राजनीति


हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समय सकिएपछि ब्युँतियो एमाले कार्यदल

सिंहदरबारमा बैठक
हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समय सकिएपछि ब्युँतियो एमाले कार्यदल

नेपालखबर
असार २१, २०७८ सोमबार १८:४०,

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय भएको एमाले कार्यदल ब्युँतिएको छ।

कार्यदलको बैठक अहिले अर्थ मन्त्रालय (सिंहदरबार) मा सुरु भएको छ।  

आइतबार राति प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष भीम रावलबीच भएको भेटवार्तामा रावलले कार्यदल ब्युँत्याउनुपर्ने बताएका थिए।

त्यसपछि आज सोमबार बिहान रावल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा पनि नेपालले कार्यदलले सहमतिको खाका नल्याएसम्म आफू ओलीसँग बस्नै नसक्ने अडान राखेका थिए। जवाफमा ओलीले त्यसबारे सोच्न सकिने बताएका थिए।

सोमबार दिनभर नेताहरूबीच पहिले कार्यदलको बैठक राख्ने कि अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ता गराउने भन्ने विषयमा छलफल भएको थियो।  

स्थायी कमिटी सदस्य घनश्याम भुसालले कार्यदलको बैठक बसेर सहमति खाका तयार पार्ने र अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाललाई त्यो देखाएपछि थप अघि बढ्न सक्नेगरी सहमति भएको बताए। 

पहिले कार्यदलको बैठक राख्ने र यसैबाट समस्या समाधानको पहल थाल्नुपर्ने नेपाल समूहको प्रस्तावमा ओली पक्षका नेताहरूले सहमति जनाएपछि गत जेठ ८ गतेदेखि निष्क्रिय कार्यदलले पुनर्जीवन पाएको हो।

आइतबार राति प्रधानमन्त्री ओलीसँगको भेटमा एमाले उपाध्यक्ष भीम रावलले कार्यदललाई सक्रिय बनाएर बैठक बोलाउन आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिएपछि मात्रै अरू कुरा सोच्न सकिने जवाफ दिएका थिए।

‘भीम रावलसँगको भेटमा पनि प्रधानमन्त्रीले त्यही हस्ताक्षरको कुरा निकाल्नुभएछ, त्यसबाहेकका विषयमा कार्यदलमै बसेर प्याकेजमा सहमति खोजौं भनेर दिनभर प्रयास गरेपछि अहिले सफल भइयो,’ नेपाल समूहका एक नेताले नेपालखबरलाई बताए।

ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले शीर्ष नेताहरूलाई मनाउने दिनभरिको प्रयासपछि कार्यदल पुनः सक्रिय हुन लागेको बताए। पार्टी एकीकरणका लागि भन्दै वैशाख अन्तिम साता बनेको कार्यदल प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय भएको थियो।

लगत्तै ओलीले नेपाल पक्षबाट कार्यदलका सदस्य भीम रावललाई कारबाही गरेपछि कार्यदलका सदस्यले छुट्टाछुट्टै छलफल गरिरहेका थिए। कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा हालिएको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्। त्यो फिर्ता लिन ओलीले नेपाल पक्षलाई आज सोमबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .