काठमाडौंमा कोरोना संक्रमण बढ्ने क्रममा छ। यहाँ संक्रमण अझै पिकमा पुगेकै छैन। अहिले दैनिक जति केस आइरहेको छ, अबको केही सातामा त्यो दोब्बर हुने देखिन्छ।
यसअघि छिटपुट देखिएको बेला राम्रो कट्याक्ट ट्रेसिङ भएको भए अवस्था यति भयावह बन्दैनथ्यो। तर, अब केही समय संक्रमण व्यापक रुपमा फैलिने देखिन्छ। र, अहिलेको ट्रेन्ड हेर्दा अबको २ महिना कोरोना नियन्त्रणमा आउने देखिँदैन।
काठमाडौंमा कोरोना संक्रमण दुई हप्तायता तीव्र गतिमा बढ्दै गएको देखिन्छ। साउन ७ गते लकडाउन खुलेपछि छिटपुट केस देखिन थालेको थियो। साउनको मध्यतिर दैनिक पाँच सयमुनि थियो। भदौ ११ पछि भने त्यो संख्या ५ सय माथिदेखि ७ सय हाराहारी रहन थाल्यो। अब हजार बढी भएको छ। अबको २ हप्तापछि २ हजार देखिन थाल्छ। त्यसपछि ३ हजार र ४ हजार गर्दै बढ्ने देखिन्छ।
काठमाडौँमा संक्रमण नियन्त्रण नहुनुको मुख्य कारण यहाँको ठूलो जनसंख्या हो। काठमाडौंको जनघनत्व र जनसंख्या हेर्दा कुल जनसंख्याको १५ प्रतिशत संक्रमित हुने सम्भावना छ। तर, आक्रामक रुपमा सरकारले योजना ल्यायो भने घट्न सक्छ।
कोरोना भित्रभित्र सबैतिर फैलिसकेको छ। परीक्षणमार्फत केस पहिचान गरी संक्रमितलाई आइसोलेट गर्नुपर्ने हो। तर, त्यसो हुन सकेन। संक्रमित सबैतिर हिँड्न थाले।
पर्सामा तीव्र रुपमा फैलिएको संक्रमण अहिले नियन्त्रण उन्मुख छ, अझै नियन्त्रण भइसकेको छैन। त्यहाँ जनसंख्या यहाँजस्तो ठूलो छैन। अझ ह्वात्तै सबैतिर संक्रमण फैलिएपछि मानिसहरु घरबाट पनि कम निस्किएका हुन्। निषेधाज्ञा पनि लगाइएको थियो।
काठमाडौंमा कोरोना संक्रमित बढेपछि यहाँ रहेका सरकारी र निजी अस्पतालका आईसीयू बेड भरिएका छन्। आईसीयू बेड नपाएपछि अक्सिजन नपाई बिरामी मर्ने खतरा बढिसक्यो। एम्बुलेन्स पाउन छोडिसक्यो। यस्तो बेलामा सरकारले २-२ हप्तामा आईसीयू बेडको संख्या बढाउँदै लग्नुपर्छ।
तर, त्यसो हुन सकेको छैन। आईसीयू बेड भरिनुको अर्थ कोरोना लागेकाहरु लक्षणसहितका छन्, उनीहरु पूर्णरुपमा निको हुन समय लाग्यो भन्ने हो।
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा दिनमा १५ जनालाई आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ। लक्षणसहितको संक्रमण बढ्ने भएपछि त्यसले अस्पतालमा रहेको आईसीयू बेड माग बढ्छ। दैनिक नयाँ केस हजार बढी थपिँदै छन्। यसैगरी बढ्दैगए भने दैनिक ६० जनालाई आईसीयू बेड चाहिन सक्छ। त्यो क्षमता अहिले काठमाडौंमा कुनै अस्पतालसँग पनि छैन। अबको मुख्य चुनौती त्यही हो।
अझै पर्याप्त परीक्षण हुनसकेको छैन। निको भएकाहरु आफैँ भएका हुन्। कोरोनाले साँच्चै बिरामी बनाएकाहरुलाई निको हुन कति समय लाग्छ, त्यो जान्न अस्पतालको बेडमा गएर हेर्नुपर्छ।
सुरक्षा घेरामा रहेको प्रधानमन्त्री निवास बालुवाटारमा रहेका थुप्रैलाई कोरोना हुनु भनेको यो समुदायस्तरमा छ र फैलिरहेको छ भन्ने हो। प्रधानमन्त्री वा त्यहाँ रहेका अन्यलाई भेट्न जाने संक्रमित भएकै व्यक्तिबाट बालुवाटार कोरोना छिरेको छ। जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा, वा लक्षण नभएका व्यक्ति जो संक्रमित थिए, उनीहरुको परीक्षण भएन, अनि तिनैबाट सरेको हुनसक्छ। समुदायस्तरमा पुगेपछि भाइरस कहाँबाट सर्छ यकिन भन्न गाह्रो छ।
त्यही भएर परीक्षण बढाउनुपर्छ भनेका हौं, परीक्षण नगरेपछि कति केस समुदायमै रहन्छ अनि अरुलाई सर्छ। नेपाली कांग्रेसका थुप्रै नेताहरुलाई कोरोना पोजिटिभ देखिएको मुख्य कारण नेताहरुको दौडधुप हो। अहिले कहिँकतै बसेर भेट गर्ने, छलफल गर्ने वा जिल्ला जिल्ला कुद्ने अवस्था छैन, किनकि कोरोना सबैतिर छ, विशेषगरी काठमाडौंमा सबैतिर फैलिएको छ।
हामीले डेढ महिनाअगाडि नै काठमाडौं हटस्पट बन्छ भनेकै हो, सरकारले त्यही बेला अस्पतालको भेन्टिलेटर, आईसीयू बेड र कोरोनाको छुट्टै उपचार गर्ने डेडिकेटेड अस्पताल बनाउन सक्थ्यो। तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालयले केही गरेन। अहिले कोरोना सबैतिर फैलियो। अब तत्काल केही गर्न सकिँदैन सबैको हातबाट फुत्किसक्यो। अब त आफू, आफ्नो परिवारलाई केही नहोस् अस्पतालमा बेड पाइयोस् भनेर कामना गरेर बस्नुपर्ने अवस्था आयो। कतिपय रुघाखोकी मात्र हो भनेर बसेका केस पनि छन्।
काठमाडौंमा संक्रमण दर १५ प्रतिशत छ। अहिलेसम्मको अवस्था हेर्दा काठमाडौंबाट कोरोना संक्रमणको तीव्रतामा ब्रेक हुन केही समय लाग्ने देखिन्छ। २ महिना त कम्तीमा लाग्छ, त्यसपछि विस्तारै घट्न थाल्छ। यसमा केही गरेन भने नघट्न पनि सक्छ।
दशैँतिहारमा केस झन् बढ्छ। मानिसहरुको चहलपहल बढ्ने, भीड पनि हुने भएकोले यो समयमा भाइरस फैलिन्छ। यही बेलामा नेपालभर संक्रमण पुग्छ। यस्तो अवस्थामा दशैँ, तिहारमा मानिसहरुलाई आवतजावत गर्न नदिने हो कि? पहिलेजसरी नै चाडबाड मनाउने सम्भावना छैन। जमघट नियन्त्रण गरिएन भने सुरुमा तराईमा केन्द्रित रहेको कोरोना पछि काठमाडौं भित्रियो, अब यहाँबाट पहाड र हिमाल पुग्ने खतरा छ। अहिले काठमाडौंमा त धान्न गाह्रो छ, नेपालभर फैलियो भने कसरी धान्ने? दशैँ त अर्काे वर्षपनि मनाउन सकिन्छ। त्यसैलेसंयमित भएर यात्रा नगरी चाडबाड मनाउँदा राम्रो हुन्छ।
अर्काे कुरा, सरकारले आईटीको प्रयोग नै गरेको छैन। सरकारसँग भएका तथ्यांक पनि एकै किसिमको छैन। मन्त्रालयका विभिन्न निकायको आआफ्ना तथ्यांक हुन्छन् तर, त्यसलाई सेयर गरेको पाइदैँन। सीसीएमसी, इपिडिमियोलीजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय लगायतलेसंकलन गरेपनि वास्तविक डेटा कसैसँग छैन।
डेटा (तथ्याङ्क) सेयरिङ गरे पो त्यसको विश्लेषण गरेर नीति बनाउन सकिन्छ। सरकार अन्यौलमा परेकै सही डेटा नभएर हो। सही डेटा नभएपछि सही सूचना आउँदैन।
काठमाडौंमा सबै जनसंख्याको पीसीआर गरेर साध्य लाग्दैन। त्यसका लागि सेरो प्रेभेलेन्स सर्वे गर्नुपर्छ। त्यो गरेकै छैन। पीसीआर पनि सस्तो सुलभ र सबैले सक्ने बनाए पो गर्न सकिन्छ। अहिले लिएको २ हजार पनि महंगो हो। अझ निजीले त त्यो शुल्कमा गर्न मानेका छैनन् भन्ने छ। पीसीआरलाई सस्तो र सबैले सक्ने बनाउनुपर्छ त्यसका थुप्रै तरिका, प्रविधि आएका छन्, त्यो कुरा सरकारी विज्ञ डाक्टरहरुलाई थाहा छ।
कोरोनाबाट जोगिन भ्रमको पछि लाग्नु भएन। कोरोना लागेर कोही मरेकै छैन भनेर हल्ला फैलाउने पनि छन्। यस्ताको पछि नलागौं। कोरोनालाई खेलाँची ठान्यौँ भने साँच्चै यसले समस्या पार्छ। सचेत र सजग हुनुपर्छ।
नेपालमा कोरोना कहिलेसम्म रहन्छ, यसै भन्न सकिँदैन। कि पूरै लत्तो छाडिदिनुपर्यो। होइन भने नियन्त्रण गर्ने, भएकालाई आइसोलेसन, आईसीयू र भेन्टिलेटरमा राख्न सक्ने क्षमता सरकारले बनाउनुपर्यो। सिकिस्त बिरामीलाई बचाउन सक्यौँ भने कोरोनालाई जितिन्छ। खोप आएपछि जुनदेशमा आएपनि तत्काल नेपाल ल्याउन तम्तयार भएर सरकार बस्नुपर्यो।
एक पटक कोरोना लागेको व्यक्तिलाई तीन महिनासम्म फेरि हुने सम्भावना न्यून रहेको अध्ययनले देखाएको छ। तथापि त्यो ग्यारेन्टी होइन। लागिसकेकाहरु कम्तीमा ३ महिना त फेरि लाग्दैन भनेर वर्किङ जोनमा खटिन सक्छन्। त्यो समयसम्म अरु लागेका पनि निको भइसक्छन्। सबै कुरा ध्वस्त बरबादै भयो भन्ने होइन। गम्भीर बिरामीको व्यवस्था गर्न सक्यौं भने र अरुले नियम पालना गरेर यसबाट बच्न सकिन्छ।
(संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीसँग नेपालखबरका लागि सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया