केही दिनयता कम्युनिस्ट नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेटघाट गरेका छन्।
विप्लवले भनेका छन्, ‘नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन वैद्य किरणसँग भेटघाट, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल।’
यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरिसकेका छन्।
माधव नेपालबाहेक अहिलेसम्म उनले भेटेका नेता जनयुद्धकालीन सहयोद्धा हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ओली सत्ताच्युत (गत मंगलबार) भएको भोलिपल्टदेखि अन्य कम्युनिस्ट नेताहरूसँगको भेटवार्तालाई सिलसिलाबद्ध रूपमा तीव्रता दिइरहेका छन्।
पहिलो दिन उनले प्रचण्डलाई भेटेका थिए भने क्रमशः भोलिपल्ट माधवकुमार नेपाल र पर्सिपल्ट डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा आज (शनिबार) उनले वैद्यसँग भेटेका हुन्।
Shares

प्रतिक्रिया