ad ad

कारोबार


ग्रेटवालका ३ मोडलका गाडी नेपालमा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

ग्रेटवालका ३ मोडलका गाडी नेपालमा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

नेपालखबर
साउन ४, २०७८ सोमबार १७:५,

ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले नेपालमा ३ वटा मोडलका गाडी सार्वजनिक गरेको छ।

ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले गाडी सार्वजनिक गरेको हो। 

१ दशकअघि नेपालबाट बाहिरिएको ग्रेटवालले पुनः आफ्नो बिक्री सुरु गरेको छ।

चिनियाँ कम्पनी ग्रेटवालका दुई ब्रान्ड नेपालमा बिक्री हुनेछन्। भीजी इम्पेक्सले हावल र ग्रेटवाल ब्रान्डका गाडी सवारीसाधन भित्र्याइसकेको छ। 

ग्रेटवाल मोटर्सले गत पुसमा भीजी इम्पेक्सलाई आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेको थियो। 

कोरोना महामारीको कारण कम्पनीले यसअघि नै नेपालमा गाडी भित्र्याए पनि सोमबार सार्वजनिक गरेको हो। 

कम्पनीले काठमाडौंको थापाथलीमा शोरुम स्थापना गरिसकेको छ। विश्व बजारमा हावललाई एसयुभी सेग्मेन्टमा राम्रो मानिन्छ। 

हावलका एसयुभी ५ सय मिलियनभन्दा बढी गाडी बिक्री भइसकेको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीले छिट्टै नेपालभर सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले छ्ट्टिै विभिन्न ठाउँमा सर्भिस सेन्टर स्थापना गर्ने बताएको छ। कम्पनीले पुराना ग्राहकलाई सेवा दिने बताएको छ। 

कम्पनीले नेपालमा ५ मोडलका गाडी ल्याउने तयारी समेत गरेको छ। जसमध्ये  ३ वटा मोडल सार्वजनिक गरेको हो।

हावल ब्रान्डका जोलीयन र एच सिक्स एसयुभी आएका छन् भने जीडब्लुएम ब्रान्डमा पोयर आइसकेको छ। ग्रेटवाल ब्रान्डमा विङ्गल पिकअप गाडी  र नेपालमै सस्तो विद्युतीय कार ओरा आर १ इलेक्ट्रिक गाडी ल्याउने जनाएको छ। 

कम्पनीले हावलका एसयुभी र ग्रेटवालका प्रिमियम तथा लक्जरियर्स मोडल नेपालमा सार्वजनिक भएको जनाएको छ। 

ग्रेटवाल मोटर्स नेपालका अनुसार हावल जोलायनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ। ३ वटा भेरियन्टमा रहेको छ। 

ग्राहकले ५ वटा कलरमा गाडी छनोट गर्न पाउनेछन्। जोलायनको मूल्य ५५ लाख ४९ हजार रहेको छ । 

१५ सय सीसीको गाडीले अधिकतम १४० हर्स पावर र २१० एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पिड म्यानुअल तथा ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्स रहेको छ। 

जोलायनमा ४ वटा ड्राइभ मोड रहेका छन् । अटोनोमस ब्रेकिङ सिस्टम रहेको छ। 

त्यस्तै अर्को  एसयूभी हावल एच सिक्समा २।० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । हावल एच सिक्स तेस्रो जेनेरेसनको गाडी हो । गाडीको मूल्य ९६ लाख ९९ हजार रहेको छ । 

उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्यूल क्लच ट्रान्समिसन दिइएको छ । गाडीको बुट स्पेस प्रयाप्त रहेको छ। गाडीमा फोर ह्विल ड्राइभ रहेको छ। १२।२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ। सुरक्षाको हिसाबमा समेत राम्रो रहेको छ। ६ डिअल एयरब्याग रहेको छ । 

तेस्रो मोडल ग्रेटवालको पोयर पिकअप नेपाल भित्रिसकेको छ। पोयर २.० लिटरको टर्बो डिजल इन्जिन रहेको छ। जसले १६० हर्स पावर तथा ४०० एनएम टर्क उत्पादन गर्छ ।

गाडीको २ भेरियन्टसहित दुई कलरमै उपलब्ध रहेको छ। पिकअपको मूल्य ६४ लाख ९९ हजार रहेको छ। 

सनरूफसहितको पोयर पिकअप गाडीको बजार हिस्सा ५० प्रतिशत रहेको दाबी गरेको छ । 

चीनमा ग्रेटवाल मोटर्सले १९९३ देखि गाडी उत्पादन सुरु गरेको थियो।

कम्पनीले २०२० मा विश्व बजारमा ११ लाख बढी आफ्नो उत्पादन बजारमा बिक्री गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .