सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ।
दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।
ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो।
सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए। सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ।
खड्कामाथि स्थानीय निर्वाचनलगत्तै सांसद गुरुङ नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लागेको थियो।आक्रमण लगत्तै खड्काले उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। तर प्रहरीले उनलाई पक्राउ गरेको थिएन्।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो।
जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको हो।
पक्राउ पुर्जीबारे कुरा गर्दा सांसद गुरुङले आफूलाई त्यसबारे जानकारी भएको प्रतिक्रिया दिए। पुरानो र राजनीतिक मुद्दा हो’, नेपालखबरसँग कुरा गर्दै सांसद गुरुङले भने, ‘यो खासै ठूलो कुरा होइन।’
Shares

प्रतिक्रिया