राजनीति


सरकारलाई भगवती न्यौपानेको चुनौती : केपी ओलीले बनाएको धरहरा पनि भत्काऊ

सरकारलाई भगवती न्यौपानेको चुनौती : केपी ओलीले बनाएको धरहरा पनि भत्काऊ

नेपालखबर
साउन २०, २०७८ बुधबार १७:५, काठमाडौँ

नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णयमा कडा आपत्ति जनाएकी छन्। 

बुधबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी एमाले सांसद् न्यौपानेले लालपूर्जा कुरेर बसेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई परमादेशको सरकारले आँसु उहापर दिएको बताइन्। 

'नेकपा एमालेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बास बस्न एक टुक्रा जमिन र पेट पाल्न जमिन दिने सपना देख्यो, त्यही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्यो', उनले भनिन्, 'केपी ओली नेतृत्वको सरकारले आयोग गठन गरेर भूमिहीनका सपना पूरा गर्ने चरणमा थियो। तर परमादेशबाट बनेको सरकारले लालपूर्जा र मुस्कान दिनुको सट्टा आँसु उपहार दिएको छ म यसप्रति खेद प्रकट गर्छु।'

भूमिहीन सुकुम्बासीलाई पनि उनले धैर्य गर्न आग्रह गरिन्। 'हामी मनमोहन अधिकारी र केपी ओलीका कार्यकर्ता हौँ, त्यसैले हामी भौतिक रुपमा ढल्न तयार छौँ हामी चितामाथि जल्न तयार छौँ', उनले भनिनन्, 'तर भूमिहीनलाई जग्गा दिलाउन अनवरत लडिरहनेछौँ, तपाईंहरुको साथमा अनवरत रुपमा लागिरहनेछौँ, यो विश्वास दिलाउन चाहन्छु।'

उनले हिम्मत भए ओली सरकारले बनाएका संरचना र लोकप्रिय कार्यक्रम खारेज गरेर देखाउन पनि चुनौती दिइन्। 'हिम्मत छ? हिजो ओली सरकारका सबै काम भत्काऊ सरकार,  म चुनौती दिन चाहान्छु', उनले भनिन्, 'ओली सरकारले बनाएको धरहरा भत्काऊ सरकार,  रानीपोखरी भत्काऊ सरकार। ओली सरकारले हिजो देखेका सबै सपना खारेज गर सरकार। अन्तर्राष्ट्रिय रुपमा ओली सरकारले गरेका सम्झौता खारेज गर हिम्मत छ?'

नेपाली जनताका केही सपना ओली सरकारले पूरा गरेको बताउँदै उनले पूरा हुने चरणमा रहेका अन्य सपना पनि भत्काएर देखाउन उनले चुनौती दिइन्। 'यो मुलुकलाई बदल्ने गेम चेन्जरका ठूला ठूला आयोजनाबाट मुलुक बदल्ने सपना नेपाली जनताले देखे, त्यही अनुसार ओली सरकारले थुप्रै आयोजना अगाडि बढायो', उनले भनिन्, 'देशको मुहार फेर्ने सपना देख्यो, सुरुङमार्ग सुरु गर्‍यो भत्काऊ सरकार, मदनभण्डारी र मध्यपहाडी हुलाकी मार्ग भत्काऊ सरकार, अन्तराष्ट्रिय विमानस्थलहरु सकिने चरणमा छन्, भत्काऊ सरकार।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad