विचार


युरेनियम बेचेर हामी धनी हुन सक्छौं?

युरेनियम बेचेर हामी धनी हुन सक्छौं?

वकिल बम र बसन्त गिरी
चैत ८, २०७७ आइतबार १४:५८,

नेपालमा प्रशस्त मात्रामा युरेनियमको भण्डारण रहेको भन्ने हल्ला बेलाबेला हुने गर्छ। गत महिना पनि करिब ३ किलोग्राम युरेनियम किनबेच हुने क्रममा प्रहरीले बरामद गरेको समाचार आयो। युरेनियम बेचेर धनी बन्न सकिने र अन्य केही मुलुकले नेपालको युरेनियम कब्जा गर्न अनेक तिकडम गरिराखेको भन्ने खालका हल्ला पनि चलिरहन्छन्।

माटो, पानी र हावामा पाइन्छ युरेनियम
प्रकृतिमा ९४ प्रकारका रासायनिक तत्त्व छन्। उदाहरणका लागि हामीले सजिलै बुझ्ने हाइड्रोजन, अक्सिजन, कार्बन, सुन, चाँदी आदि। तीमध्ये एक हो– युरेनियम। हाइड्रोजनको पारमाणविक संख्या १ हो भने युरेनियमको ९२। हाइड्रोजन एकदमै कम वजन भएको हल्का तत्त्व हो, युरेनियम गह्रौं धातु। यी नम्बरले तत्त्वको परमाणुमा कतिवटा इलेक्ट्रोन वा प्रोटोन छन् भन्ने बुझाउँछन्। प्रत्येक रासायनिक तत्त्वका आआफ्नै परिचय दिने यस्ता पारमाणविक संख्या तिनका विशेषता हुन्। ब्रह्माण्ड निर्माण हुने क्रममा युरेनियम बनेको मानिन्छ। त्यसैले यो तत्त्व पृथ्वीमा खासगरी भित्री भागमा अत्यधिक मात्रामा पाइन्छ। सुन्दा अचम्म लाग्ला, युरेनियम पृथ्वीको भित्री भागमा सुन र चाँदीभन्दा कैयौं गुणा बढी पाइन्छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार संसारका विभिन्न ठाउँमा खासगरी विभिन्न किसिमका चट्टानमा धेरैजसो युरेनियम पाइन्छन्। अत्यन्तै सूक्ष्म मात्रामा माटो, पानी र हावामा पनि पाइन्छ।

पारमाणविक संख्या ९२ भए पनि पारमाणविक भार फरक-फरक भएका युरेनियम पाइन्छन्। तीमध्ये दुइटा प्रमुख छन्। करिब ९९ प्रतिशतभन्दा बढी मात्रामा पाइने २३८ भार भएको २३८-यू र १ प्रतिशतभन्दा कम पाइने २३५ भार भएको २३५-यू हुन्। यी भनेका एउटै तत्त्वका फरक-फरक स्वरूप हुन्। यिनीहरूका कतिपय गुण फरक-फरक हुन्छन् र तिनलाई एउटै रासायनिक तत्त्वका आइसोटोप भनिन्छ। यसको कारण हो- यिनीहरूको परमाणुमा पाइने न्युट्रोनको संख्या फरक-फरक हुनु। युरेनियम रेडियोधर्म तत्त्व हो। रेडियोधर्मी पदार्थले नियमित विकिरण निकाल्छन् र कालान्तरमा नयाँ तत्त्वमा परिवर्तन हुन्छन्। युरेनियम रेडियोधर्मी भए पनि अत्यन्तै ढिला क्षय हुने भएकाले ब्रह्माण्ड निर्माण हुँदा बने पनि अहिलेसम्म पनि उत्तिकै मात्रामा पाइन्छ। युरेनियम क्षय हुँदा अल्फा पार्टिकल भन्ने विकिरण नियमित निकाल्छ। र, यस क्रममा बिस्तारै अन्य रासायनिक तत्त्व जस्तै : थोरियममा परिवर्तन हुन्छ।

युरेनियम आणविक ऊर्जाको स्रोत हो। जुन, बम बनाउनदेखि बिजुली निकाल्नसम्म प्रयोग हुन्छ। तर धेरै मात्रामा पाइने २३८-यू आफैंमा आणविक ऊर्जा निकाल्ने तत्त्व होइन। यसलाई प्रशोधन गरेर केही प्रक्रियापछि ऊर्जा निकाल्ने काममा उपयोग गरिन्छ। आणविक ऊर्जा निकाल्न २३५-यू चाहिन्छ। जसका लागि मिश्रणबाट २३८-यू छुट्ट्याउनुपर्छ। यसरी प्रशोधन गर्न प्राविधिक रूपमा त्यति सजिलो छैन।

युरेनियमको खनिज पदार्थ प्रशोधन कसैले व्यक्तिगत तवरमा सामान्य प्रयोगशालामा गर्न सम्भव हुँदैन। युरेनियम विभिन्न स्वास्थ्यसम्बन्धी र वैज्ञानिक उपकरणमा पनि उपयोग हुन्छ। अति हानिकारक विकिरण रोक्न ढाल बनाउन पनि यो प्रयोग गरिन्छ।

मिर्गौला खराब, क्यान्सर हुन सक्छ
युरेनियमले २ तरिकाले हाम्रो स्वास्थ्यलाई असर गर्न सक्छ। एक– यो पदार्थ क्षयीकरण हुँदा निस्किने विकिरणमा एक्स्पोज हुनाले। दुई– युरेनियमसम्बन्धी पदार्थ श्वास लिइयो वा खाइयो भने।

विकिरण भनेको ऊर्जाको एक रूप हो। उच्च गतिका कण वा विद्युत् चुम्बकीय लहरका रूपमा विकिरण हुन्छन्। अल्फा, बेटा, परावैजनी, एक्सरे, गामारे आदिजस्ता विकिरण हानिकारक हुन्छन्। रेडियो, माइक्रो, इन्फ़्रारेड, भिजिबल तरंगजस्ता विकिरण खासै हानिकारक हुँदैनन्। यसै पनि हामी विभिन्न किसिमका विकिरणमा एक्स्पोज भइरहेका हुन्छौं। जस्तै : सूर्यको विकिरण। युरेनियम प्राकृतिक रूपमै पाइने भएकाले हामी यसबाट निस्किने विकिरणमा थोरै मात्रामा भए पनि एक्सपोज भएकै हुन्छौं। युरेनियमको खानीमै वा नजिकै नहुँदासम्म खासै हानिकारक तहसम्म एक्सपोज हुँदैन। २३८ यूको हाफ लाइफ एकदमै धेरै (करोडौं वर्ष) हुने भएकाले यसले थोरै मात्रै अल्फा पार्टिकल्स निकाल्छ। त्यसैले शुद्ध नगरिएको युरेनियमबाट खतरा कमै हुन्छ। विभिन्न किसिमका विकिरणमध्ये पनि अल्फा आफैं पनि कम ऊर्जा हुने विकिरण भएकाले यसले गर्ने असर कम हुन्छ।

मर्करी, आर्सेनिक र लेडजस्तै युरेनियम पनि आफैंमा विषालु तत्त्व हो। युरेनियम पदार्थ श्वास लियौं वा खायौं भने मिर्गाैला खराब हुन सक्छ। यसले निकाल्ने अल्फा कण धेरै एक्सपोज भयो भने अंगहरू इरिटेट र क्यान्सर गराउने पनि हुन सक्छ। कति असर गर्छ भन्ने कुरा कति मात्रा र समय एक्सपोज हुन्छ भन्नेमा निर्भर हुन्छ।

नास्टले किन पत्ता लगाउन सकेन युरेनियमको मात्रा?
प्रारम्भिक जानकारी लिन युरेनियमबाट निस्किने विकिरण नाप्न सकिन्छ। यसका लागि रेडिएसन डोसिमिटर भन्ने उपकरण प्रयोग गरिन्छ। जसबाट आयोनाइजिङ प्रकारको विकिरण मात्रै नाप्न सकिन्छ। यो विधिले विकिरिण छ कि छैन र कति छ भन्ने नाप्छ। सामान्यभन्दा बढी विकिरण देखियो भने नजिकै रेडिओधर्म पदार्थ छ भन्ने बुझिन्छ। तर यो विधिले विकिरण कुन प्रकारको हो र त्यसको स्रोत कुन पदार्थ हो भन्ने थाहा नदिन सक्छ।

ठ्याक्कै कुन विकिरण हो भनेर थाहा पाउन विशेष खालको उपकरण आवश्यक हुन्छ। यस्तो विधिलाई अल्फा वा बेटा स्पेट्रोमेट्री भनिन्छ। तर जाँचिने पदार्थबाट निस्किएको विकिरणको ऊर्जाअनुसार विकिरणको स्रोत पत्ता लगाइन्छ। रासायनिक प्रतिक्रिया गराएर हुने विश्लेषण विधिबाट पनि कुन पदार्थ हो भन्ने जाँच गर्न सकिन्छ। यति गर्दा पनि युरेनियमको कुनचाहिँ आइसोटोप हो भन्ने थाहा पाउन सकिन्न। आणविक ऊर्जा दिने २३५-यू हो कि २३८-यू भनेर थाहा पाउन विशिष्ट प्रविधि चाहिन्छ।

२३८-यू र २३५-यूबीचको फरक भनेको परमाणुमा हुने न्युट्रोनको संख्या हो। ठ्याक्कै कुन हो भनेर त्यसको भार पत्ता लगाउन मास स्पेक्ट्रोमेट्री भन्ने प्रविधि चाहिन्छ। कति उपकरणले चट्टानमा सीधै कुन किसिमको युरेनियम छ भनेर पत्ता लगाउन सक्छन्। सामान्यतया मास स्पेक्ट्रोमेट्री जोडिएका आईसीपी एमएस भन्ने उपकरण प्रयोग गरिन्छ।

गत महिना प्रहरीले शंकास्पद युरेनियम बरामद गरेपछि नास्टमा परीक्षण गर्न पठायो। नास्टले ठ्याक्कै कुन प्रविधि प्रयोग गरेर जाँच गरेको हो भन्ने त सार्वजनिक भएको छैन। तर सञ्चारमाध्यममा आएका कुरा विश्लेषण गर्दा सामान्यभन्दा धेरै विकिरण भेटिएको भन्ने छ। यसरी नापिएको विकिरणले बरामद वस्तुमा कुन पदार्थ कति मात्रामा छ भन्न गाह्रो हुन्छ। किनभने उस्तै विकिरण उत्पादन गर्ने धेरै थरी पदार्थ वा तत्त्व हुन सक्छन्।

डोसिमिटरले २३८-यू निश्चित गर्न सकिन्न। र, मात्रा पनि भन्न सकिन्न। तर नास्टले त्यो पदार्थमा कुन युरेनियम कति मात्रामा छ भनेर पत्ता लगाउन नसक्नाको कारण आईसीपी एमएसजस्तो उपकरण नहुनु हो। नेपालका अन्य केही प्रयोगशालामा यो उपकरण रहेको बुझिएको छ, तर तिनले युरेनियम जाँच गरेका छैनन् कि?

युरेनियम बेचेर देश समृद्ध होला?
आणविक ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनियम महँगो छ। तर यसको प्रयोग विशेष सुरक्षासहितको भट्टीमा मात्रै हुने हुनाले बजारमा अन्य वस्तु किनबेचजस्तो युरेनियम हुँदैन। सरकार-सरकारबीच मात्रै वा संलग्नतामा मात्रै युरेनियम किनबेच हुने गरेको पाइन्छ। यसरी किनबेच हुँदा पनि उच्च निगरानीमा मात्रै हुने गरेको छ। त्यसैले कुनै व्यक्तिले युरेनियमको खनिज ल्याउन र बिक्रीका लागि बजार खोज्दै हिँड्न सक्ने भन्ने खबर अपत्यारिलो छ। युरेनियमको माग विश्वमै बढी भए पनि यो बजारमा किनबेच गर्न सजिलो छैन।

युरेनियम रेडिओधर्म मात्रै नभएर विषालु पनि छ। त्यसैले उत्खनन, इनरिचमेन्टम, आयात र निर्यात गर्न नीति/नियम अत्यन्तै कडा छन्। नेपालमा यस्ता पदार्थ ओसारपसार, बेचबिखन प्रतिबन्धित छ। युरेनियम हुँदैमा त्यो आर्थिक रूपले उत्खनन र बेचबिखनका लागि फाइदाजनक नहुन सक्छ। कति मात्रामा छ, त्यसमा भरपर्छ। उत्खनन सँगसँगै प्रशोधन गर्ने संयन्त्र चाहिन्छ।

नेपालका केही ठाउँमा युरेनियमको खानी रहेको बताइन्छ। काठमाडौंको शिवपुरी, मकवानपुरका तीनभंगालो, चण्डीखोला र चिरुवाखोला, सिन्धुलीको बुकाखोला, चितवन, बैतडी, दार्चुलाका केही ठाउँमा पनि युरेनियमको खानी रहेको बताइन्छ। केही वर्षअघि खानी विभागले माथिल्लो मुस्ताङमा ठूलो मात्रामा युरेनियम रहेको पत्ता लगाएको समाचार आएको थियो। तर कति मात्रा, कस्तो प्रकार, व्यावसायिक रूपले निकाल्न मिल्ने/नमिल्ने, सर्वाजनिक रूपमा थाहा हुन सकेको छैन। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि यस्तै रिपोर्ट दिएको पाइन्छ।

खानी विभागका अनुसार मुस्ताङमा १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको ठाउँमा युरेनियम भएको मानिएको छ। खानीबाट युरेनियम उत्खनन गर्ने, यसको गुणस्तर मापन गर्ने काम प्राविधिक रूपमा अत्यन्तै चुनौतीपूर्ण हुन्छ। अन्य देशको सहयोग नलिई नेपालले अहिलेको स्थितिमा यो काम गर्न सक्दैन। यो अत्यन्तै खर्चिलो पनि हुन्छ। व्यावसायिक तरिकाले फाइदाजनक हुन्छ भन्ने निश्चित नहुँदासम्म युरेनियम बेचेर धनी हुने सपना सपनैमा सीमित हुने नै भयो। अहिलेसम्म योसम्बन्धी काम गर्न खानी विभागले कुनै कम्पनीलाई अनुमति दिएको छैन। नेपालमा साँच्चिकै युरेनियमको खानी रहेको र व्यावसायिक तवरले निकाल्न मिल्ने हो भने राम्रै आर्थिक आर्जन हुन सक्छ। तर यससम्बन्धी पूर्वाधार, प्रविधि, नियम/कानुन जरुरी हुन्छ। यसमा पनि सबैभन्दा महत्वपूर्ण भूमिका अन्तर्राष्ट्रिय भूराजनीतिको हुन्छ।

(गिरी काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानका एनालिटिकल रसायनशास्त्री हुन् भने बम लुजियाना स्टेट विश्वविद्यालय अमेरिकाका भौगर्भिक रसायनशास्त्री हुन्।) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad