ad ad

राजनीति


एमालेका यी ७० वर्षे नेता : उमेर पुग्यो, रहर पुगेन

एमालेका यी ७० वर्षे नेता : उमेर पुग्यो, रहर पुगेन

मणि दाहाल
असार २१, २०७८ सोमबार २१:३९,

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शुक्रबार ७४ वर्ष लाग्दैछन्। एमालेको विधान कार्यान्वयन भएको भए गौतमले सक्रिय राजनीतिबाट ४ वर्षअघि नै बिदा लिनुपर्ने हुन्थ्यो।

उपाध्यक्ष गौतम मात्रै होइन, एमालेको नवौँ महाधिवेशनको विधान पूर्ण रुपमा लागू भएको भए अध्यक्ष केपी शर्मा ओली (७० वर्ष)ले गत फागुनबाट र झलनाथ खनाल (७२ वर्ष)ले २०७६ जेठबाटै अवकाश लिनुपर्ने थियो। 

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपाल (६९ वर्ष) पनि आगामी फागुनको तेस्रो सातासम्म मात्रै कार्यकारी पदमा बस्न पाउने छन्। त्यसको एक वर्ष नपुग्दै महासचिव ईश्वर पोखरेल (६८ वर्ष)ले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने हुन्छ। 

तर, अहिलेसम्म पूर्वप्रधानमन्त्री खनालबाहेक कुनै पनि नेताले सक्रिय राजनीति छाड्ने संकेत गरेका छैनन्। 

खनालले गत महिना नेपालखबरसँगको कुराकानीमा ७० वर्ष पुगेका नेताहरुले कार्यकारी भूमिका छाडेर सल्लाहकार हुनुपर्ने धारणा राखेका थिए। 

तर, विधान कार्यान्वयन गर्नतिर होइन, एमालेका शीर्ष नेताहरु कार्यकारी पदमा ७० वर्षे उमेरहदको व्यवस्थै हटाउन लागिपरेका छन्। 

अध्यक्ष ओलीले गत फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यहरु मात्र सहभागी बैठक मार्फत विधान संशोधन गर्दै सत्तरी वर्षे उमेरहदको व्यवस्थालाई हटाएका छन्। जबकि एमालेमा विधान संशोधन गर्ने अधिकार विधान महाधिवेशनलाई मात्र छ।

दसौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेले साउनको अन्तिम साता विधान महाधिवेशन राख्ने निर्णय गरेको छ। 

नवौँ महाधिवेशनमै दोहो¥याएर अध्यक्ष नबन्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले नै हटाउन चाहेकाले ७० वर्षे उमेरहदको व्यवस्था हट्ने सम्भावना धेरै छ। 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली लामो बहसपछि नेतृत्व हस्तान्तरण सहज रुपमा होस् र पार्टीमा नयाँपन दिन सकियोस् भनेर एमालेले यो व्यवस्था ल्याएको बताउँछन्।

‘पार्टीको नेतृत्वमा नयाँपन दिनका लागि हामीले यो व्यवस्था सर्वसम्मत रुपमा ल्याएका हौँ। यसले नयाँ पुस्तालाई विस्तारै पार्टीको नेतृत्वमा पु¥याउने थियो। त्यसैले नवौँ महाधिवेशनमा ल्याएको हो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘यसले पुराना नेताप्रतिको नकारात्मक धारणा पनि समाप्त पार्ने थियो र नयाँमा पनि आशा जगाउने थियो। यसले नेतृत्व हत्याउन हुने अस्वस्थ गतिविधिलाई पनि कम गर्छ।’

नवौँ महाधिवेशनमा तत्कालीन संगठन विभाग प्रमुखको हैसियतमा ज्ञवालीले विधानको त्यो व्यवस्था हलमा प्रस्ताव गरेका थिए। आठौँ महाधिवेशनको समयमा पनि त्यसमाथि लामो छलफल भएको थियो। प्रस्तावमा सबै सहमत भए पनि साहना प्रधानको उमेर र योगदानलाई ध्यानमा राख्दै त्यसबेला सो व्यवस्था नराखिएको ज्ञवाली बताउँछन्।

‘त्यस समयमा कार्यान्वयन गरेको भए प्रधान मात्रै बाहिरिनु हुने रहेछ। उहाँले अलि चित्त पनि दुखाउन भयो। अन्तिम समयमा हामीले त्यसलाई हटाइदियौँ,’ ज्ञवालीले भने, ‘विचार र क्रियाशीलता नयाँ वा पुरानो सबैमा जरुरी छ। तुलनात्मक रुपमा नयाँ, क्रियाशील र युवा पनि छ भने स्वभाविक रुपले त्यसले बढी गति दिन सक्छ।’

उमेरहद कार्यान्वयन गर्नुपर्छ भन्ने दोस्रो पुस्ताका नेताहरुले पटकपटक वृद्ध नेताहरुको खप्की खानुपरेको उदाहरण छन्। 

गत चैतको अन्तिम साता होटल अर्यालमा आयोजित माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकमा घनश्याम भुसालले ओलीसँग छलफल गर्दा उमेर हद पालना गर्नुपर्ने धारणा राखेको बताएका थिए। 

सो विषयलाई लिएर बैठकमा नेता नेपाल र भुसालबीच लामो बहस भएको थियो। आफूलाई सक्रिय राजनीतिबाट बाहिर राख्न सो विषय उठाइएको नेता नेपालको दाबी थियो। दुवैबीच विवाद बढ्दै गएपछि अन्य नेताहरुले विषयान्तर गरेका थिए।

यसअघि पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने धारणा राख्ने नेताहरु उमेर पुग्न लागेका नेताहरुको आँखाको कसिंगर बन्ने गरेको देखिन्छ।

चुनाव सकिनेबित्तिकै एमाले सचिव योगेश भट्टराईले चुनावी गठबन्धनको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट विदा लिनुपर्ने धारणा राखेका थिए। जसको प्रधानमन्त्री ओलीनिकट नेताहरुले चर्को आलोचना गरे। चुनावको समयमा भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पुगेर उनलाई मन्त्री बनाउने घोषणा गरेका ओलीले सायद त्यसैको बदलास्वरुप सुरुमा भट्टराईलाई मन्त्रिपरिषदमा राखेनन्।

बुटबलमा २०६५ मा भएको आठौँ महाधिवेशनले पार्टीको कार्यकारी पदमा दुई कार्यकाल मात्रै बस्न पाइने व्यवस्था गरेको थियो।

त्यसैगरी २०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनले ७० वर्षपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिनुपर्ने नीति अवलम्बन गरेको थियो। 

बुटबल महाधिवेशबनाट मोदनाथ प्रश्रितले उमेर ढल्किँदै गएपछि कार्यकारी पदमा बस्न नहुने भन्दै अवकास लिएका थिए। त्यसैगरी भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग्गिएका थिए। 

७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिएका सिंह कम्युनिस्टहरु पार्टीको निर्णयमा अडिग रहनुपर्ने बताउँछन्। 

‘कम्युनिस्ट पार्टीले निर्णय गरेपछि त्यसमा अडिन सक्नुपर्छ। ७० वर्षको उमेरहद लागू भएपछि मैले उमेर पुगेकै दिन सन्यास लिएँ,’ सिंहले भने ‘सबैले त्यसै गर्नुपर्छ, बुढाहरूले गर्दा युवाहरूको जोस हराउने दिन आउन दिनुहुन्न। अहिले सब कुरा बिगारेको यी बुढा नेताहरूले हो। अब युवाहरूलाई पालो दिनु पर्छ।’

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि सत्तरी पुग्न लागेका नेताहरुले ७० वर्षको व्यवस्था हटाए। 

२०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने बेलामा त्यो व्यवस्था हटाइएको थियो। त्यस समयमा वामदेव गौतमले आफूलाई नेतृत्वमा आउन नदिनका लगि सो व्यवस्था ल्याएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए। 

गौतमको असन्तुष्टि देखाउँदै नेकपाको विधानमा सो व्यवस्था हटाइएको थियो। गौतम अझै पनि पार्टी र सरकारको नेतृत्वमा पुग्न प्रयासरत छन्।

‘विधानमा रहेको ७० वर्षको व्यवस्था कार्यान्वयन गरेर जाने हो भने अहिले देखिएको कतिपय समस्या आफैँ समाप्त भएर जान्छ,’ ज्ञवालीले भने। 

कसको उमेर कति? 
वामदेव गौतमः  २००५ असार २६ (७४ वर्ष)
झलनाथ खनालः २००७ जेठ ७ (७२ वर्ष)
केपी शर्मा ओलीः २००८ फागुन ११ (७० वर्ष)
माधवकुमार नेपालः २००९ फागुन २३ (६९ वर्ष)
ईश्वर पोखरेलः २०१० माघ २२ (६८ वर्ष)
अमृतकुमार बोहोराः २००५ वैशाख १५ (७४ वर्ष)
सुवास नेम्वाङः २००९ फागुन २८ (६९ वर्ष)
अष्टलक्ष्मी शाक्यः २०१० असोज (६८ वर्ष)
प्रदीप ज्ञवालीः २०१९ भदौ २८ (६० वर्ष)
भीम रावलः २०१३ मंसिर २९ (६६ वर्ष)
घनश्याम भुसालः २०१८ भाद्र २६ (६१ वर्ष)
विष्णु पौडेलः २०१६ मंसिर ५ (६३ वर्ष)
सुरेन्द्र पाण्डेः  २०१५ भदौ ९ (६४ वर्ष)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .