NepalKhabar NepalKhabar

विचार


कस्तो होला कोभिड बिदाइपछिको संसार?

कस्तो होला कोभिड बिदाइपछिको संसार?

दि इकोनोमिस्ट
काठमाडौँ, असार २१

महामारीको अन्त्य कहिले होला? गएको डेढ वर्षमा कोभिड–१९ ले एकपछि अर्को मुलुकलाई निचोर्दै लग्यो। जब बल्ल भाइरसलाई नियन्त्रण गरियो भन्ने ठानियो, तब पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट फैलिँदै गयो। तैपनि लगाइएको खोपको मात्रा तीन अर्ब नाघ्दै गर्दा कोभिडपछिको जीवनको झलक देखिन थालेको छ। अहिले नै दुई कुरा भने स्पष्ट भइसकेका छन्। पहिलो, महामारीको अन्तिम चरण निकै लामो र पीडादायी हुनेछ। र, दोस्रो, कोभिड–१९ पहिलेभन्दा फरक संसार छाडेर विदा हुनेछ।

यसैसाता दि इकोनोमिस्टले विभिन्न मुलुकमा अहिलेको स्थिति कति सामान्य छ भनेर एउटा सूची प्रकाशित गरेको छ। जसमा ५० मुलुक समावेश छन्। महामारीअघिको अवस्थालाई १०० अंक दिएर हेर्दा समग्रमा आजको स्थिति ६६ मा छ। 

अझै पनि थुप्रै मुलुकमा कोभिड–१९ को प्रभाव व्यापक छ। यो सूचीको पुछारमा मलेसिया छ। मलेसियाले २७ अंक मात्र पाएको छ, जहाँ गत जनवरीको भन्दा ६ गुणा बढी घातक संक्रमण फैलिइरहेको छ। यसको मुख्य कारण हो– पूर्ण खोपको अभाव।

अफ्रिकी महादेशको दक्षिणी भेगका मुलुकहरु पनि घातक प्रकोपबाट पीडित छन्। १२ वर्षभन्दा माथिको जनसंख्याको मात्र २.४ प्रतिशत हिस्साले पहिलो मात्रा खोप लाएका छन्। खोप छेलोखेलो भएको अमेरिकामा समेत मिसिसिपी र अलाबामा राज्यका ३० प्रतिशतले मात्र दुवै मात्रा खोप लाएका छन्। यो वर्ष विश्वभर ११ अर्ब डोज खोप उत्पादन हुने छ। तर, ती खोप पाखुरासम्म पुग्न महिनौँ लाग्नेछ। त्यसमाथि धनी मुलुकहरुले चाहिनेभन्दा धेरै खोप ओगटेर बस्ने हो भने झनै बढी समय लाग्नेछ। 

खोप अभावको समस्यालाई भाइरसको नयाँ भेरियन्टले झनै गम्भीर बनाएको छ। भारतमा पहिलो पटक फेला परेको डेल्टा भेरियन्ट सुरुमा वुहानमा फेला परेको भाइरसभन्दा दुईदेखि तीन गुणा बढी संक्रामक छ। नयाँ भेरियन्ट ३० प्रतिशत मानिसले खोप लगाइसकेको स्थानमा समेत तीव्र गतिमा फैलियो र अस्पतालहरुमा बेड र स्वास्थ्यकर्मीको अभाव भयो। अहिलेका भेरियन्ट खोप लगाएको जनसंख्यामा समेत फैलिरहेको छ। तर, कुनै पनि भेरियन्टले गम्भीर बिरामी र मृत्यु हुन नदिने खोपको क्षमतालाई कमजोर तुल्याएको छैन। तर, अर्को म्युटेसनमा त्यस्तो हुन पनि सक्छ। 

कोरोना भाइरस बाँचिरहनेछ। तर, महामारी भने अन्ततः समाप्त हुनेछ। दुवै मात्रा खोप लगाउन पाएका र नयाँ उपचार विधिमा पहुँच भएका भाग्यमानीहरुका लागि कोभिड–१९ सामान्य रोग बन्दै गएको छ। डेल्टा भेरियन्ट फैलिएको बेलायतमा संक्रमितमा मृत्युदर ०.१ प्रतिशतमा झरेको छ। जुन मौसमी रुघाखोकीजत्तिकै हो। खतरनाक तर निको पार्न सकिने। यदि कुनै भेरियन्टलाई अलिकति फरक खोप चाहिने स्थिति आएछ भने पनि त्यस्तो खोप बनाउन लामो समय लाग्नेछैन। 

तथापि, सम्पन्न मुलुकहरुमा खोप र उपचार सहज उपलब्ध हुँदै जाँदा गरिब मुलुकमा भने आवश्यक आपूर्तिको अभावमा मानिसहरुको ज्यान जानेछ। त्यसले उनीहरुमा आक्रोश बढाउँदै लैजानेछ। जसका कारण सम्पन्न र गरिब मुलुकको बीचमा वैमनश्य पैदा हुनेछ। यात्रा प्रतिबन्धले दुईथरि विश्वबीच दुरी कायम राख्नेछ। 

अन्ततः उडान सुरु हुनेछ, तर बानीबेहोरामा आएका परिवर्तन कायम रहनेछन्। अमेरिकामा मार्च महिनामा अर्थतन्त्र उक्सेर महामारीअघिको स्थितिमा पुग्यो। तर, सूचीमा अमेरिकाले ७३ अंक मात्र पाएको छ। किनभने ठूला सहरहरु पहिलेको तुलनामा शान्त छन् र थुप्रै मानिसहरु घरबाट काम गरिरहेका छन्। 

अहिलेसम्मको स्थिति हेर्दा कोभिड–१९ को विरासतले पनि यसअघिका महामारीपछिको ढाँचालाई नै पछ्याउने लक्षण देखिन्छ। यल युनिभर्सिटीका निकोलस क्रिस्टाकिसले तीन परिवर्तन हुने बताएका छन्। पहिलो, मानिसहरुमाथिको सामूहिक खतराले राज्यको शक्तिलाई बढाउँछ। दोस्रो, दैनिक जीवन पुरै उल्टोपाल्टो हुँदा मानिसहरुमा जीवनको अर्थ खोज्ने प्रवृत्ति बढ्छ। र, तेस्रो, प्रकोप फैलिँदा मृत्युको निकटताले मानिसहरुमा सावधानी बढ्छ तर खतरा टरेपछि उनीहरुमा दुस्साहस पैदा हुन्छ। यी तीनै परिवर्तनले समाजलाई आआफ्नै तरिकाले प्रभावित पार्नेछन्। 

लकडाउनका बेला धनी मुलुकका नागरिक विदेशबाट घर फर्किन खोज्दा राज्यले उनीहरुलाई रोक्यो। महामारीको अवधिमा सूचनाको प्रमुख स्रोत सरकार बन्यो। त्यतिमात्र होइन, नगदको स्रोत, नियम निर्माता र अन्ततः खोप दाता पनि सरकार नै भयो। सम्पन्न मुलुकमा महामारीका कारण उत्पादनमा जति घाटा लागेको थियो, त्यसको करिब ९० प्रतिशत हिस्सा सरकारले बेहोरेको देखिन्छ। जुन मुलुकका राजनीतिज्ञले नागरिक स्वतन्त्रतामा बढी बन्धन कसे, आश्चर्यजनक रुपमा तिनैले नागरिकको ताली पाए। 

लकडाउन उचित थियो कि थिएन भन्ने विषयमा चर्को प्राज्ञिक बहस चलिरहेको छ। तर, महामारीमा हस्तक्षेपकारी सरकारको विरासत स्थापित भइसकेको छ। बाइडेन प्रशासनको खर्चको योजनालाई हेर्दा पनि यो स्पष्ट हुन्छ। असमानता, धीमा आर्थिक वृद्धि, आपूर्ति शृंखलाको सुरक्षाजस्ता जुनसुकै समस्या किन नहुन्, यसको उचित समाधान भनेको सक्रिय सरकार नै हो भन्ने भएको छ। 

जीवनको अर्थ खोज्ने प्रवृत्ति पनि बढेको छ। यसले दक्षिणपन्थ र वामपन्थ दुवैतिर पहिचानको राजनीतिलाई बढावा दिएको छ। इटली र नेदरल्यान्ड्सका करिब २० प्रतिशत मानिसले महामारीका कारण आफ्नो मुलुक पहिलेभन्दा बढी धार्मिक बनेको बताएका छन्। स्पेन र क्यानडामा करिब ४० प्रतिशतले महामारीपछि पारिवारिक सम्बन्ध बलियो भएको बताएका छन्। 

फुर्सदको समयमा पनि महामारीको प्रभाव परेको छ। मानिसहरुले पहिलेको तुलनामा १५ प्रतिशत बढी फुर्सदिलो समय आफूसँग भएको बताएका छन्। बेलायतका महिलाहरुले पढ्ने समय ५० प्रतिशतले बढेको छ। पहिलो उपन्यास लेख्नेहरुको संख्या बढेको छ, जसका कारण साहित्यिक एजेन्टहरुलाई भ्याइनभ्याइ छ। कतिपय परिवर्तन उल्टिनेछन्। मिडिया कम्पनीहरु दर्शक र पाठक घट्ने भयबाट आक्रान्त छन्। 

तर, केही परिवर्तन भने कायम रहनेछन्। उदाहरणका लागि महामारीअघिको जस्तो कठिन श्रम नगर्ने निर्णय मानिसहरुले लिन सक्छन्। उच्च माग भएको श्रम बजारका कारण उनीहरुलाई सहज हुनसक्छ। बेलायतमा २०२० मा मेडिकल स्कुलमा आवेदन दिनेको संख्या २१ प्रतिशतले वृद्धि भएको छ। अमेरिकामा व्यवसाय सिर्जनाको दर २००४ यताकै सबैभन्दा उच्च छ। घरबाट काम गर्नेमध्ये एकतिहाइ अमेरिकी हप्तामा पाँच दिन मात्र काम गर्न चाहन्छन्। केही हामिकहरुले कर्मचारीलाई अफिस आउने आदेश दिइरहेका छन् भने कोही उनीहरुलाई आकर्षित गर्ने उपायको खोजीमा छन्। 

जोखिम मोल्ने जाँगर फर्केको छ कि छैन, अझै स्पष्ट छैन। सिद्धान्ततः ज्यानलाई खतरामा पार्ने रोगबाट बाँच्नुभयो भने तपाईं आफूलाई भाग्यमानी ठान्न थाल्नुहुन्छ। एक शताब्दीअघि स्पेनिस फ्लु समाप्त भएपछिका वर्षहरुमा हरेक क्षेत्रमा उत्साह जागेको देखिएको थियो। त्यसबेला यौनप्रतिको धारणादेखि कलासम्ममा परिवर्तन आएको थियो। यस पटक अन्तरिक्ष यात्रादेखि, जिनेटिक इन्जिनियरिङ, कृत्रिम बौद्धिकतासम्ममा परिवर्तन आउन सक्छन्।

कोरोना भाइरस आउनुअघि नै डिजिटल क्रान्ति, जलवायु परिवर्तन र चीनको उदयले दोस्रो विश्वयुद्धपछिको पश्चिमा नेतृत्वको विश्व व्यवस्था अन्त्य गर्ने संकेत दिइसकेको थियो। महामारीले यो परिवर्तनलाई अझै तीव्र बनाउनेछ।

 

असार २१, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .