प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा कर्मचारीहरुले शहरको सरसफाई गर्न देखाएको तदारुकताप्रति धन्यवाद दिएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत केदार न्यौपानेले महानगरको वातावरण व्यवस्थापन विभागका कर्मचारीलाई प्रधानमन्त्री ओलीको सन्देश सुनाएका हुन्। प्रधानमन्त्री ओलीलाई उदृत गर्दै न्यौपानेले भने, ‘सहर सफाइ गर्ने काम त तपाईले गर्नुभएको होइन। काम गर्ने कर्मचारी त यहाँ आएका छैनन्। उनीहरुको काम राम्रो थियो। त्यो कामप्रति काम गर्ने कर्मचारीलाई धन्यवाद सुनाइदिनु। यसप्रकारको जाँगरलाई निरन्तरता दिन जरुरी छ। यो सन्देश पनि पु-याइदिनु।’
प्रधानमन्त्रीले राष्ट्रपति सी आउँदा गरेको काम नक्कली थिएन भन्दै त्यसलाई निरन्तरता दिन आग्रह पनि गरे। ‘तीनकुनेका गरेको काम नक्कली थिएन। त्यो सक्कली हो भनेर प्रमाणित गर्नुपर्छ। राष्ट्रपतिले प्रयोग गर्नुभएको सडक त्यस समयमा जस्तो थियो त्यस्तै कायम राख्नु पर्छ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनले भने।
कर्मचारीसँगको भेटमा प्रधानमन्त्रीले भनेका थिए, ‘राष्ट्रपति आउँदा जे काम भएको थियो त्यो कामलाई निरन्तरता दिँदै अब टेकु ट्रान्सफर स्टेशनको फोहोर खाली गराउनु पर्छ। सिसडोल ल्याण्डफिल्ड साइटलाई आकर्षक बगैंचा बनाउनुपर्छ।’

प्रतिक्रिया