विचार


महामारीपछि संसारलाई डोर्‍याउने पाँच शक्ति

महामारीपछि संसारलाई डोर्‍याउने पाँच शक्ति

मार्टिन वुल्फ
पुस ३, २०७७ शुक्रबार १४:५४,

कोभिड–१९ महामारीले संसारको भविष्यतर्फको यात्रालाई तीव्र बनाएको छ। यो आलेखमा हामी त्यस्ता पाँच शक्तिबारे चर्चा गर्दैछौँ, जसले कोभिड–१९ सुरु हुनुअघि पनि विश्वलाई प्रभावित पारेका थिए। महामारीमा ती झनै सक्रिय भए र सन् २०२५ सम्म र त्यसपछि पनि तिनले विश्वलाई प्रभावित पारिरहने छन्।

पहिलो शक्ति हो– प्रविधि। कम्प्युटिङ र सञ्चार प्रविधिको विकासले अर्थतन्त्र र मानिसको जीवनको आकार तय गर्ने क्रम जारी छ।। अहिले ब्रोडब्यान्ड इन्टरनेट र जुमजस्ता भिडियो कन्फ्रेन्सिङ सफ्टवेयरका कारण ठूलो संख्यामा मानिसहरुले घरबाटै काम गर्न सम्भव भएको छ।

सन् २०२५ सम्ममा महामारीका क्रममा आएका परिवर्तनमध्ये केही पूर्वावस्थामै फर्किनेछन्। तर, सबै परिवर्तन उल्टिने छैन। मानिसहरु घरबाटै काम गर्न सक्षम हुनेछन्। उनीहरुले त्यसको अनुमति पनि पाउनेछन्। र, यो कुरा आफ्नै मुलुकमा काम गर्नेहरुका लागि मात्र लागू हुनेछैन। आफ्नै देशमा बसेर मानिसले विदेशी कम्पनीमा काम गर्न सक्नेछन्– सामान्यतयाः कम तलबमा। यसको नतिजास्वरुप ‘भर्चुअल आप्रवासन’ मा ठूलो वृद्धि हुनेछ। जसले ठूलो प्रभाव सिर्जना गर्नेछ।

दोस्रो शक्ति हो– असमानता। धेरै कमाउने थुप्रै कर्मचारी घरबाटै काम गर्न सक्षम भएका छन्। तर, कम आय भएकाहरुले त्यसरी काम गर्न सकेनन्। पश्चिमा मुलुकहरुमा महामारीका कारण सबैभन्दा नराम्ररी प्रभावित भएकामध्ये धेरैजसो जातीय अल्पसंख्यक समुदायका छन्। यहीबेला पहिलेदेखि सम्पन्न मानिसहरु भने थप धनी भएका छन्।

तसर्थ महामारीका समयमा बढेको असमानता सन् २०२५ सम्ममा कम हुने सम्भावना छैन। जेजस्ता चीजले असमानता बढाए, ती अत्यन्त शक्तिशाली छन्। बढीमा यो स्थितिमा थोरै सुधार होला कि भन्ने आशा गर्न सकिन्छ। बढ्दो असमानताको प्रभावस्वरुप हालै चर्चामा रहेको पपुलिस्ट राजनीति सन् २०२५ सम्म पनि हावी रहने अनुमान गर्न सकिन्छ।

तेस्रो शक्ति हो– ऋणको भारी। औसत ऋण गएको चार दशकमा विश्वका लगभग सबै क्षेत्रमा बढेको छ। जबजब संकट उत्पन्न भएर निजी क्षेत्र ऋण लिन सक्दैन, तब राज्यले तिनको बिँडो थाम्दै आएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक संकटमा त्यही भएको थियो। अहिले महामारीमा पनि त्यही भइरहेछ।

निजी र सार्वजनिक क्षेत्रले ऋण लिने क्रममा महामारीले नाटकीय वृद्धि गरिदिएको छ। इन्स्टिच्युट फर इन्टरनेसनल फाइनान्सका अनुसार सन् २०१९ को अन्त्यमा जीडीपीको तुलनामा विश्वव्यापी ऋण ३२१ प्रतिशतले बढी थियो। त्यो जुन २०१९ मा बढेर ३६२ प्रतिशत पुगेको छ। यसअघि शान्तिकालमा ऋणको मात्रा यसरी एकै पटक कहिल्यै बढेको थिएन।

भाग्यवश, अहिले सरकारी ऋण अत्यन्त सस्तो छ। उच्च आय भएका मुलुकमा ब्याजदर नाममात्रको छ। तर, यो ऋणको भारीले थिचेर निजी क्षेत्रको केही हिस्सा वर्षौँसम्म थला पर्न सक्छ।

चौथो शक्ति हो– एकदेशीकरण अर्थात् भूमण्डलीकरणबाट फिर्ती। यसको अर्थ भविष्यमा अन्तर्राष्ट्रिय कारोबार अन्त्य हुन्छ भन्ने होइन। तर, त्यस्तो कारोबार बढी क्षेत्रीय र बढी भर्चुअल हुने सम्भावना छ।

सन् २००८ को आर्थिक संकटअघिको दशकमा विश्वको जीडीपीभन्दा व्यापार तीव्र गतिमा बढिरहेको थियो। तर, आर्थिक संकटसँगै जीडीपी र व्यापारको वृद्धिदर उस्तैउस्तै हुन पुग्यो। अवसरको अभाव, विश्वव्यापी व्यापारमा उदारीकरणको अभाव र बढ्दो संरक्षणवाद यो मन्दीका कारक थिए। फलस्वरुप आपूर्ति शृंखला स्वदेशमै कायम गर्ने वा कमसेकम त्यसलाई चीनबाट बाहिर निकाल्ने इच्छा धेरैजसो मुलुकमा देखिएको छ।

यो संकटले क्षेत्रीयतावादलाई पनि बढावा दिएको छ– खासगरी एसियामा। पछिल्लो उल्लेखनीय उदाहरण हो– रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप सम्झौता। यो सम्झौताले आसियानका १० सदस्य र अस्ट्रेलिया, चीन, जापान, न्युजिल्यान्ड तथा दक्षिण कोरियालाई एकै ठाउँमा ल्याएको छ।

पाँचौँ शक्ति हो– राजनीतिक तनाव। यसको एउटा आयाम हो– उदार लोकतन्त्रको गिर्दो साख, थुप्रै मुलुकमा लोकप्रियतावादी अधिनायकवादको उदय र चीनको नोकरशाही निरंकुशताको बढ्दो शक्ति। त्यस्तै यसको अर्को आयाम हो– पश्चिमा मुलुक र खासगरी अमेरिकामा पपुलिजमको उदय। जोसेफ बाइडेनको विजयले पपुलिजमको पराजयको प्रतिनिधित्व त गर्छ नै तर, सँगसँगै डोनाल्ड ट्रम्पले पाएको अत्यधिक मतले के स्पष्ट पार्छ भने पपुलिजम समाप्त भएको छैन।

यसमध्ये पनि सायद सबैभन्दा महत्वपूर्ण भूराजनीतिक घटना भनेको अमेरिका र चीनबीच बढ्दो तनाव हो। यो तनावले मुलुकहरुलाई अमेरिका र चीनमध्ये एक रोज्न बाध्य बनाउँदैछ। अमेरिका–चीन टक्करलाई पनि कोभिड–१९ ले बढाइदिएको छ। राष्ट्रपति ट्रम्पले महामारीको दोष चीनको थाप्लामा हाले। उनले चुनाव हारेपनि अमेरिकामा अझै थुप्रैले यही दृष्टिकोण राख्छन्।

यी सबका कारण सन् २०२५ मा विश्व कुन अवस्थामा पुग्ला? भाग्यले साथ दिए महामारीपछि अर्थतन्त्र लयमा फर्किनेछ। तर, धेरैजसो भने थप गरिब बन्नेछन्।

ठुल्ठूला चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक पर्नेछ। तर, त्यस्तो सहकार्य अस्तित्वमै रहनेछैन। सबैभन्दा ठूलो चुनौती यही हो। गतिशील विश्व अर्थतन्त्र र शान्ति कायम राख्नु तथा साझा मुद्दाहरुलाई व्यवस्थापन गर्नु कठिन हुनेछ। तर, पपुलिजमको युग र महाशक्तिबीचको द्वन्द्वले यसलाई झनै कठिन तुल्याउनेछ।

हामी उथलपुथलको युगमा छौँ। यो उथलपुथल महामारीले बढाएको हो, जन्माएको होइन। तसर्थ हामी त्यसका लागि तयार हुन जरुरी छ। डोनाल्ड ट्रम्पको पराजयले विश्वलाई सास फेर्ने ठाउँ दिएको छ। तर, निकै ठूला चुनौती बाँकी छन्। तीमध्ये धेरैजसो चुनौती सन् २०२५ सम्म पनि बाँकी नै रहनेछन्। सम्भवतः अहिलेभन्दा धेरै।

(फाइनान्सियल टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad