ad ad

राजनीति


त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदैछः प्रचण्ड

 त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदैछः  प्रचण्ड

नेपालखबर
असोज २९, २०७६ बुधबार ९:२४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन्।

केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेकपाले बुधबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उहाँको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ।’

चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे।

अध्यक्ष प्रचण्डले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्दै भने, ‘यो भ्रमणको धेरै आयाम छन्, त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर जुन सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको छ, त्यो महत्वपूर्ण छ।’ यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले सकारात्मक ढंगले विकसित भएको मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकांक्षा पूरा गर्न नयाँ संकल्प गर्नु जरुरी रहेको बताए।

शुभकामना आदानप्रदान कार्यक्रमलाई संकेत गर्दै अध्यक्ष प्रचण्डले यसखालका कार्यक्रममार्फत हामीले गर्ने प्रतिबद्धता राजनीतिक दलबीच सुदृढ एकता नै भएको दावी गरे।

प्रमुख दलको सहमतिबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गरी निर्वाचको माध्यामबाट राजनीतिक स्थायित्वको वातावरण बनाएको जिकिर गर्दै उनले यसलाई शक्तिको रुपमा लिई विकास र समृद्धिमा रुपान्तरण गर्नुपर्ने अभिभारा सबै राजनीतिक दलको काँधमा आएको बताए।

सात दशक लामो नेपाली जनताको संघर्षको उपलब्धिको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौती दिन नसक्ने जिकिर गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले पनि संसद्मा भएका सबै राजनीतिक दलहरु संविधान, विकास र समृद्धिको नारामा एकमत छौँ, एक मत भएर नै अघि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .