राजनीति


माधव नेपालले सक्लान् एमाले फुटाउन? यस्तो छ दल र केन्द्रीय समितिको हिसाब

माधव नेपालले सक्लान् एमाले फुटाउन? यस्तो छ दल र केन्द्रीय समितिको हिसाब

सागर न्यौपाने
भदौ १, २०७८ मंगलबार १५:१२, काठमाडौँ

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले एमाले फुटाउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सहज हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याए दल फुटाउन सकिने प्रावधान राखेर अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यस निर्णयपछि अब एमालेमा नेपाल पक्षले थोरै सांसद र नेता जुटाएर पनि नयाँ पार्टी दर्ता गराउन सक्नेछन्। 

दल फुटाउन मिलेको यो अवसरलाई नेपालले सदुपयोग गरेर नयाँ पार्टी दर्ताका लागि छलफल गरिसकेका छन्। यो अवस्थामा नेता नेपाललाई एमाले फुटाउन कति सांसद र केन्द्रीय सदस्य चाहिएला?

 प्रतिनिधि सभामा अहिले नेकपा एमालेका १ सय २१ जना सांसद छन्। यस्तै राष्ट्रिय सभामा ३४ जना छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा गन्दा एमाले संसदीय दलमा १ सय ५४ सिट छ।

सरकारले २० प्रतिशतमा दल विभाजन गर्ने अध्यादेश जारी भएपछि नेपाल पक्षले अब ३१ जना सांसद पुर्‍याउनुपर्छ। अहिलेसम्म नेपाल पक्षमा प्रत्यक्ष र समानुपातिकसहित २२ जना छन्। 

उनको आफ्नै पक्षका १४ जनाले यसअघि साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। एमाले अध्यक्ष ओली पक्षका ८ जना पनि नेपालसँगै मिलेर देउवालाई मत दिएका थिए। 

उपाध्यक्ष वामदेव गौतमसँग रहेका तुलसा थापा र माया ज्ञवाली पनि नेपाल पक्षमै खुलेका छन्। तर उनीहरु आजको एमाले दल बैठकमा भने सहभागी भएका छन्। 

देउवालाई विश्वासको मत नदिने तर नेपाल पक्षमै रहेका सांसदको संख्या १० जना छ। यी १० जना पार्टी विभाजन भएको अवस्थामा कता खुल्ने एकिन छैन। 

यस्तै राष्ट्रिय सभामा नेपालका पक्षका १० जना छन्। मंगलबार वामदेव गौतम पनि नेपाल पक्षमै खुलेपछि १० जना भएको हो। यस आधारमा संसदीय दलमा नेपाल पक्षको ३४ सांसद हुन्छन्। 

त्यस्तै एमालेको केन्द्रीय कमिटीमा समेत नेपाल पक्षले २० प्रतिशत पुर्‍याउने देखिन्छ। सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय छ। 

२०७७ जेठ २ गतेको अवस्थामा एमालेमा २ सय ३ केन्द्रीय सदस्य थिए। त्यसमा केहीको मृत्यु भएको छ भने केहीले राजनीतिक नियुक्ति लिएपछि पद त्याग गरेर १ सय ९६ थिए। 

तर, सर्वोच्च अदालतले पछिल्लो पटक गरेको फैसला अनुसार २ सय ६४ लाई मान्यता दिएको छ। 

तर एमालेको केपी शर्मा ओली पक्षले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गराएको छ। मंगलबार आयोगमा बुझाइएको विवरण अनुसार एमालेको साविकको २०३ सदस्यीय केन्द्रीय कमिटीमा ५७ जना थपेर २ सय ६० सदस्यीय बनाइएको छ।

यसको २० प्रतिशत भनेको ५२ जना हुन्छ। अघिल्लो साता नेपाल पक्षले राखेको केन्द्रीय समितिको बैठकमा ७३ जना उपस्थित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad