अफगानिस्तानमा तालिबानले जुन रफ्तारमा नयाँ-नयाँ क्षेत्र कब्जामा लिइरहेको छ, त्यसलाई धेरैले आश्चर्यजनक रूपमा हेरिरहेका छन्। तालिबानसामु अफगानिस्तानका प्रान्तीय राजधानी तासका पत्तीझैं बनेका छन्– एकपछि अर्काे आफ्नो हातमा लिइरहेको छ।
यसमा दुईमत छैन– हावा तालिबानका पक्षमा चलिरहेको छ भने अफगान सरकार आफ्नो सत्ता जोगाउन कठिन संघर्ष गरिरहेको छ।
यसै हप्ता अमेरिकाको गुप्तरचर विभागबाट बाहिरिएको रिपोर्टमा भविष्यवाणी गरिएको छ– आगामी हप्तामा राजधानी काबुल पनि तालिबानले कब्जा गर्नेछ र ९० दिनभित्र अफगान सरकार ढल्नेछ।
यस्तो स्थितिमा प्रश्न उठ्छ– अफगान सुरक्षा बलको वास्तविकता यति चाँडै कसरी थाहा भयो? उसका सहयोगी अमेरिका, बेलायत र नेटोले पछिल्लो २० वर्ष अफगान सुरक्षा बललाई पर्याप्त प्रशिक्षण दिएका थिए।
अमेरिका र बेलायतका कैयौं सैनिक जनरलले शक्तिशाली अफगान फौज तयार पारेको दाबी गरेका थिए। तर ती दाबी आज खोक्रा साबित भएका छन्।
तालिबानको शक्ति
सैद्धान्तिक रूपमा हेर्दा अफगान सरकारकै पल्ला भारी देखिन्छ। ऊसँग निकै ठूलो फौज छ। कागजमा कम्तीमा उससँग ३ लाखभन्दा बढी सेना छन्। यिनमा अफगान आर्मी, एयरफोर्स र प्रहरीका जवान पर्छन्।
तर वास्तविकताको दोस्रो पाटो हेर्दा अफगानिस्तानमा फौज भर्तीकाे लक्ष्य पूरा गर्न सधैं सकस भइरहेको देखिन्छ। विगत हेर्ने हो भने अफगान सेना र प्रहरीमा धेरैपटक जनधन क्षति भएका छन्।
अमेरिकी कांग्रेसमा पेस आफ्नो रिपोर्टमा स्पेसल इन्स्पेक्टर जनलरल फर अफगानिस्तान (एसआईजीएआर) ले भ्रष्टाचारबाट हुने क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। रिपोर्टमा अफगान आर्मीको वास्तविक शक्तिसम्बन्धी तथ्यांकको वास्तविकताबारे पनि प्रश्न उठाइएको छ।
सुरक्षा एवं प्रतिरक्षा क्षेत्रका एक प्रसिद्ध थिंकट्यांक रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयूएसआई) का ज्याक वाटलिङले भनेका छन्, ‘अफगान आर्मी स्वयंलाई थाहा छैन– उसको फौजमा असल सैनिक कति छन्!’
साथै उनले अगाडि भनेका छन्, ‘समस्या अफगान फौजका साहस र हतियार सम्बन्धमा पनि छन्। सैनिकहरूलाई प्रायः त्यस्ता स्थानमा तैनाथ गरिएका छन्, जहाँ उनीहरूको नाता वा परिवारको कुनै सम्बन्ध हुँदैन।’
उनका अनुसार धेरै सैनिकले लडाइँको मोर्चा छाड्नाको कारण यो पनि एउटा हो। अर्कातर्फ तालिबानको शक्तिको अनुमान गर्न पनि कठिन छ। अमेरिकी सेनाको कम्बाटिङ टेररिजम सेन्टरको आकलन छ– तालिबानसँग मुख्य रूपमा ६० हजार लडाकु छन्।
अन्य सशस्त्र र उनका समर्थक जोड्दा यो संख्या २ लाखभन्दा बढी छ। तर बेलायती सेनाका पूर्वअधिकारी डाक्टर माइक मार्टिनतालिबानलाई एकै नश्लका मात्र संगठन नठान्न चेतानवी दिन्छन्।
पस्तो भाषाका जानकार माइक मार्टिन आफ्नो किताब ‘एन इन्टिमेट वार’मा हेलमन्द संघर्षको इतिहास उत्खनन गरेका छन्। उनले भनेका छन्, ‘तालिबान केही हदसम्म स्वयं घोषित लडाकुहरूको गठबन्धनजस्तै छ, जो अस्थायी रूपमा एकअर्कासँग जोडिएका छन्।
उनले यसप्रति पनि ध्यानाकर्षण गराएका छन्– अफगान सरकार पनि स्थानीय गुटमा विभाजित छ। अफगानिस्तानको इतिहास यसको प्रमाण हो– उसको अस्तित्वमा मडारिइरहेको खतराका सन्दर्भमा कसरी आदिवासी, जनजाति तथा यहाँसम्म कि सरकारले समेत आफ्ना निष्ठा बदले।
हतियारसम्म पहुँच
पैसा र हतियारको मामिलामा अफगान सरकारकै अफगान सरकारकै पल्ला भारी हुनुपर्छ। सैनिकको तलब र हतियारका लागि अफगान सरकारलाई अर्बाैं डलर सहयोग प्राप्त भएको छ। यसमा सबैभन्दा बढी अमेरिकाले सहयोग गरेको छ।
२०२१ जुलाई मा प्रकाशित रिपोर्टमा ‘स्पेसल इन्स्पेक्टर जनरल फर अफगानिस्तान’ले भनेको छ– अफगानिस्तानको सुरक्षाका लागि ८८ अर्ब डलरभन्दा बढी करम खर्च भइसकेको छ।
तर त्यस रिपोर्टमा लेखिएको छ- ‘यो रकम सही किमिसले खर्च भयो वा भएन भन्ने कुराको जवाफ अफागानिस्तानमा जारी लडाइँको परिणमाले देखाउनेछ।’
अफगानिस्तानको एयरफोर्सले मैदान–ए–जङमा महत्त्वपूर्ण मद्दत गर्नुपर्ने थियो। तर ऊ आफ्ना २१२ लडाकु विमानको मर्मत सम्भारकै लागि संघर्षरत छ। तालिबानले यो बुझेर निसाना बनाइरहेको छ।
अफगान एयरफोर्स युद्धरत मोर्चाका आफ्ना कमान्डरलाई साथ दिन अहिलेसम्म असफल छ। लस्कर गाहजस्तो सहरमा तालिबानले आफ्नो कब्जा जमाउन थाल्यो तब अमेरिकी एयरफोर्सले अफगान आर्मीलाई जवाफी कारबाहीमा साथ दियो।
तालिबानको आम्दानी
तर अहिलेसम्म प्रस्ट हुन सकेको छैन– अमेरिकाले अझै कहिलेसम्म लडाइँमा सहयोग गरिरहन्छ? तालिबानको आम्दानीको प्रमुख स्रोत औषधिको व्यापार हो। तर उसलाई बाहिरबाट पनि सहयोग प्राप्त भइरहेको छ। जुन मद्दत पाकिस्तानबाट प्राप्त भइरहेको छ।
हालै तालिबानले अफगान सुरक्षा बलका बख्तरबन्द गाडी, अँध्यारोमा पनि देख्न सकिने दूरबिन, मेसिन गन, मोर्टार र गालाबारुद्ध जफत गरेको छ। यीमध्ये केही अमेरिकाले दिएको हो।
सोभियत संघको हमलापछि अफगानिस्तानमा अचानक हतियारको बाढी आएको थियो। तीमध्ये धेरै हतियार आज पनि प्रयोग भइरहेका छन्। तालिबानले पहिले नै पुष्टि गरिसेकेको छ कि उसको जस्तो अपरम्परागत फौज जस्तोसुकै तालिमप्राप्त, आधुनिक प्रविधि र हतियारले सुसज्जित सेनालाई पनि हराउन सक्षम छ।
अमेरिकी र बेलायती सेनालाई आईईडी बम विस्फोटका कारण जुन क्षति भयो, त्यसको कथा हाम्रासामु छ।
उत्तर र पश्चिमतर्फ नजर
तालिबानको लडाइँको शैली हेर्दा उनीहरूमा एक किसिमको निराशा भाव देखिन्छ। तर केही जानकारका अनुसार हालै उनीहरू जुन किसिमले अगाडि बढिरहेका छन्, त्यसले उनीहरू वास्तवमा योजना बनाउन र कार्यान्वयन गर्नमा व्यस्त छन्।
बेलायती सेनाका पूर्व ब्रिगेडिएर तथा थिंकट्यांक इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका सिनिएर फेलो बेन ब्यारी के स्वीकार गर्छन् भने तालिबानले अग्रिम रूपमा मौकाको फाइदा उठाइरहेको देखिन्छ।
उनले अगाडि भनेका छन्, ‘यदि तपाईंलाई लडाइँको योजना बनाउन भनियो भने यसको प्रभावकारी योजना पेस गर्न मुस्किल पर्छ।’
उनी यसतर्फ ध्यानाकर्षण गराउँछन्– तालिबानले उत्तर र पश्चिमका क्षेत्रमा आफ्नो आक्रमण तीव्र बनाइरहेका छन् भने दक्षिणी क्षेत्रमा पहिलेदेखि नै ऊ बलियो छ। यस रणनीतिका कारण अफगानका प्रान्तीय राजधानी एकपछि अर्काे कब्जा गर्न उनीहरू सफल भइरहेका छन्।
तालिबानले धेरैवटा प्रमुख सीमा चौकी पनि आफ्नो नियन्त्रणमा लिइसकेका छन्। यसअघि नै राजस्वको संकटमा रहेको अफगान सरकारको आम्दानीको एक प्रमुख स्रोत बन्द भइसकेको छ।
प्रमुख अधिकारी, मानव अधिकारर्मी तथा पत्रकारलाई पनि तालिबानले छानीछानी निसाना बनाइरहेका छन्। पछिल्ला २० वर्षमा ससाना परिवर्तन पनि बिस्तारै बिस्तारै बिग्रिँदै गएका छन्।
तर अफगान सरकारले तालिबानविरुद्ध जुन रणनीति अपनाएको छ, त्यो बुझ्न पनि कठिन हुँदै गएको छ। तालिबानले नियन्त्रणमा लिएका क्षेत्र फिर्ता ल्याउने उसको अठोट अब खोक्रो साबित हुन थालेको छ।
बेन ब्यारी भन्छन्, ‘यस्तो लाग्छ, जसरी ठूला सहर कब्जा गर्ने योजनाअन्तर्गत काम भइरहेको छ। हेलमन्दको लस्कर गाहमा अफगान कमान्डर पहिलेदेखि तैनाथ छन्।
लडाइँ अझै कति समय जारी रहला?
अफगान स्पेसल फोर्सका सैनिकको संख्या तुलनात्मक रूपमा कम छ। ऊसँग लभगभ १० हजार सैनिक छन्। तर तिनलाई पहिले नै यति प्रयोग गरिसकिएको छ कि उनीहरू थाकिसकेका छन्।
लडाइँ मैदान–ए–जङको बाहिर पनि भएको छ। र, यस्तो लाग्छ, तालिबान प्रचार युद्धमा अगाडि बढेको देखिन्छ। मानिसलाई के विश्वास भइसकेको छ भने तालिबान अफगानिस्तानको सत्ताबाट अब धेरै टाढा छैन।
बेन ब्यारी भन्छन्, ‘मैदान–ए–जङबाट त्यस्तो हावा बहिरहेको छ, त्यसले तालिबानको साहस उच्च बनाइदिएको छ र एक भएर लडिरहेका छन्। यसको ठीक उल्टो अफगान सरकार पछि हट्दै गएको देखिन्छ, उसभित्र आन्तरिक झगडा छ र आफ्ना जनरललाई निष्कासन गर्नुपरिरहेको छ।
अन्त्यमा के हाेला?
यसमा कुनै शंका छैन कि स्थिति काबुलस्थित सरकारको हातबाट बाहिर जाँदै छ। तर आरयूएसआईका ज्याक वाटलिङ भन्छन्, ‘अफगान फौजमा निराशा बढ्दै गएको देखिए पनि राजनीतिक बाटोबाट अवस्था सम्हाल्न अझै सकिन्छ।’
उनका अनुसार सरकारले आदिवासी नेताको विश्वास जित्न सक्यो भने अवस्था अझ बिग्रिनबाट रोक्न सकिन्छ। माइक मार्टिन पनि वाटलिङकै विचारमा सहमत छन्। उनी भन्छन्, ‘मजार–ए–सरिफमा सरदार अब्दुर रसिद दोस्तम फिर्ता एक महत्त्पूर्ण घटना हो। उनी आएपछि चिजहरू परिवर्तन भएका छन्।
अफगानिस्तानमा युद्ध र गर्मी मौसम चाँडै अन्त्य हुनेछ। जाडो याम लडाइँका लागि उपयुक्त मानिँदैन। यसर्थ अझै के सम्भवना छ भने अफगानिस्तानमा यो वर्षको अन्त्यसम्म स्थिति सुध्रिनेछ र काबुललगायत केही ठूला सहरमा अफगान सरकारकै नियन्त्रण रहनेछ।
र, यदि तालिबानमा पनि कुनै टुटफुट आयो भने हावाको दिशा बदलिन सक्छ। तर अहिले जुन अवस्था छ, त्यसले अफगानिस्तानमा शान्ति, सुरक्षा र स्थिरता ल्याउन अमेरिका र नेटोले गरेका प्रयास विगतमा सोभियत संघको जस्तै बेकार साबित भइरहेका छन्। बीबीसी
यी पनिः
Shares

प्रतिक्रिया