नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिएको आरोप लगाएका छन्। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार अपरान्ह बसिरहेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सर्वोच्चको असार २८ को फैसलामाथि आक्रोश पोखेका हुन्।
'सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दियो। अल्पमतलाई सरकार बनाउन परमादेश दियो', ओलीले गुनासो गर्दै भने, 'यस्तो फैसलाबाट सर्वोच्चले दलीय संरचना समाप्त गर्ने आधार तयार गर्यो।'
ओलीले सर्वोच्चले संसदको कार्यक्षेत्रमा पनि पसेर सम्बन्धित दलहरुले सांसदहरुलाई ह्विप नै लगाउन नसक्ने गरी आदेश दिएको भन्दै आपत्ति जनाए। 'सर्वोच्चले ह्विप नलाग्ने, ह्विप उलंघन गरे कारबाही गर्न नपाइने भनेको छ', उनले भने, 'माग नै नभएको कुरामा पनि ह्विप नलगाउने फैसला किन आयो ?'
ओलीले न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निर्माणमै बदनियत देखिएको गुनासो गरे। 'न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निवेदक र बार एसोसिएसनको दबाबमा बनेदेखि नै षड्यन्त्र सुरु भएको थियो', उनले भने, 'सर्वोच्चको असार २८ को फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकाले यसलाई कार्यान्वन गरिसकेका छौँ।'
ओलीले एमालेविरुद्ध अझै पनि षडयन्त्र र आक्रमण भइरहने पनि चिन्ता व्यक्त गरे। 'एमालेविरुद्ध अझ धेरै षडयन्त्र सुरु हुनेछ', उनले भने, 'सदन छोटो समय बसेर टुंग्याउन सक्छन्। अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाउने प्रयास गर्छन्।'
उनले कांग्रेस दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै एमालेमाथि आक्रमण झन् बढ्ने आशंका गरे। 'प्रदेश र स्थानीय तहमा पनि हामीलाई दु:ख दिन सक्छन्', उनले अगाडि भने, 'झुटको खेती चल्नेछ। अब दमनको सुरुवात हुनेछ।'
ओलीले देउवा नेतृत्वको सरकारलाई एमालेको समर्थन नहुने पनि प्रष्ट पारे। 'यो सरकारलाई हाम्रो समर्थन हुने छैन', उनले थपे, 'सरकारलाई समर्थन गर्न सकिन्छ भन्ने कुरा दलको होइन, सांसदहरुको होइन, व्यक्तिगत धारणा हो।'
उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको बताउँदै त्यसविरुद्ध भ्रम फिँजाउन खोजिएको पनि बताए। 'हामीले ल्याएको खोपबारे भ्रम फिँजाउन थालिसके', उनले भने, 'हाम्रै सरकारले खोप ल्याएको हो तर त्यसलाई ढाकछोप गर्न भ्रम छर्दैछन्।'
दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले चलचित्र माइतीघरको गीत पनि सम्झिए। माइतीघरको गीत 'म प्यार बेचिदिन्छु, बहार बेचिदन्छु' भने जस्तै अहिले पैसा मिलाइदिने र मन्त्री पद दिने कुरा गर्न थालेको पनि आरोप लगाए। 'माइतीघरको म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु' भन्ने जस्तै म मन्त्री बनाइ दिन्छु। म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्', पूर्वप्रधानमन्त्री ओलीले देउवा नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै भने, 'तर त्यो अब पार लाग्दैन।'
Shares

प्रतिक्रिया