विचार


बेलायतको महाशक्ति हैसियत खोस्ने त्यो स्वेज संकट, अमेरिकाको यो इरान युद्ध

बेलायतको महाशक्ति हैसियत खोस्ने त्यो स्वेज संकट, अमेरिकाको यो इरान युद्ध

एलेक्स भन टन्जलम्यान
बैशाख ८, २०८३ मंगलबार १३:२६,

अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धको तुलना साम्राज्यको इतिहासकै सबैभन्दा लज्जाजनक एउटा घटनासँग हुन थालेको छ। त्यो घटना हो– स्वेज संकट।

सन् १९५६ मा बेलायत र फ्रान्सले इजरायलसँग मिलेर इजिप्टमाथि हमला गरे र स्वेज नहरको एक हिस्सा कब्जामा लिए। विश्वभर तेलको व्यापारलाई बचाउने बहानामा उनीहरूले यो आक्रमण गरेका थिए। तर, यसको अन्त्य लज्जास्पद पराजयका साथ भयो। र, त्यो घटनाले खुलासा गर्‍यो– बेलायत अब महाशक्ति रहेन।

हामीमध्ये थुप्रैलाई लाग्छ– हाम्रो जमानाका जति बेबकुफ नेता यसअघि कहिल्यै थिएनन्। पक्का पनि विगतका नेताहरू अलि बढी बुद्धिमान, अलि बढी इज्जतदार र आफ्नो भूमिकाको बारेमा अलि बढी सचेत थिए कि! उनीहरू अलि बढी भाग्यमानी पनि थिए किनकि तिनको गल्तीको पर्दाफास गर्ने सामाजिक सञ्जालका खाताहरू त्यसबेला थिएनन्। तथापि, आजकै नेताजस्तै उनीहरू पनि विवेकहीन, दुराग्रही र आलोचना सहनै नसक्ने खालका थिए।

स्वेज काण्ड पनि आजको युद्धजत्तिकै मूर्खतापूर्ण थियो। सायद त्यसभन्दा पनि बढी मूर्खतापूर्ण। किनकि बेलायतका तत्कालीन प्रधानमन्त्री एन्टोनी इडन अलिअलि अरबी भाषा पनि बोल्थे। र, अन्तर्राष्ट्रिय मामिलामा उनले दशकौँको अनुभव हासिल गरिसकेका थिए। त्यसैले उनले पहिल्यै कुरा बुझ्न सक्नुपर्थ्यो। जबकि अहिलेको इरान युद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथजस्ता पूर्व टेलिभिजन पर्सन्यालिटीहरूले हाँकिरहेका छन्।

कार्ल मार्क्सले लेखेका थिए– इतिहासले आफूलाई दोहोर्‍याउँछ, पहिले त्रासदी अनि पछि प्रहसनका रूपमा। तर, १९५६ को स्वेज र २०२६ को इरानलाई तुलना गर्दा यी दुवै प्रहसन हुन्।

स्वेज काण्डको षड्यन्त्र बेलायत र फ्रान्सले इजरायलसँग मिलेर रचेका थिए। जसअनुसार इजरायलले इजिप्टमाथि हमला गर्नेवाला थियो। बेलायत र फ्रान्सले सो हमलाको सार्वजनिक रूपमा निन्दा गर्ने र भित्रभित्र समर्थन गर्ने योजना थियो। त्यसपछि स्वेज नहरको ‘रक्षा गर्न’ भन्दै बेलायत र फ्रान्सले शान्ति सेनाको आवरणमा इजिप्टमा हस्तक्षेप गर्ने थिए। अनि उनीहरूले इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिरलाई सत्ताच्यूत गरी आफूले रुचाएको नेतालाई सत्तामा पुर्‍याउने थिए। तर, त्यो नेता को हुने भन्ने उनीहरूले तय गरिसकेका थिएनन्।

यो योजना बेबकुफी थियो। ३० अक्टोबर १९५६ मा यसले प्रहसनको रूप लियो, जुन दिन बेलायत र फ्रान्सले अल्टिमेटम दिए। उनीहरूले इजरायल र इजिप्टलाई लडाइँ रोक्न र स्वेज नहरबाट १० माइल पछाडि हट्न भने। जबकि त्यसबेला स्वेज नहरमा होइन, त्यसभन्दा ७५ देखि १२५ माइलको बीचमा रहेको सिनाइमा लडाइँ चलिरहेको थियो। प्रस्टै थियो– यो अल्टिमेटम तत्काल विकसित घटनाक्रमको प्रतिक्रियास्वरूप दिइएको थिएन। बरु, हुन आँटेको बेलायती–फ्रान्सेली आक्रमणलाई उचित ठहर्‍याउने योजनाबद्ध चाल थियो।

नासिरले तुरुन्तै नहर बन्द गरिदिए। जसले तेलको आपूर्ति ठप्प भयो। बेलायतको उद्धार गर्नबाट अन्तर्राष्ट्रिय मुद्रा कोषलाई अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले रोकिदिए। लेबर पार्टीका सांसद डेनिस हिलीले लेखे, ‘इतिहासमा एक मात्र सफल आर्थिक प्रतिबन्धको प्रयोग अमेरिकाले स्वेजमा गरेको थियो।’ सोभियत संघले लन्डन र पेरिसमा आणविक बम हान्ने चेतावनी दियो। इडन झुक्न बाध्य भए।

नेताहरूका बारेमा भाष्य निर्माण गर्दा हामी बकवास कुराको पनि अर्थ निकाल्ने गर्छौं। उदाहरणका लागि ट्रम्पले सामाजिक सञ्जालमा गालीगलौजसहित हर्मुज जलमार्ग खोल्न इरानीहरूलाई धम्की दिए। अन्यथा नर्कमा पुर्‍याइदिने उनको चेतावनी थियो। उनले जे भने, त्यसलाई नरम नतुल्याई संक्षेपमा भन्न कठिन छ। कतिपय इतिहासकार र पत्रकारहरू शक्तिशाली व्यक्तिसामु ससम्मान पेस हुन्छन् र घटना अथवा व्यवहारको वर्णन गर्दा तिनको कमजोरीलाई नजरअन्दाज गर्न पुग्छन्।

बेलायती प्रधानमन्त्री इडनको हकमा व्यक्तिगत सनक हाबी भएको थियो। नासिरले जुलाई १९५६ मा स्वेज नहर कम्पनीलाई राष्ट्रियकरण गरेका थिए। जसबाट युरोपमा हुने तेल आपूर्तिमा इजिप्टको नियन्त्रण हुन गएको भन्दै बेलायत र फ्रान्सले आक्रमणको तयारी गरेका थिए। तर, नासिरमाथि हमला गर्ने इडनको तयारी त्यसअघिकै थियो, उनी मात्र बहानाको खोजीमा थिए। 

फेब्रुअरी १९५५ मा नासिर र इडनबीच कायरोमा भेट भएको थियो। इडनले नासिरलाई रक्षा सम्झौताका विषयमा लेक्चर दिने कोसिस गरे। नासिरले लेक्चर लिन अस्वीकार गरे। जसका कारण इडनले होस गुमाए। नासिरलाई लागेको थियो– इडन आफूभन्दा निकै कान्छी श्रीमती क्लारिसालाई प्रभावित तुल्याउन खोज्दैछन्। तर, नासिरको उमेर कम थियो, उनी अत्यन्त सुन्दर पनि थिए र उनी इडनसँग अलिकति पनि डराउँदैनथिए। त्यसको २० महिनापछि नासिरलाई झुकाउन खोज्दा इडनले आफ्नै करिअर नष्ट गरे र विश्वमा बेलायतको हैसियत पनि ध्वस्त पारे।

बेलायतका एक सरकारी अधिकारीले बताएअनुसार त्यतिबेला इडन बेन्जर्डिन नामक नशालु औषधिको भरमा बाँचिरहेका थिए। तैपनि क्याबिनेटले स्वेज षड्यन्त्रलाई समर्थन गर्‍यो। ती सबै त पक्कै पनि नशामा थिएनन्।

इरानमा ट्रम्पको आक्रमण र उनका रणनीतिक लक्ष्यहरू गलत छन्। तर, उनको क्याबिनेटका सदस्य र पार्टीले उनलाई समर्थन गरिरहेका छन्। तिनले आफ्नो कदमको जवाफ आफैँले दिनुपर्नेछ।

यस घटनापछि कुनै पनि स्वरूपको अमेरिकी प्रभुत्व कायम रहला कि नरहला, देखिन बाँकी छ। स्वेज काण्डअघि ‘महाशक्ति राष्ट्र’ भनेर तीन वटा मुलुकलाई चिनिन्थ्यो– अमेरिका, सोभियत संघ र बेलायती साम्राज्य। स्वेज काण्डपछि महाशक्ति दुई वटा मात्र रहे।

हामीले विगतलाई सच्याउने लोभ गर्नु हुँदैन। त्यसैगरी वर्तमानका नेताहरूको गल्तीलाई ढाकछोप गर्ने कोसिस पनि गर्नु हुँदैन। स्पष्ट रूपमा हास्यास्पद कुरालाई इज्जतिलो बनाउने कुनै पनि कोसिस नौटंकीभन्दा बढी केही हुन सक्दैन। हामीले त्यो नौटंकी देख्न सकेनौँ भने हामी आफैँ नौटंकी बन्न पुग्छौँ।

(फाइनान्सियल टाइम्सबाट। एलेक्स भन टन्जलम्यान ब्लड एन्ड स्यान्डः स्वेज, हंगेरी एन्ड द क्राइसिस द्याट सुक द वर्ल्डकी लेखिका हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad