नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सवा २ बजे सर्वोच्च अदालतमा हुने भएको छ।
महान्यायाधिवक्ताले पहिलोपटक सर्वोच्च अदालतमा शपथ लिनलागेका हुन्।
यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा थियो।
तर कानुनी रुपमा प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताइएको छ।
खातीलाई सर्वोच्च अदालतमै शपथको तयारी गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।
रेग्मीका अनुसार सवा २ बजे शपथको तयारी भएको छ।
यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए।
गत चैतमा नियुक्त भएको महान्यायाधीवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए।
यसपटक भने विगतको परम्परा तोड्दै राष्ट्रपति कार्यालयले सर्वोच्चमै शपथको व्यवस्था गर्न भनेको हो।
महान्यायाधिवक्ताले शीतलनिवासमै शपथ हुनुपर्ने भने पनि राष्ट्रपति कार्यालयले कानुनअनुसार प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था भएको र अब त्यहीअनुसार कार्यान्वयन गर्न भनेपछि सर्वोच्चमा शपथ तय भएको हो।
यसअघि लोकसेवा आयोगका प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशले पनि सर्वोच्चमै शपथ लिएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।
Shares

प्रतिक्रिया