राजनीति


मेटमणिको कटाक्ष : केपी ओली बयलगाडा लिएर हिँडुन्, हामी एमालेमै बस्छौँ

मेटमणिको कटाक्ष : केपी ओली बयलगाडा लिएर हिँडुन्, हामी एमालेमै बस्छौँ

नेपालखबर
साउन २१, २०७८ बिहिबार १२:४२, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद मेटमणि चौधरीले आफूहरु तत्कालै एमाले छाडेर कहीँ नजाने बताएका छन्। नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बुद्धनगरमा बस्नुअघि पत्रकारहरुसँग कुरा गर्दै उनले तत्कालै नयाँ पार्टी पनि नखोल्ने र सरकारमा पनि नजाने पक्षमा आफूहरु रहेको बताए। 

नेता चौधरीले आजको केन्द्रीय कमिटी बैठकमा एमालेलाई अघि बढाउने रणनीतिबारे नै छलफल हुने पनि उल्लेख गरेका छन्। आफूहरुले नयाँ पार्टी खोल्ने योजना बनाइनसकेको बताउँदै उनले बरु अध्यक्ष केपी शर्मा ओलीलाई बयलगाडा चुनाव चिन्ह लिएर हिँड्न आग्रह गरे। 

'केपी ओलीले डिक्लियर नगरे पनि एमालेलाई मिल्न नदिने मनोविज्ञानमा पुगेका छन्। उनले डिक्लियर नगरेसम्म हामी हाम्रो नयाँ बाटोमा हिँड्दैनौँ। ओलीले डिक्लियर गरे मात्रै हामी अर्को पार्टी बनाउने बाटोमा पुग्छौँ', उनले भने, 'अहिलेलाई हामी एमालेकै नाममा हाम्रो गतिविधि अघि बढाउँछौँ। तत्काल नयाँ पार्टी खोलेर अघि बढ्ने योजना छैन।'

चौधरीले नेकपा एकीकृत दर्ता गरेर कलम चुनाव चिन्हसहित अघि बढ्न लागेको कुराको पनि खण्डन गरे। 'हामी तत्काललाई एमाले नाममा गतिविधि अघि लैजान्छौँ। बरु केपी ओलीले बयलगाडा चुनाव चिन्ह लिएर अघि बढुन्। पार्टीको नाम पनि उनले नेकपा (केपी ओली) राखे हुन्छ', उनले भने, 'ओलीले आज मुखले मात्रै भन्नु भयो। तर नेकपा एमालेलाई एक हुन नदिन २/३ वर्षअघिदेखि लाग्नु भएको थियो। तर फेरि पनि ओलीलाई अध्यक्ष बनाइराख्ने कुरा सम्भव छैन।' 

सांसद चौधरीले आजको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा करिब ९० जना नेताहरु सहभागी हुने बताए। तर सहभागी सांसदहरुको संख्या भने एकीन भइनसकेको उनले बताएका छन्। आजको बैठकबाट नेता नेपालले आवश्यक सुझाव लिएर एमालेमै मिल्ने वा नयाँ पार्टी खोल्नेबारे थप निर्णय लिन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad