मलाई सम्झना भएसम्म मानिसहरुले भन्दै आएका छन्– चीन सफल हुन सक्दैन। कम्युनिजम कहीँ पनि सफल हुँदैन। अधिनायकवादले काम गर्दैन। चिनियाँहरु सिर्जनात्मक छैनन्। चीनमा खराब कर्जाको समस्या छ। मानिसहरु सम्पत्तिको मूल्य बढ्ने आशामा मात्रै किनबेच गरिरहेका छन्। तर, हामी हरेक दिन देखिरहेका छौँ– चीन असाधारण तरिकाले सफल हुँदै गएको छ।
चीन कोभिड १९ लाई नियन्त्रण गर्न सफल भएको छ। गएको वर्ष विश्वका लगभग सबै ठूला अर्थतन्त्र खुम्चिएको बेला चीनको अर्थतन्त्र करिब ५ प्रतिशतले वृद्धि भयो। अमेरिका र थुप्रै पश्चिमा मुलुकहरुभन्दा विपरीत चीन आफूले उपभोग गर्नेभन्दा बढी उत्पादन गर्छ। आयातभन्दा निर्यात बढी गर्छ। यो वर्ष विश्वको झन्डै आधा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) चीनमा हुँदैछ। चीनकै आन्ट ग्रुपले इतिहासकै ठूलो आईपीओमा ३० अर्ब डलर रकम उठाउँदैछ। अमेरिकी कम्पनी टेस्लाको सबैभन्दा बढी बिक्री भएको मोडेल ३ कार पूर्ण रुपमा चीनमा बन्ने भएको छ।
विश्व व्यवस्था परिवर्तन भइरहेको छ। तर, चीनविरुद्धको पूर्वाग्रहका कारण धेरैले यसलाई स्पष्टसँग देख्न सकेका छैनन्। चीनको यो प्रगति नौलो होइन। वास्तवमा सन् १८३९ देखि १९४९ सम्मको ‘अपमानको शताब्दी’ बाहेक इतिहासमा चीन विश्वको सबैभन्दा शक्तिशाली मुलुकमध्ये एक रहँदै आएको छ। गएको चार दशकमा उसको आर्थिक परिवर्तन पनि उल्लेखनीय छ। तपाईं चीनको ‘राज्य पुँजीवाद’ को जस्तोसुकै आलोचना गर्न सक्नुहुन्छ। तर, यसले काम गरेन भन्न चाहिँ सक्नुहुन्न। भलै तपाईं बेइजिङको काम गर्ने शैलीसँग असहमत हुन सक्नुहुन्छ।
३६ वर्षअघि पहिलो पटक चीनको भ्रमण गर्दा त्यहाँका उच्च अधिकारीहरुलाई म १० डलर पर्ने सानो क्यालकुलेटर उपहार दिने गर्थेँ। त्यसलाई उनीहरु कुनै चमत्कारी यन्त्र ठान्थे। अहिले आधुनिक प्रविधिमा चीन अमेरिकालाई टक्कर दिने अवस्थामा पुगिसकेको छ। सम्भवतः आगामी ५ वर्षमा चीनले अमेरिकालाई उछिन्नेछ।
सन् १९८४ यता चीनको प्रतिव्यक्ति आय ३० गुणाले बढेको छ। औसत आयु एक दशक लम्बिएको छ भने गरिबी दर झण्डै शून्यमा झरेको छ। सन् १९९० मा मैले चिनेका ७ युवाले चीनको पहिलो सेयर बजार खोलेका थिए। त्यसयता यो विश्वकै दोस्रो ठूलो सेयर बजार बनेको छ।
चीनको उदयको ठूलो असर राजनीति, आर्थिक र लगानीका क्षेत्रमा परेको छ। राजनीतिक रुपले चीन अहिले अमेरिकाका दुवै पार्टीको प्रमुख मुद्दा बनेको छ। अमेरिका चीनको उदय र विश्वव्यापी प्रभाव विस्तारबाट डराउँछ। चीनको अधिनायकवादी शासन शैली र सिन्झियाङका मुस्लिमजस्ता अल्पसंख्यकमाथि चीनले गर्ने व्यवहारको अमेरिकाले विरोध गर्छ। चीनले भने गडबडी हुन नदिन कडा कदम चाल्नुपरेको र यो विषय आफ्नो आन्तरिक मामिला भएको जवाफ दिँदै आएको छ। अमेरिका पनि मानवअधिकार उल्लंघनकर्ता भएको चीन औँल्याउँछ। ताइवान, हङकङ र अन्य क्षेत्रमा चीनको सार्वभौमसत्ताको विषय पनि विवादित छ। यी तनाव कसरी समाधान हुनेछन्, कसैलाई थाहा छैन। तर, तिनले हामी सबैलाई प्रभाव पार्नेछन्।
यतिबेला चीनको अर्थतन्त्रको आकार झण्डै अमेरिकाकै जत्रो छ। तर, त्यो अमेरिकाको तुलनामा तीव्र गतिमा वृद्धि भइरहेको छ। तसर्थ, समय चीनको पक्षमा छ। चीनमा शिक्षित जनसंख्या बढ्दो छ। विश्वभर विज्ञान र प्रविधि मूल विषय लिएर विश्वविद्यालय उत्तीर्ण हुनेमध्ये एक तिहाइ चीनमा छन्। यो संख्या अमेरिकाको भन्दा तीन गुणा बढी हो। आर्टिफिसियल इन्टेलिजेन्सको विकासका लागि आवश्यक पर्ने डेटा पनि चीनले नै बढी उत्पादन र संकलन गर्छ। पश्चिमा मुलुकका धेरैले यसलाई राज्यले गर्ने निगरानीका रुपमा हेर्छन्। तर, धेरै चिनियाँका लागि यसले सकारात्मक सामाजिक मान्यता स्थापित गर्छ र क्षमता बढाउँछ।
चीनको शक्तिलाई नियाल्ने एउटा तरिका के हो भने अमेरिकाको भन्दा चीनको जनसंख्या चार गुणा बढी छ। त्यसैले अबको करिब २५ वर्षमा चीनको प्रतिव्यक्ति आय अमेरिकाको भन्दा आधा मात्रै पुग्नेछ। तर, त्यसबेला चीनको अर्थतन्त्र अमेरिकाको दोब्बर बन्नेछ।
यसको प्रभाव लगानीका क्षेत्रमा पनि पर्नेछ। एक लगानीकर्ताका हिसाबले म कहाँ कति लगानी गर्ने भनेर निकै सोच्ने गर्छु। चीनको आधारभूत पक्ष निकै बलियो छ। चिनियाँ सम्पत्तिको मूल्य आकर्षक छ। तर, विश्वले चिनियाँ सेयर र ऋणपत्रको अवमूल्यन गरेको छ। त्यसैले फरेन पोर्टफोलियो होल्डिङ्समा यसको हिस्सा ३ प्रतिशतभन्दा कम छ। जबकि तटस्थ मूल्यांकन गर्ने हो भने त्यो १५ प्रतिशतको हाराहारी हुन्छ।
यो अन्तरको कारण पनि केही हदसम्म चीनविरुद्धको पूर्वाग्रह नै हो। तर, मलाई लाग्छ, यो परिवर्तन हुन लाग्दैछ। चिनियाँ बजार विदेशीहरुका लागि खुला हुँदैछ। अहिले विदेशीले चिनियाँ बजारको ६० प्रतिशत हिस्सामा पहुँच पाउँछन्। जुन, २०१५ मा एक प्रतिशत मात्र थियो। चीनमा पुँजी भित्रिने र मुद्रा बलियो हुने मेरो अपेक्षा छ।
निश्चय नै जुनसुकै मुलुकमा पनि गडबडी हुनसक्छ। बेइजिङ आर्थिक सुधारको अहिलेकै बाटोमा सधैँ नहिँड्न सक्छ। तथापि त्यस्तो हुने सम्भावना म निकै कम देख्छु। अमेरिका र चीनबीच प्रचण्ड प्रतिस्पर्धा चलिरहेको छ। कतिपयले यसलाई युद्धको संज्ञा दिएका छन्। अमेरिका र चीनबीच व्यापार, प्रविधि, भूराजनीति, पुँजीबजार र सैन्यशक्तिलाई लिएर विवाद छ। यो युद्ध कुन हदसम्म जान्छ र कुन मुलुकले जित्छ, कसैले भन्न सक्दैन। त्यसैले मैले यी दुवै मुलुकमा लगानी गरेको छु।
दीर्घकालीन रुपमा हेर्ने हो भने कुनै मुलुक सफल हुन्छ कि असफल भन्ने कुरा सार्वभौम सत्यले निर्धारण गर्छ। छोटकरीमा भन्नुपर्दा जब कुनै मुलुक उत्पादनशील हुन्छ, वित्तीय रुपमा बलियो हुन्छ, खर्च गर्न सक्नेभन्दा बढी कमाउँछ, दायित्वभन्दा सम्पत्ति छिटो वृद्धि गर्छ, तब त्यो साम्राज्यका रुपमा उदाउँछ। यस्तो तब हुन्छ, जब सो मुलुकका जनता शिक्षित हुन्छन्, मेहनत गर्छन् र सभ्य व्यवहार गर्छन्। यी विषयमा चीनलाई अमेरिकासँग दाँज्ने हो भने नतिजा स्पष्ट रुपमा चीनको पक्षमा छ।
पूर्वाग्रह र पक्षपातले सधैँ मानिसहरुलाई अवसर पहिचान गर्नबाट वञ्चित गर्छ। तसर्थ, तपाईं पनि चीनप्रति सन्देह गर्नुहुन्छ भने त्यस्तो आफ्नो मन सफा गर्न म तपाईंलाई सुझाउँछु। त्यस्तै, अमेरिकामा भइरहेका घटना र बदलिँदो दुनियाँमा अमेरिकाको स्थानका विषयमा पनि कुनै भ्रम नराख्न मेरो सुझाव छ। यी दुवै विषयमा सोचविचार गर्ने उपयुक्त समय अमेरिकी राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्या हुनसक्छ।
(फाइनान्सियल टाइम्सबाट। रे डालियो अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्रिजवाटर एसोसियट्सका सहअध्यक्ष हुन्)
Shares

प्रतिक्रिया