ad ad

राजनीति


नाडी छाम्दै मोदीका दूतः बालुवाटारमा रक्षाबन्धन, अन्त घरदैलो

नाडी छाम्दै मोदीका दूतः बालुवाटारमा रक्षाबन्धन, अन्त घरदैलो

बिनु सुवेदी
भदौ ८, २०७८ मंगलबार ६:५५, काठमाडौँ

आइतबार ४ बजे अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रिएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले साढे ५ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगे।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भारतीय सत्तारुढ दलले राजनीतिक तहमा गरेको यो पहिलो भ्रमण हो र भ्रमणको निम्ता यतैबाट गएको हो।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको निम्तामा नेपाल आएका चौथाइवाले बालुवाटारको आतिथ्य र आत्मियता देखेर दंग परे।

किनभने प्रधानमन्त्री निवासको बैठक कक्षमा छिर्दै गर्दा उनलाई स्वागत गर्न हातमा पूजाको थाली लिएर पर्खिरहेकी थिइन, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा।

त्यसपछि उनले चौथाइवालेलाई राखि बाँधिदिइन भारत र नेपाल, कांग्रेस र भाजपा अनि आफूहरूका बीचको सम्बन्ध सुमधुर होओस् भनेर कामना गरिन्। चौथाइवाले खुसी भए।

‘यही मितिमै जोड गरेर किन बोलाइएको रहेछ भनेर बालुवाटार पुगेपछि मात्रै थाहा पाइयो, राखी बाँध्न पो रैछ,’ चौथाइवालेको प्रतिनिधिमण्डलका एक सदस्यले भने, ‘आरजुजीको कुटनीतिक चलाखीलाई मान्नैपर्छ।’

आरजुको यो ‘राखी कुटनीति’लाई परराष्ट्रसम्बन्ध विज्ञ दिनेश भट्टराई नेपाल र भारतबीचको सम्बन्धको ‘खास विशेषता’ भन्न रुचाउँछन्।

‘नेपाल र भारतबीचको सम्बन्धको विशेषता नै यही हो,’ भट्टराईले भने,‘हामी सांस्कृतिक रुपमा कति नजिक छौँ भनेर देखाउने याे एक उदाहरण पनि हो।’

तर आरजुको यो राखी कुटनीति चिढिएको भारत फकाउने महत्वपूर्ण प्रयास हो भन्ने कुरा भारतीय पक्षले बुझिसकेको छ।

उसकाे बुझाइमा यस्ता प्रयासलाई विशेष र सुमधुर भनेर लेपन लगाउन जरूरी नै छैन। किनभने याे सरकार उदयकाे पृष्ठभूमि भारतीय प्रयासको असफलतासँग पनि जोडिन्छ।

गत जेठ २८ गते देउवासहित पाँच पूर्व प्रधानमन्त्रीले भारततर्फ संकेत गर्दै मुलुकमा बाह्य हस्तक्षेप बढेको र त्यसो हुँदा आफूहरुलाई स्वीकार्य नहुने वक्तब्य निकालेका थिए।

‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ, नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यानाकर्षण गर्न चाहन्छौं।’

त्यसबेला पूर्वप्रधानमन्त्रीहरूले निकालेको यो वक्तव्यबाट भारत झन् चिढिएको आकलन कुटनीतिक वृत्तमा भइरहेको थियो।

त्यसैले पनि एमाले अध्यक्ष ओलीबाहेक मुलुकको ठूलो राजनीतिक शक्ति एकीकृत हुँदासमेत भारतकै असहयोगका कारण सत्ता परिवर्तन गर्न गठबन्धनलाई ठूलो सकस भयो।

तत्कालका लागि देउवा नेतृत्वको गठबन्धन सरकार भारतीय रुचि होइन भन्नेमा स्वयम् देउवा पनि विश्वस्त थिए। आरजुलाई यो थाहा नहुने कुरै भएन।

बालुवाटार सम्बद्ध जानकार स्रोतहरु भन्छन्ः जेठ २८ गते पूर्व प्रधानमन्त्रीहरूको भारत लक्षित वक्तव्य आउनेबित्तिकै पनि आरजुले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेलाई फोन गरेर सम्बन्धको दीगोपना बारे कुरा गरेकी थिइन।

सम्भवतः त्यसै कारण आइतबार साँझ देउवासँग चौथाइवालेले भेट्दा आरजु पुरै अवधी सँगै बसिन र देउवा भन्दा धेरै उनले नै कुराकानी गरिन्।

कांग्रेस सहमहामन्त्री महतले आरजुकै रूचिमा रक्षाबन्धनको छेको पारेर चौथाइवालेलाई बोलाएका हुन्।​

याे सँगै भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजलाई पूर्व प्रधानमन्त्री ओलीले ‘बहेनजी’ भनेझैँ चौथाइवालेलाई ‘भाइ साहेब’ भन्न आरजुलाई ढोका खुलेको छ।

यस्ता व्यक्तिगत सम्बन्धहरु दुई देशीय सम्बन्धमा समेत अर्थपूर्ण मानिन्छन्।

अहिलेको बालुवाटारले दिल्लीलाई यतिधेरै भाउ दिनुको पृष्ठभूमिमा देउवा प्रधानमन्त्री हुँदा भारतले गरेको व्यवहारलाई पनि सम्झिनुपर्ने हुन्छ।

गत असार २९ गते देउवा मुलुकको ४२ औँ प्रधानमन्त्री चुनिएपछि धेरैतिरबाट बधाईको ओइरो नै आए तापनि छिमेकी भारतका प्रधानमन्त्रीले विश्वासको मत नलिँदासम्म बधाई दिएनन्।

​यसमा राजनीतिक प्रक्रियाको पाटो एकातिर होला भारतीय संस्थापनको तुस अग्रपंक्तिमा थियो।

अर्काे कुरा बालुवाटारलाई के थाहा छ भने भारतसँग बिग्रिएको पूर्वप्रधानमन्त्री ओलीको सम्बन्ध सुधार्ने सेतुहरु मध्येका एक चौथाइवाले पनि हुन्।

०७७ कात्तिक ४ मा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल आएपछि बिग्रिएको ओलीको कुटनीतिक छविलाई राजनीतिक रङ दिन चौथाइवाले केही हदसम्म सफल भएको बुझाई नेपाली राजनीतिमा छ।

नेपालमा सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिक विवाद चर्किरहेका बेला ०७७ मंसिर २५ गते चौथाइवाले एकाएक काठमाडौं आएका थिए।

त्यस बखत चौथाइवालेले ओलीसँग भारत–नेपाल सम्बन्ध राजनीतिक नै हो भनेका थिए। मूलतः नेपाल–भारत सम्बन्धमा कर्मचारीतन्त्र नै हावी छ।

लकडाउनका कारण उडान नभएका बेला सडक–मार्गबाटै त्यत्रो कष्ट गरेर नेपाल आउनुमा सत्ताधारी दलसँग सम्बन्ध सुमधुर बनाउनु नै थियो।

अहिले सत्ताधारी कांग्रेसको निम्तामा आए तापनि दलहरूसँगको सम्बन्ध विस्तार उनको प्राथमिकता हो।

त्यसैले चार दिने भ्रमणमा आएका उनले २४ घण्टाको बीचमा चार जना नेताहरुको घरघरमै पुगेर भेटेका छन्।

घरदैलो पछि सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनले भारत र नेपालका सरकार र पार्टीहरू बीचको सम्बन्ध सुमधुर बनाउन भेटघाट फलदायी भएको बताएका छन्।

बिहीबार बिहानै दिल्ली फर्कने तयारीमा रहेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कोशिस गरिरहेका छन्।

चौथाइवालेसँगै भेटमा सहभागी एक सदस्यका अनुसार उनले दुई पार्टी बीचको आपसी सम्बन्धलाई प्राथमिकता दिएका थिए भने अरू नेपालका नेताहरूले आफू भारतसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

'परिवर्तित परिस्थितिमा नेपालका राजनीतिक दलहरूको अवस्था के छ भनेर बुझ्नु पनि हाम्रो उदेश्य हो। अर्काे भारतलाई के राम्रोसँग थाहा छ भने यो गठबन्धन चुनावसम्म जाँदैन। त्यसैले गठबन्धनका नेताहरुको मनस्थिति बुझ्नु मुख्य उदेश्य हो,’ नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले भने, ‘हाम्रा संयन्त्रहरुबाट त मिहिन मुल्यांकन भएकै छ, राजनीतिक तवरबाट पनि विश्लेषण होस् भन्ने प्रधानमन्त्री मोदीकै चाहनामा काठमाडौँमा यी भेटघाट भइरहेका हुन्।’

चौथाइवालेले नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधवकुमार नेपालसँग समेत फोनवार्ता गरेका छन्।

भारतमा नरेन्द्र मोदीको पहिलो शासनकालको अन्तिमतिर विदेश सम्बन्धमा महत्वपूर्ण पात्रका रुपमा चौथाइवालेको उदय भएको हो।

लगत्तै उनले विदेश र अझ धेरै नेपाल मामला हेर्न थालेका थिए। यसअघि ओलीसँग भारतको सम्बन्ध सुधार्न भूमिका खेलेका उनले यसपाली पनि नेपाल र भारतका सत्ताधारीबीच सम्बन्ध सुमधुर बनाउने प्रयत्न सुरु गरेका हुन्।

उसो त छिमेकी मुलुकको सत्ताधारी समूहसँगै राम्रो सम्बन्ध बनाउने र उनीहरुलाई आफू अनुकुल प्रयोग गर्ने भारतको नीति नै हो।

परराष्ट्र मामिलाका जानकार श्रीधर खत्री नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने उदेश्यले नै चौथाइवालेको भ्रमण भएको हुनसक्ने बताउँछन्।

‘यतैबाट निम्ता गएको भनिए पनि भाजपाले नेपालमा के कसो भइरहेको छ भन्ने थाहा पाउन चौथाइवालेलाई पठाए झैँ देखिन्छ, उसले आफ्नो उपस्थिति पनि देखाउन खोजेको छ,’ खत्रीले भने, ‘छिमेकी मुलुकको ग्राउन्ड रियालिटी चेन्ज भएपछि को शक्तिशाली छ, को कमजोर छ भनेर यसैगरी नाडी छाम्छन्।’

देउवाले गत वैशाख पहिलो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको टाङमुनी छिरेको’ आरोप लगाएका थिए।

त्यसपछि पनि गठबन्धनले बारम्बार ओलीलाई भारतपरस्तको भारी बोकाइरह्यो।

नेकपा फुटाउनेदेखि प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमसम्म भारतकै हात थियो भन्ने आक्षेप ओली इतरका नेताहरुले लगाउँदै आएकै छन्।

अहिले सरकार गठन भएको डेढ महिनासम्म मन्त्रीपरिषद विस्तार हुन नसक्दा, एमाले फुटेर दुई टुक्रा भइसक्दा चौथाइवालेको आगमन र उनको घरदैलोलाई यिनै नेताहरुले सहज रुपमा लिएका छन्।

परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराई प्रतिकुल बन्दै गएको सम्बन्धलाई अनुकुल बनाउन चौथाइवालेको भ्रमण भएको हुन सक्ने बताउँछन्।

उनकाे भ्रमण र त्यसको प्राथमिकता हेर्दा भारत गठबन्धन सरकारसित राम्राे सम्बन्ध बनाएर यसलाई पनि आफू अनुकुल ढाल्न उद्धत रहेकै देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .