ad ad

राजनीति


सत्तारूढ कार्यदलले स्थानीय तह सम्बन्धमा दिएको सुझावप्रति योगेश भट्टराईको आपत्ति

सत्तारूढ कार्यदलले स्थानीय तह सम्बन्धमा दिएको सुझावप्रति योगेश भट्टराईको आपत्ति

फाइल तस्बिर: एमाले नेता योगेश भट्टराई


नेपालखबर
साउन २०, २०७८ बुधबार १४:२९, काठमाडौँ

सत्तारूढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाव दिएको भन्ने खबर सुनिएको भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्। 

‘सत्तारूढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाव दिएको भन्ने आजको समाचारमा पढ्न पाइयो,’ पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टराईले बुधबार दिउँसो भनेका छन्, ‘प्रथमत: यो संविधानको बर्खिलाप छ। यसका लागि संविधान संशोधनले मात्रा पुग्दैन, व्यापक राष्ट्रिय सहमति चाहिन्छ। नेकपा एमाले सुरुदेखि नै यो अवधारणाको विपक्षमा छ, एमालेले साथ दिने कुरै हुँदैन।’

संविधान निर्माणताका कांग्रेस पनि एमालेकै विचारमा सहमत भएको तर आज उसले एकाएक विचार बदलेको नेता भट्टराईको भनाइ छ। यस विषयमा कांग्रेसले जनतालाई स्पष्टीकरण दिनुपर्ने उनको माग छ। 

स्थानीय तहलाई प्रदेशमातहत राख्दा व्यवस्थै ढल्न सक्ने अवस्था आउन सक्ने उनको दाबी छ। 

‘कतिपय देशमा स्थानीय तहलाई प्रदेशको मातहत राखिएको छ। ती देशमा प्रदेशले कुनै पनि बेला स्थानीय तहलाई विघटन गर्ने, स्थानीय तहलाई आफ्नो लाचार छायाँ बनाउने गरेका छन्। यसले आधारभूत तहमा नागरिकसँग दैनिक काम गर्नुपर्ने, राज्यका काम तथा सेवालाई आम नागरिकसम्म पुर्याएर राज्य र जनताबीचको दूरीलाई कम गर्दै व्यवस्थाका पक्षमा नागरिकको निरन्तर समर्थन प्राप्त गर्नुपर्नेमा यो सोचले त्यो कार्य कमजोर हुन जान्छ,’ भट्टराईले भनेका छन्, ‘र, राज्य र जनताबीचको अन्तरविरोध फैलँदै गएर व्यवस्था नै ढल्ने अवस्था आउन सक्छ। कतिपय देश र बिगतमा हाम्रै मुलुकको उदाहरणले यही भन्छ। यस्तो कुरा जान्दा जान्दै सत्तारुढ गठबन्धन किन त्यता जाँदै छ?’

मुलुक तहगत शासकहरूमा पलाउने अहंकार र शक्ति उन्मादको सिकार नबनोस् र  एक तह र अर्काबीच टकरावको स्थिति सिर्जना नहोस् भनेर तीनै तहलाई संवैधानिक रूपमै स्वायत्त  बनाई अधिकार बाँडफाँड गरिएको उनको भनाइ छ।

‘सत्तारूढ गठबन्धनको प्रस्तावले संविधानको यो अवधारणालाई भत्काउनेछ र मुलुकमा शासकीय अराजकता सिर्जना भई वर्तमान राजनीतिक व्यवस्थामाथि गम्भीर धक्का पुग्नेछ।’

विकास बजेट अत्यन्तै कम मात्र खर्च भइरहेको अवस्थामा स्थानीय तहलाई थप अधिकार–सम्पन्न बनाएर, साधन, स्रोत र दक्ष जनशक्ति थपेर जनताको सहभागितामा स्थानीय नेतृत्वमार्फत विकासका कामलाई तीव्रता दिएर छिटो प्रतिफल निकाल्नुपर्नेमा सत्तारूढ गठबन्धन उल्टो बाटोमा हिँड्न लागेको नेता भट्टराईको आरोप छ।  

‘तर्क र यथार्थ अरू धेरै छन्। अहिलेलाई यत्ति,’ उनले भनेका छन्, ‘सत्तारूढ गठबन्धन यो अवधारणा तत्काल फिर्ता लेऊ!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .