अफगानिस्तानबाट आएका मध्ये ११७ जना नेपाली आजै घर जाने भएका छन्। सामाखुसीस्थित नेपाली सेनाको आइसोलेसनमा गरिएको एन्टिजेन परीक्षणमा एकजना बाहेक सबैको रिपोर्ट निगेटिभ आएकाले उनीहरुलाई आजै घर पठाइने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।
रिपोर्ट पोजिटिभ आएका नेपालीलाई भने सोही आइसोलेसनमा राखिने भएको छ। यस्तै नेपाली मुलका ९ जना भारतीय नागरिकलाई भने नेपालस्थित भारतीय दूतावासको जिम्मा लगाइने भएको छ। उनीहरुलाई भारत जाने व्यवस्था दूतावासमार्फत नै गर्न लागिएको हो।
नेपालीहरु भने स्वास्थ्य मापदण्डको पालना गरेर आजै आ–आफ्नो घरतर्फ जानेछन्।
अफगानिस्तानमा अमेरिकी क्याम्पमा काम गर्ने ११८ जना नेपाली बिहान सवा १० बजे काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाले नै काठमाडौंसम्म आउने व्यवस्था गरेको हो। काबुलबाट दोहा लगिएका उनीहरुमध्ये कतिपयलाई दोहाबाट फेरि कुवेत पुर्याएर काठमाडौं ल्याइएको हो।
नेपालीसँगै नेपाली मुलका ९ जना भारतीय पनि काठमाडौं आएका छन्।
Shares

प्रतिक्रिया