राजनीति


अदालतको निर्णयलाई संसदमा गम्भीरतापूर्वक उठाउँछौँ : सुवास नेम्बाङ

अदालतको निर्णयलाई संसदमा गम्भीरतापूर्वक उठाउँछौँ : सुवास नेम्बाङ

नेपालखबर
साउन ३, २०७८ आइतबार ९:२१,

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशको संसदमा जोडदार बिरोध गरिने बताएका छन्।

सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ। नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेदेखि सुरु हुने अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले सर्वोच्चको आदेश र देउवाको नियुक्तिको जोडदार बिरोध गर्ने तयारी गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी राजनीतिलाई दिशानिर्देश गर्ने भएकाले आजदेखि सुरु हुनु लागेको संघीय संसदको अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ। 

अदालतको फैसलालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले स्वागत गरेका छन् भने प्रमुख प्रतिपक्ष एमालेले चर्को बिरोध गरेको छ। सर्वोच्चको फैसला लोकतन्त्र र संसदीय अभ्यासविपरीत आएको एमालेको दाबी छ। 

अदालतको निर्णयले कतिपय चुनौती र अप्ठेरो निम्त्याएकाले सदनमा फैसलाका सम्बन्धमा साह्रै गम्भीरतापूर्वक कुरा उठाउने नेम्बाङले बताए। 

अदालतको असार २८ को प्रतिनिधिसभा पुनःस्थानाको निर्णयसँगै नेपालको राजनीतिक नयाँ कोर्समा प्रवेश गरेको छ । विसं. २०७४ को निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा विभाजनपछिको घटनाक्रमले एमालेलाई यस अधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकामा पु¥याएको छ।

नेपाली कांग्रेस प्रतिनिधिसभामा यसपटक चार वर्षपछि सत्तापक्षको कुर्सीमा बस्दैछ। 

संघीय संसदमा एमालेका १२१, कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद छन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद संसदमा छन्। 

मुलुकको सार्वभौम सम्पन्न संसद्मा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन अवस्थामा छन्। अघिल्लो वर्ष असार १८ गते स्थगन भएको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) एक वर्षपछि यसपटक संयुक्तरूपमा आह्वान भएको छ। 

अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमा राष्ट्रपतिबाट सदन आह्वान र सरकार गठनसम्बन्धी पत्र वाचन गरेर सुनाइनुका साथै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम स्वीकृत हुने छ। 

यसबीचमा निधन भएका पूर्वसांसद तथा संविधानसभा सदस्यको निधनप्रति बैठकले शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। कार्यव्यवस्था परामर्श समितिको आजै बस्ने बैठकले सदनको अन्य सम्बन्धी कार्यसूची तयार गर्ने छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad