फोटोफिचर


सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)


सरोज शाही
मंसिर ८, २०८२ सोमबार १६:५५, काठमाडौँ

सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्।

सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल तथा पूर्व सांसद, मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्नेसम्मका माग अघि सारेका छन्।

जेनजी समूहले राजनीतिक दलहरूको आर्थिक गतिविधि, जनप्रतिनिधिहरूको सम्पत्ति र सरकारी संयन्त्रको पारदर्शिताबारे तत्काल कदम चाल्न सरकारलाई चेतावनीसमेत दिएको छ।

अभियन्ता सुशील बुढाथोकीका अनुसार प्रधानमन्त्री कार्की र गृहमन्त्री दुवैको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क गर्न नसकिएको बताइएको छ।

उनले भने, ‘हामी बिहानैदेखि फोन गरिरहेका थियौँ, तर फोन उठेन। प्रधानमन्त्री र गृहमन्त्रीज्यूको फोन नै अफ भएपछि कसरी भेट्ने? यसरी टाढा बस्दा राम्रो सन्देश जाँदैन।’

बुढाथोकीले जेनजी अभियान सबै समूह एकताबद्ध भएर आएको भए पनि प्रधानमन्त्रीले भेट्ने इच्छाशक्ति नदेखाएको आरोप लगाउँदै थप भने, ‘सबैलाई समेटेर एकताबद्ध भएर आएका जेनजीलाई भेट्न नदिएको निर्णय निकै नराम्रो हो। प्रधानमन्त्री भएकाले यस्ता आवाज सुन्ने शक्ति उहाँमा हुनुपर्छ।’

ढुंगाना समूहले सुशासनका मुद्दामा असफल भएको भन्दै प्रधानमन्त्री कार्कीलाई राजीनामा मागसहितको ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो। तर सम्पर्क नै हुन नसकेपछि उनीहरूले ज्ञापन पत्र सिंहदरबारको भित्तामै टाँसेर फर्कनु परेको जेनजी अभियानको दाबी छ।

अभियन्ता बुढाथोकीले प्रधानमन्त्रीले सम्पर्कमा आउन नचाहनुको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने माग गर्दै सरकारको व्यवहारले आन्दोलनलाई थप उग्र बनाउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad