ad ad

राजनीति


देउवा कुन धारा अनुसारको प्रधानमन्त्री?

देउवा कुन धारा अनुसारको प्रधानमन्त्री?

नेपालखबर
असार २९, २०७८ मंगलबार १७:३६,

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। तर राष्ट्रपतिले देउवालाई संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको भन्ने उल्लेख गरिएको छैन। 

‘सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८ असार २८ गतेको फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्युलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा भने राष्ट्रपतिले दुवै पटक धारा उल्लेख गरेकी थिइन्। 

२०७४ साल फागुन ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख थियो। २०७८ वैशाख ३० गते पनि धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको थियो। 

देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै धारा अनुसार नभएर सर्वोच्चको फैसला अनुसार नियुक्त गरिएको उल्लेख छ। 

यसलाई कानुनविदहरुले राष्ट्रपतिको नियत आज पनि सफा छैन भन्ने प्रष्ट भएको बताएका छन्। 

‘राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जुन भाषा प्रयोग गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ त्यसले राष्ट्रपतिको पद, गरिमा, तटस्थता, योग्यता, क्षमता अहिले पनि देखिएको छैन’, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘राष्ट्रपतिको जुन गलत सोच थियो, त्यो अहिले पनि देखिएको छ।’

केपी ओलीका कानुनविज्ञ बाबुराम दाहालले भने सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्री नियुक्त भनेकाले संविधानको धारा उल्लेख नगरेपनि ७६ (५) अनुसारकै भन्ने बुझ्नु पर्ने बताए।

‘फैसलामा ७६(५) नै भनिसकेको हुनाले त्यसमा फैसला उल्लेख गरेपछि केही भनिरहनु परेन। फैसलामा ७६ (५) अनुसार नियुक्ती गर्नु भनेकाले के अन्यथा हुन्छ र? फैसलाबमोजिम लेखेपछि पुग्छ’, दाहालले नेपालखबरसँग भने।

संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले जेठ ६ गते आह्वान गरेकी थिइन्। सोही अनुसार देउवाले १४९ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए। तर राष्ट्रपतिले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले सोमबार राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गर्दै ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .