विचार


चीनमा यसरी शक्ति र सम्पत्ति सन्तुलन गर्दैछन् सी

चीनमा यसरी शक्ति र सम्पत्ति सन्तुलन गर्दैछन् सी

चाउ सिन
मंसिर ३०, २०७७ मंगलबार ११:२७,

पछिल्लो बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोले नयाँ पदावली प्रयोगमा ल्यायो– ‘माग पक्षको सुधार।’ सरकारी धारणाअनुसार चीनमा जारी ‘आपूर्ति पक्षको सुधार’ लाई सहयोग पुर्‍याउन र राष्ट्रिय अर्थतन्त्रलाई अझ राम्ररी सन्तुलित बनाउन यो विषयलाई अगाडि सारिएको हो।

यसबाट स्पष्ट हुन्छ, चीनमा अहिले विद्यमान समग्र मागको अवस्थाबाट बेइजिङ खुसी छैन। तर, मुख्य चिन्ता मागको आकारमा होइन, संरचनामा छ। यदि माग कम भएको विषयमा बेइजिङ चिन्तित हुन्थ्यो भने यसलाई सम्बोधन गर्ने तरिका उसँग थियो। अर्थशास्त्री जोन मेनार्ड किन्सले भनेजस्तै ‘मानिसहरुलाई पैसा दिएर खाल्डो खन्न लगाउने र त्यसपछि फेरि पुर्न लगाएर’ चीनले माग बढाउन सक्थ्यो।

वास्तवमा सन् २००८ को विश्वव्यापी आर्थिक संकट टार्न चीनले यही तरिका अपनाएको थियो। आर्थिक वृद्धिको गति बढाउने भन्दै चीनले सकेसम्म ठूलो प्याकेज ल्याएको थियो। जसका कारण अत्यधिक खर्च बढ्यो। चीनको स्थानीय सरकार र सरकारी कम्पनीहरुको नेतृत्वमा सो खर्च गरिएको थियो। यसको नतिजा भने मिश्रित मात्र देखियो। यसले आर्थिक गतिविधि बढायो र मन्दीलाई रोक्यो। तर, सँगसँगै सरकारी र कर्पोरेट बचतलाई विषाक्त तुल्यायो।

त्यसैले यो किन्सको तरिकालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले यस पटक उपयुक्त ठानेनन्।

बेइजिङ अहिले पुँजीवादमा रहेको सबैभन्दा प्रमुख समस्यालाई सम्बोधन गर्ने तरिका खोजिरहेको छ। त्यो समस्याको खुलासा सुरुमा कार्ल मार्क्सले गरेका थिए। जसलाई उनले ‘प्रचुरताको माझमा अभाव’ भनेर व्याख्या गरेका थिए। अर्थात् श्रमिक वर्गले गर्ने अपर्याप्त उपभोग।

यसरी जनसंख्याको ठूलो हिस्साले कम उपभोग गर्ने समस्याको संरचनात्मक र संस्थागत कारणको खोजी यतिबेला बेइजिङले गरिररहेको छ। ‘माग पक्ष’ मा उसले दिएको जोडले यसैको संकेत गर्छ।

यो समस्या समाधानका लागि बेइजिङले कस्तो नीति अगाडि सार्ला, अहिले नै भन्न सकिन्न। तर, यसको दिशा भने स्पष्ट छ। त्यो भनेको चीनले आफ्ना नागरिकलाई धनी बनाउन आवश्यक छ, धनी र गरिबबीचको खाडल साँघुरो बनाउन जरुरी छ र सामाजिक कल्याणकारी कार्यक्रमलाई विस्तार गर्न आवश्यक छ।

पोलिट्ब्युरो बैठकको अर्को निर्णयलाई पनि नियाल्न जरुरी छ। पोलिट्ब्युरोले ‘पुँजीको अव्यवस्थित विस्तार’ लाई समाप्त गर्ने बाचा गरेको छ। यसको अर्थ के हो भने पुँजीको विकास ज्यादा भइसकेको छ र त्यसलाई कटौती गर्नुपर्ने अवस्था आइसकेको छ।

तत्काल सुधार गर्नुपर्ने एउटा क्षेत्र घर–जग्गाको बजार हुनसक्छ।

अहिले चीनमा एउटा भनाइ चर्चित छ– सहरमा नयाँ फ्ल्याट किन्न ६ जनाको खल्ती रित्याउनुपर्छ। अर्थात् एक युवा जोडी र दुवैतर्फका अभिभावक सबैले आआफ्नो बचत पुरै खर्च गरेपछि मात्र बासको व्यवस्था हुन सक्छ।

राष्ट्रिय आयको वितरण कस्तो हुनुपर्छ भनेर जान्नु एउटा कुरा हो। तर, श्रम र पुँजी अनि जनता र राज्यबीच राष्ट्रिय आयलाई समानतामूलक ढंगले साँच्चै वितरण गर्नसक्नु अर्कै कुरा हो। यो समस्याको एकदमै राम्रो विश्लेषण मार्क्सले गरिसकेका छन्। तर, यसको समाधान कसरी गर्ने भनेर उनले कुनै खास उपाय दिएका छैनन्।

तसर्थ, सीले चीनमा निष्पक्ष र न्यायोचित समाज कसरी निर्माण गर्लान्, त्यो हेर्न प्रतीक्षा गर्नु उचित हुन्छ। खासगरी यो समयमा, जतिबेला शक्ति र सम्पत्ति झनझन् केन्द्रीकृत हुँदै गइरहेको छ।

(साउथ चाइना मर्निङ पोस्टबाट। पोस्टका पत्रकार चाउ सिन आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा कलम चलाउँछन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad