गैरआवासीय नेपाली संघ (एनआरएनए)को जारी मतगणनामा अहिलेसम्म अध्यक्ष उम्मेदवार कुमार पन्त अगाडि देखिएका छन्।
८ सय ८० मत गनिसक्दा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यभन्दा पन्त ७० मतले अगाडि देखिएका हुन्।
अहिलेसम्मको गणनाअनुसार पन्तले ४ सय ७५ र आचार्यले ४ सय ५ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार अहिलेसम्म ४० प्रतिशत मत गनेर सकिएको हो।
बिहीबार राति अबेरबाट सुरु मतगणना जारी छ।
कूल २ हजार ५७० मतदातामध्ये २३० जना मतदानका बेला अनुपस्थित थिए। कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये केही पद निर्विरोध भएका छन्।
अस्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको निर्वाचन समितिले जनाएको छ।
एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि काठमाडौँमा जारी छ। असोज ३० गते नै सम्पन्न गर्ने भनिए पनि प्राविधिक तथा अन्य विवादका कारण लम्बिएको हो।
निर्वाचनमा सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो। मतगणना सकिएपछि आगामी २ वर्षका लागि यी पदहरूको पूर्ति हुनेछ।

प्रतिक्रिया