ad ad

राजनीति


केन्द्रीय कमिटी बैठकमा ओलीको ब्रिफिङ : माधव नेपाललाई गाली, भीम रावलको प्रशंसा

केन्द्रीय कमिटी बैठकमा ओलीको ब्रिफिङ : माधव नेपाललाई गाली, भीम रावलको प्रशंसा

नेपालखबर
साउन ४, २०७८ सोमबार १७:१०,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार टालाटुली बटुलेर बनाइएको राम्री पुतलीजस्तो भएको व्यंग्य गरेका छन्। 

आज बसेको एमालेको १०औं केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार हो।’

यस क्रममा ओलीले अब सत्ता पक्षले सत्ताको दुरुपयोग गरेर आफूहरूविरुद्ध हमला सुरु गर्ने भएकाले त्यहीअनुसार आफ्नो पार्टी पंक्ति तयार हुनुपर्ने बताए। 

‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन्। जनविरोधी काम सुरु गर्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालखबरलाई सुनाए, ‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य  षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’

अध्यक्ष ओलीले कांग्रेस आफैं आक्रमण गर्ने र आफैं मुद्दा लगाउने तथा नेकपा माओवादी केन्द्र पनि आपराधिक पृष्ठभूमिबाट आएको पार्टी भएकाले सजग रहनुपर्ने बताए।  

‘कांग्रेस विगतदेखि आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ, नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने, ‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ।’

‘प्रतिक्रियावादीहरू’ले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न अध्यक्ष ओलीले बैठकमा निर्देशन दिएका छन्। 

माधव नेपालविरुद्ध आक्रोश, भीम रावलप्रति सहानुभूति
एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध आक्रोश तथा उपाध्यक्ष भीम रावलप्रति सहानुभूति प्रकट गरेका छन्। 

बैठकमा सहभागी ती नेताका अनुसार अध्यक्ष ओलीले आफूहरूले कार्यदलले जुटाएको १० बुँदे सहमति स्वीकार गरेको तर नेता नेपालले अस्वीकार गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 

‘हामीले १० बुँदे स्वीकार गर्यौं, माधव नेपालले मानेन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्नुपर्ने कुरा आयो,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘कोटेश्वर घर पुगेका कार्यदललाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो।’

त्यस क्रममा कार्यदलमा नेपाल पक्षका संयोजक रहेका नेता रावलले पार्टी एकता बचाउन देउवालाई विश्वासको मत नहालौं भन्ने प्रस्ताव गर्दा वरिष्ठ नेता नेपालले उनलाई हप्काएको पनि ओलीले उल्लेख गरे। 

‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऊँ भन्दा म विधि, निर्णय मन्दिनँ, एक्लै भए पनिभोट हाल्छु भनेर हप्काएर पठाएछन्,’ ओलीले भने। 

यस्तै ओलीले आफूहरूसँग सल्लाहै नगरी नेता रावलले रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै असन्तुष्टि जनाएका छन्। 

‘अनि हतारिएर किन राजीनामा दिएको, सल्लाह गर्नुपर्ने,’ ओलीले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू।’

ती नेताका अनुसार बैठकमा अध्यक्ष ओलीले एमाले चिचिलो काँक्रोजस्तो अरूले औंलाले देखाउँदैमा झरेर नजाने बताएका छन्। 

‘जनताको अपार समर्थन भएको पार्टी हो,’ स्रोतले ओलीको भनाइ उद्धृत गर्दै भन्यो, ‘सबैलाई याद होस्।’ 

आजको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गर्ने नेता भएको आरोप लगाउँदै उनलाई  कारबाही गर्ने तर फ्लोरक्रस गर्ने अन्य सांसदलाई २४ घण्टे स्पष्टीकरण माग्ने निर्णय गरेको छ। 

त्यस क्रममा गल्ती स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिने बैठकले निर्णय गरेको छ। 

एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार दिउँसो ३ बजे बस्ने र बाँकी प्रक्रिया पूरा गर्ने निर्णय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .