ad ad

राजनीति


प्रचण्डको आग्रहपछि महतो मुस्कुराए, शरतसिंहले गीत सुनाए

प्रचण्डको आग्रहपछि महतो मुस्कुराए, शरतसिंहले गीत सुनाए

सागर न्यौपाने
साउन २, २०७८ शनिबार ८:२७,

शुक्रबार बानेश्वरस्थित संसद् भवनको स्काइलाइट हलमा सांसदहरूको एन्टिजेन परीक्षण गरिँदै थियो।

साउन ४ गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअघि उनीहरूमा कोरोना भाइरसको संक्रमण छ/छैन निर्क्याेल गर्न एन्टिजेन परीक्षण गरिएको हो। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एन्टिजेन परीक्षण गराएर हिँडे। केही सांसद परीक्षणका लागि लामबद्ध थिए। 

जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा एन्टिजेन परीक्षण गराएर उभिरहेका थिए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहीँ पुगे। 

महतोले हाँस्दै प्रचण्डप्रति सम्मान प्रकट गरे। झाले अभिवादन फर्काए। शरतसिंहले हाँसे र नमस्कार गरे। 

अहिले कोरोनाका कारण हात मिलाइँदैन। मुठ्ठीमा मुठ्ठी मिलाइन्छ। प्रचण्डले त्यही गर्दै तीनै नेताको हालखबर सोधे।

उनीहरूले राम्रै रहेको जवाफ दिए। 

त्यसपछि प्रचण्डले भने, ‘अब थाहा पाइहाल्नुभयो, नेपालको राजनीति। अब आउनुस्, हामीले बनाएको सरकारलाई विश्वासको मत दिनुस्।’

यसअघि ओली पक्षमा रहेका उनीहरूलाई प्रचण्डले आग्रह गरे। तीनै नेता हाँसे। 

‘हाम्रो पार्टीले पनि यो सरकारलाई समर्थन त गरेकै छ नि,’ महतोले मुस्कुराउँदै भने, ‘एउटै पार्टीमा भएपछि समर्थन त हुन्छ।’

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थन रहेका शेरबहादुर देउवा सर्वाेच्च अदालतले गत असार २८ गते गरेको फैसलाबमोजिम असार २९ गते प्रधानमन्त्री बनेका हुन्।

देउवा सरकारले यही साउन २८ गतेभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

जसपा उपेन्द्र–बाबुराम र महन्थ ठाकुर गरी दुई खेमामा विभाजन भएको छ। प्रचण्डसँग भेट भएका तीनै नेता ठाकुर पक्षका हुन्। 

‘परिवर्तित अवस्थामा परिवर्तित हिसाबले नै सोच्नुपर्यो भन्नुहुन्थ्यो, मैले चैं हिन्दी फिल्मको एउटा गीतको टुक्रा सुनाएँ,’ भण्डारीले नेपालखबरसँग भने, ‘हामी उही हो क्यार, हरेक रात, हरेक दिन।’

७ मिनेटजति उभिएरै भलाकुसारी भए पनि कुनै गम्भीर विषयमा छलफल नभएको भण्डारीले बताए।

सर्वाेच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली सत्ताबाट बाहिरिए। 

ओली नेतृत्वको सरकारमा जेठ २१ गते उनीहरू तीनै जना सहभागी भएका थिए। 

तर असार ८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिण्डल असंवैधानिक ठहर गरेपछि महिना दिन पनि नपुग्दै उनीहरू पदच्युत भएका थिए। 

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्टी विभाजन हुने अन्तिम चरणमा छ। 

जसपा विभाजनको फैसला गर्न साउन ३ गते निर्वाचन आयोगले गठन गरेको इजलास बस्दै छ। 

उपेन्द्र यादव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको छ। यादव पक्षमा १४ जना मात्र सांसद छन्। 

छिट्टै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका देउवालाई जसपालाई एक ढिक्का बनाउन सके प्रतिनिधि सभाको बाँकी कार्यकालभर सत्ता  चलाउन पाइने अपेक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .