नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैको मात्रै दोष नभएको बताएका छन्।
बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा आफ्ना भनाइ राख्ने क्रममा माओवादी नेतासमेत रहेका श्रेष्ठले संसद विघटनमा ओलीलाई मात्रै जिम्मेवार नभएको दाबी गरे। श्रेष्ठले अन्य राजनीतिक पार्टी र यसभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउने नेताहरु पनि यस प्रकरणमा जिम्मेवार रहेको दाबी गरेका छन्।
‘यो मुलुकको यो बेहालका निम्ति (प्रतिनिधिसभा विघटन) त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली) जिम्मेवार हुनुहुन्थेन', उनले अगाडि भने, 'सबै राजनीतिक पार्टी, नेता, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउने पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म सबैजना जिम्मेवार थिए।’
राष्ट्रियसभामा बोल्ने क्रममा श्रेष्ठले शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ शैली र ढंगमा काम गर्नु आवश्यक रहेको पनि बताए।
'यो सरकारले नयाँ ढंगले काम गर्नुपर्ने आवश्यक छ', उनले भने, 'प्रतिगमनलाई असफल पारेर बनेको सरकारले संविधान र लोकतन्त्रलाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्मेवारी वर्तमान सरकारको काँधमा छ।'
गठबन्धन सरकारले गलत प्रवृत्ति र सोचबाट आफूलाई अलग्गै राख्नुपर्नेमा पनि जोड दिएका छन्। 'पाँच दलीय गठबन्धन र सरकारको नेतृत्वले यसबारे सोच्नुपर्छ। फेरि पनि पुरानै र गलत प्रवृति देखा नपरोस्। त्यसबाट आफूलाई मुक्त राख्नुपर्छ', उनले भने, 'हामीले निर्मम आत्म समीक्षा गरेर सच्याउन तयार हुनुपर्छ। हामीलाई बदल्नुपर्छ। पार्टी, नेता र सरकारले नयाँ ढंगले काम गर्नुपर्छ। आफूलाई बदल्न र जनअपेक्षित काम गर्नु आवश्यक छ।'
नेता श्रेष्ठले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटनामा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि बताए। ‘अहिलेसम्मको विवरण अनुसार भारतीय सीमा सुरक्षा बलबाटै तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकालीमा वेपत्ता भएका हुन्', उनले भने, 'यस घटनाका निम्ति भारतले अबिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्छ।'
Shares

प्रतिक्रिया