ उनी भन्छन्।

अघिल्लो लकडाउनमा सय किलोमिटर दौडिनुपर्ने अन्तर्राष्ट्रिय अनलाइन रेसमा उनी नेपालबाट लुकीलुकी दौडिए। पछि हेर्दा त नेपालको झण्डा शीर्ष पाँच मा चम्किरहेको थियो। 

त्यसपछि उनको सपना थियो– १०० माइलको दौड। र, त्यसमा पनि जीवनले मञ्जुश्री ट्रेल रेसमार्फत आफूलाई प्रमाणित गरिछाडे।

‘अब मैले आफ्ना कुराहरू भनेँ। हेर्नुस् त, मान्छेको जीवनमा परिवर्तन पनि त सम्भव रहेछ नि?’ कथा सुनाइसकेपछि जीवन हँसिलो देखिए, ‘अब म सँग खुसी भएर बाँच्ने धेरै बाटाहरु खुलिसकेका छन्। अरुलाई पनि त्यो बाटो देखाउन चाहन्छु।’

जिन्दगीमा कसैले आशा मारिसकेका कुरा पनि फर्किएर आउँछन्। परिवार/आफन्तले माया मारेको उनको जीवनमा पनि नयाँ पालुवा पलायो। जीवनलाई किशोरवयमै अँध्यारो सुरुङतिर धकेल्ने एउटा कारण ऋण पनि थियो। जसले परिवारमै विग्रह ल्याएको थियो।

‘मलाई इराक पठाउन भनेर लिइएको त्यो ऋण साहुले माया मारिसकेका थिए। दुबईबाट आएर मैले फिर्ता गरेँ,’ उनले सुनाए। ​​​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .