विचार


महाशक्ति अमेरिका कोरोनाविरुद्ध किन नराम्ररी असफल भयो?

महाशक्ति अमेरिका कोरोनाविरुद्ध किन नराम्ररी असफल भयो?

रोबर्ट राइख
बैशाख २८, २०७७ आइतबार १०:३७,

कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरैको ज्यान अमेरिकामा गएको छ। कोरोनाको सबैभन्दा उच्च मृत्युदर पनि यहीँ छ।

विश्वको जनसंख्याको ४.२ प्रतिशत मानिस अमेरिकामा बस्छन्। तर, हालसम्म कोभिड–१९ बाट मर्नेहरुको ३० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ।

र, सम्पन्न मुलुकमध्ये अमेरिका मात्र यस्तो राष्ट्र हो, जहाँ मृत्युदर अझै बढिरहेको छ। जुन १ सम्ममा प्रतिदिन मर्नेहरुको संख्या ३ हजार पुग्ने अनुमान गरिएको छ।

अरु कुनै पनि देशले मृत्युदर बढिरहँदा लकडाउन र सामाजिक दूरीका नियम हटाएनन्। अमेरिका अहिले लकडाउन हटाएर अर्थतन्त्र सक्रिय बनाउन लागिपरेको छ।

विकसितमध्ये अरु कुनै पनि मुलुक महामारीका लागि अमेरिकाजति तयारीविहीन अवस्थामा थिएन। जनवरीको मध्यमै जनस्वास्थ्य विज्ञहरुले डोनाल्ड ट्रम्प र उनको प्रशासनलाई कोभिड–१९ को विस्तार रोक्न तत्काल कदम चाल्नुपर्ने बताएका थिए। ट्रम्पले त्यस्ता चेतावनीलाई सुनीकान लगाएनन्। मार्च १६ मा मात्रै उनले त्यस्तो सल्लाह कार्यान्वयन गर्न थाले।

यदि ट्रम्पले दुई साताअघि मात्रै अर्थात्, मार्च २ मा सामाजिक दूरीसम्बन्धी नियम लागू गरिदिएको भए कोरोना भाइरसको पहिलो लहरबाट ज्यान गुमाउनेमध्ये ९० प्रतिशतलाई बचाउन सकिने महामारी रोग विज्ञहरुको अनुमान छ।

संक्रमितको उपचारका लागि अत्यावश्यक भेन्टिलेटर र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) जुटाउने जिम्मा अमेरिकाले आफूमातहतका सरकारी निकायहरु, राज्य र सहरहरुलाई नै दियो। अरु कुनै पनि मुलुकले आफूअन्तर्गतका निकायलाई यी अत्यावश्यक सामान आफैँ जुटाउन र त्यसका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्न बाध्य पारेनन्।

महामारी चलिरहँदा अमेरिकाले जनस्वास्थ्य तथा आपतकालीन तयारीसम्बन्धी विज्ञहरुलाई किनारा लगायो। जसको स्थानी आसेपासेहरुले लिए। उदाहरणका लागि ट्रम्पका ज्वाइँ जेरड कुस्नरलाई लिन सकिन्छ। एउटा छद्म टास्कफोर्सको नेतृत्व गरेर उनले यसबारे ट्रम्पलाई सल्लाह दिइरहेका छन्। कुस्नर आफैँ भने ट्रम्पका दाता तथा फक्स न्युजका सेलेब्रिटीहरुको सल्लाहमा चल्छन्।

कोभिड–१९ महामारीले औसत नागरिकको विशाल संख्यालाई निकै छिटो गरिबीमा धकेल्यो। अर्बान इन्स्टिच्युटको रिपोर्टअनुसार ३० प्रतिशत अमेरिकी वयष्कले खानामा आफ्नो खर्च घटाइसकेका छन्। अरु कुनै पनि विकसित मुलुकमा यस्तो अवस्था देखिएको छैन।

संसारका अन्य मुलुकमा सरकारले कम आय भएका नागरिकलाई गतिलो सहयोग दिएको छ। अमेरिकामा त्यस्तो छैन।

अमेरिकी नागरिकले एक पटकका लागि १२ सय डलरको चेक पाए। त्यति पैसाले एक साताको घरभाडा, खाद्यान्न र अन्य व्यवस्था गर्न पुग्छ। बेरोजगारी भत्ता पनि धेरै कमले मात्र पाएका छन्। किनभने बेरोजगारी दाबी गर्नुपर्ने कार्यालयहरुमा अहिले लामो लाइन लाग्ने गरेको छ।

संसदले घोषणा गरेको संरक्षण कार्यक्रम पनि भद्रगोल देखिएको छ। किनभने सो कार्यक्रमअन्तर्गतको रकम बैंक तथा वित्तीय संस्थाहरुबाट वितरण गरिएको छ। बैंकहरुले आफूलाई मनपर्ने ग्राहकलाई पैसा दिएका छन्। साना व्यवसायलाई दिइने भनिएको ३ सय ५० अर्बमध्ये २४ करोड डलर त ठूला सार्वजनिक कम्पनीले नै लिइसकेका छन्।

ट्रेजरी र केन्द्रीय बैंकले ठूला कर्पोरेसनहरुलाई ऋणबाट उद्धार गरिरहेका छन्। जबकि ती कम्पनीले सेयर किन्न ती ऋण लिएका थिए।

सबै मुलुकले उही संकट, उही महामारी सामना गरिरहेका छन्। तर, अमेरिका किन अलग देखिन्छ? यहाँ किन यति धेरै मानिस मरिरहेका छन्। यहाँ किन सबैथोक यति दुखद् र गलत देखिन्छ?

केही हदसम्म यो ट्रम्पका कारण पनि हो। उनले आफ्नो प्रशासनमा ठग, धोखेबाज, पटमूर्ख, चापलुस, लबिइस्ट र नातेदारहरुको भीड जम्मा गरेका छन्।

महामारीविरुद्ध अमेरिका यसरी असफल हुनुको कारण यति मात्र होइन, यसको जरा निकै गहिरो छ।

कोरोना भाइरसको यति ठूलो असर देखिनुको एउटा कारण हो– अमेरिकाको कमजोर स्वास्थ्य सेवा। औद्योगिक राष्ट्रमध्ये अमेरिका मात्रै एउटा यस्तो मुलुक हो, जहाँ सर्वव्यापी स्वास्थ्य सेवा छैन। ठूलो बिल आउने भयले धेरै परिवार डाक्टरकहाँ जान वा इमर्जेन्सी कक्षमा प्रवेश गर्न चाहँदैनन्।

त्यस्तै विकसित २२ मुलुकमध्ये अमेरिका मात्रै एउटा मुलुक हो, जहाँ सबै कामदारलाई तलबी बिरामी विदाको सुविधा दिइएको छैन। यसको नतिजा के भयो? जब बिरामी भएर घरमै बस्नुपर्ने अवस्था थियो, तब पनि अमेरिकीहरु काममा गए र भाइरस झनै फैलियो।

त्यसमाथि यहाँको बेरोजगारी भत्ता पनि अपर्याप्त छ। बेरोजगार भएको पहिलो वर्ष अमेरिकीहरुले विकसित मुलुकमध्ये सबैभन्दा कम भत्ता पाउँछन्।

अमेरिकामा काम गर्ने ठाउँ पनि खतरनाक छ। कोरोना भाइरस महामारीभन्दा पहिले पनि गोदामघर तथा मासु काट्ने, प्याकेजिङ गर्ने ठाउँको मृत्युदर युरोपको तुलनामा उच्च थियो।

महामारीले रोजगारी र आय लुट्नुअघि पनि अमेरिकीहरुको ज्याला दशकौँदेखि बढ्न सकेको थिएन। विकसित मुलुकको औसतभन्दा कम ज्याला वृद्धिदर अमेरिकामा छ। सन् १९८० देखि अमेरिकामा राष्ट्रिय आयमा कामदार वर्गको हिस्सा निरन्तर घट्दै गएको छ। अमेरिकामा यो संसारका धनी मुलुकमध्ये सबैभन्दा तीव्र गतिमा घटिरहेको छ।

अन्य मुलुकमा युनियनहरुले काम गर्ने वातावरण सुरक्षित बनाउने, ज्याला वृद्धि गर्ने मुद्दाहरुलाई उठाउँदै आएका छन्। अन्य विकसित अर्थतन्त्रको तुलनामा अमेरिकामा अत्यन्त कम श्रमिक युनियनमा आबद्ध छन्। निजी क्षेत्रका मात्र ६.४ प्रतिशत कामदार युनियनमा छन्। जुन संख्या क्यानडामा २६, इटलीमा ३७, स्वीडेनमा ६७ र बेलायतमा २५ प्रतिशत छ।

यो महामारीमा जसले ज्यान गुमाए, तीमध्ये धेरैको ज्यान बचाउन सकिन्थ्यो। यसका लागि दोषी को हो त?

आंशिक रुपमा डोनाल्ड ट्रम्पको दुष्कर्म जिम्मेवार छ।

समग्रमा आफ्ना जनतालाई आधारभूत सहयोग गर्न अमेरिका लामो समयदेखि असफल रहँदै आएको छ। त्यसैकारण यो महाप्रलयबाट अमेरिका सबैभन्दा बढी पीडित बनेको हो।

(द गार्जियनबाट। अमेरिकाका पूर्व श्रममन्त्री रोबर्ट राइख युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक हुन्। उनको ‘द सिस्टमः हु रिग्ड इट, हाउ वी फिक्स इट’ किताब यसै वर्ष प्रकाशित छ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad