हिन्दू धर्मावलम्बीहरुको पर्व श्रीकृष्ण जन्माष्टमी मनाइएको छ। काठमाडौं उपत्यकालगायत देशैभरका कृष्ण मन्दिरमा दर्शनार्थीहरु पुगेर पूजाआजा गरी यो पर्व मनाइएको हो।
विशेषगरी पाटनकाे कृष्ण मन्दिरमा भक्तजनकाे भीड लागेकाे छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिन्छ। भगवान विष्णुको आठौँ अवतारको रुपमा भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व हिन्दू धर्मावलम्बीहरुले परम्परागत रुपमा मनाउँदै आएका छन्।
मानिसहरुले आज भगवान श्रीकृष्णको जन्म भएकाे दिनका रूपमा याे पर्व श्रद्धाभक्तिपूर्वक मनाउँछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको किंवदन्ती रहिआएको छ। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनले व्यक्त गरेको श्रीमद्भगवद् गीतालाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।
पुराणहरुका अनुसार देवकी तथा वासुदेवका आठौँ सन्तानको रुपमा कृष्णको जन्म भएको थियो। यो पर्व नेपाल, भारतलगायत हिन्दूबहुल क्षेत्रमा मनाइने गरिन्छ।

प्रतिक्रिया