नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको छ।
कांग्रेसले आगामी भदौ १८ गते वडा अधिवेशन गर्ने भएको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट दोहोरिने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलसहितका नेताहरु आन्तरिक छलफल गरिरहेका छन्।
उनीहरुमाथि देउवाविरुद्ध साझा उम्मेदवार तय गर्नुपर्ने दबाब छ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको पौडेल पक्षका सभापतिका आकांक्षी नेताहरुले वडा अधिवेशनअगावै साझा उमेदवार तय गर्ने समझदारी गरेका हुन्।
छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डाक्टर शेखर कोइराला लगायतका नेता सहभागी थिए।
साझा उमेदवार तय गर्न निरन्तर छलफल गर्ने सहमति पनि नेताहरुका बीच भएको नेता बलबहादुर केसीले बताए।
आकांक्षीहरु धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ। कांग्रेसले आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
पाँचौं पटक मिति सारेको कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ महाधिवेशन मिति तय गरेको छ।
Shares

प्रतिक्रिया