नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतले प्रतिनिधि पुनःस्थापना गरेर संविधानको रक्षा गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वाेच्च अदाललते आफ्ना सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेलगत्तै सांसदसमेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।’
अदालतको फैसलाप्रति असहमति राख्न पाइए पनि अस्वीकार भने गर्न नपाइने चेतावनी पनि सांसद थापाले दिएका छन्।
फैसला सार्वजनिक हुनासाथ केपी ओली समूहका एमाले नेता महेश बस्नेतले भ्रातृ संगठन युवा संघका नेता/कार्यकर्तालाई विरोधमा उत्रिन निर्देशन दिएका छन्।
यसैलाई संकेत गरेर हुन सक्छ, कांग्रेस नेता गगन थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ, तर अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भीरबाट खस्नेलाई रामराम!’
Shares

प्रतिक्रिया