विचार


जेनजी आन्दोलनको खतरनाक मध्यान्तर

चुनाव नभए अर्को आन्दोलन सुरु हुन सक्छ
जेनजी आन्दोलनको खतरनाक मध्यान्तर

राजु नेपाल
मंसिर १, २०८२ सोमबार २१:५७, काठमाडौँ

नेपालको समसामयिक राजनीतिक परिदृश्यमा अहिले सबैभन्दा धेरै चर्चा भइरहेको विषय भनेको ‘जेनजी आन्दोलन’ हो। युवाहरूको स्वतःस्फूर्त आक्रोश र परिवर्तनको मागले सडकदेखि सामाजिक सञ्जालसम्म फैलिएको यो आन्दोलन देख्दा कतिपयले यसलाई एक क्षणिक र भड्किलो प्रतिक्रिया ठाने। तर यथार्थ त्यस्तो होइन। युवाको लामो समयदेखि सञ्चित असन्तोष, नेतृत्वविहीन युवा ऊर्जा, र राज्य–नागरिक सम्बन्धमा सिर्जित दूरीले जन्माएको यो आन्दोलन सकिएको होइन, यो त केवल मध्यान्तर मात्रै हो।

यस्तो मध्यान्तर किन देखियो? आन्दोलनको लय किन केही सुस्तायो? र, अझ सबैभन्दा महत्त्वपूर्ण—आगामी संघीय निर्वाचन नहुने संकेत देखिँदै जाँदा देशमा कस्ता समस्याहरू थपिँदै छन्? यी सबै प्रश्नहरूले नेपाली राजनीति र अर्थतन्त्र दुवैलाई अर्थपूर्ण रूपमा छुन थालिसकेको छ। 

जेनजी आन्दोलन मूलतः तीन भावनामा आधारित थियो।

गरिखान चाहने युवाहरूको राजनीतिप्रतिको मोहभंग, सरकारको भ्रष्टाचार र असक्षमताप्रति असह्य रोष, तथा देशभित्र जीवन–अवसरको अभावले पैदा भएको निराशा। नेपालका युवाले दशकौँदेखि देख्दै आएका बेथिथि, अवसरमा दलगत भागबण्डा, रोजगार अभाव, महँगी, सेवा प्रवाहमा सुस्तता आदि तीव्र रूपमा एकैपटक विस्फोटित हुनु नै यो आन्दोलनको मूल कारण हो। आन्दोलन स्वतःस्फूर्त थियो, कुनै पार्टीको निर्देशनमा होइन। त्यसैले यो नेतृत्वविहीन तर ऊर्जा–सम्पन्न थियो।

यस्ता आन्दोलनहरू तुरुन्तै रोकिन्छन् भन्ने सोच्नु नै गलत हो। हाम्रो समाजमा आन्दोलन प्रायः तरंग जस्तै चल्छ— कहिले तीव्र, कहिले मन्द। अझ यहाँ आन्दोलन गर्ने तिथिमिति नै हुन्छ। तर, यो आन्दोलन फरक भयो र अझै हुनेछ। अहिले देखिएको मन्द अवस्था स्थायी होइन, बरु विश्राम–विन्दु मात्र हो। युवाहरूले न त आफ्नो असन्तोष बिर्सिएका छन्, न त राज्यसँगको उनीहरूको गुनासो सम्बोधन भएको छ। यो त सहरको बाटोमा उठेको धुलो थामिएको जस्तै क्षणिक शान्ति हो, हावा चल्ने बित्तिकै फेरि उड्नेछ।

आन्दोलन किन रोकिएजस्तो देखियो त?

पहिलो, राजनीतिक दलहरूको सक्रियता बढेको जस्तो देखियो। हिजोका सत्तापक्षदेखि विपक्षसम्म सबैले यो आन्दोलनले आफ्नो भूमिगत कमजोरी उजागर गरिदिएको महसुस गरे। तत्काल प्रतिक्रिया स्वरूप, नेताहरू सडकमा गए, बैठक बसाए, केही वाचा गरे। तर मधेश प्रदेशमा जे हुँदैछ, त्यसले राजनीतिक दलहरूले ‘हामी सुध्रने छैनौँ’ भन्ने स्पष्ट सन्देश दिन पनि बाँकी राखेनन्। यसले युवाहरूमा अझै केही समय ‘हेरौँ, के हुन्छ’ भन्ने क्षणिक प्रतीक्षाको मनोविज्ञान पैदा गर्‍यो।

दोस्रो, युवाको कूटनीतिक थकान। शारीरिक रूपमा आन्दोलन लामो समय टिकाउ हुँदैन। परीक्षाहरू, काम–धन्दा, दैनन्दिन जिम्मेवारीले युवाहरूलाई केही समय पछाडि हट्न बाध्य बनायो।

तेस्रो, सहज नेतृत्वको अभाव। संगठित नेतृत्व नभएकाले लामो समय आन्दोलन निरन्तर एकै स्वरूपमा चलिरहन कठिन हुन्छ। यही कारण आन्दोलन ‘स्थिर’ होइन, ‘चञ्चल’ बन्न पुग्यो। अब उनीहरू संगठित हुँदै जाँदा आन्दोलनको स्वरूप बदलिने तर नरोकिने देखिन्छ। फेरि पनि त्यही चञ्चलता नै भविष्यमा यसको ठूलो शक्ति बन्न सक्छ।

अब एकछिन कुरा गरौँ चुनावका बारेमा।

नेपालमा अहिले चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने अन्योल व्यापक छ। राजनीतिक शक्ति–समीकरण, दलहरूबीचको अविश्वास, गठबन्धनभित्रको अस्थिरता र निर्वाचनका लागि आवश्यक कानुनी/प्रशासनिक तयारीहरूका कमी जस्ता कारणले चुनाव नै नहुन सक्छ भन्ने आशंका बढेको छ। सरकारलाई चुनाव लागेको देखिन्छ तर राजनीतिक दललाई पटक्कै चुनाव लागेको छैन। ताप्के नताती बिँड मात्रै तातेर खाना कहाँ पाक्छ र? 

हाम्रो जस्तो राजनीतिकै भरमा चल्ने राष्ट्रमा चुनाव नहुनु भनेको राजनीतिक वैधताको प्रश्न, संवैधानिक संकट, अर्थतन्त्रमा दीर्घकालीन अस्थिरता, सार्वजनिक विश्वासको पूर्ण क्षति र आन्दोलनको नयाँ चक्र जस्ता चुनौतीहरूको बाटो खोल्नु हो। यी कुराहरू कि त कसैले बुझेका छैनन् वा बुझेकाहरू पनि बुझ पचाइरहेका छन्। 

तोकिएको मितिमा चुनाव भएन भने वर्तमान सरकारको नेतृत्वको वैधता शून्यतिर लाग्छ। नेतृत्व नै अवैध देखिँदा अरु पक्षले पनि ‘किन पालन गर्ने?’ भन्ने नागरिक मनोविज्ञान फैलिन थाल्छ र आन्दोलनको बीऊ यही नै हुनसक्छ। यस्तो आन्दोलनको नेतृत्व राजनीतिक दलले गर्ने सम्भावना समेत रहन्छ। यो स्थिति कुनै पनि राज्यका लागि खतरनाक संकेत हो।

समयमा चुनाव नहुने वातावरण बन्दै जाँदा अर्थतन्त्र थप अन्धकार हुन्छ। राजनीतिक अनिश्चितताले लगानी रोक्छ, विदेशी सहयोग घटाउँछ, पर्यटन र बजार दुवै सुस्त पार्छ, निजी क्षेत्रको मनोबल कमजोर बनाउँछ। निजी क्षेत्र पहिले नै ऋण असुली, करको दबाब, महँगी, बैंकिङ संकट जस्ता कारणले थलिएको छ। अब चुनाव नहुने सम्भावना देखिँदा उनीहरू अझै बढी जोखिम उठाउन तयार हुने छैनन्।

उसोभए फेरि आन्दोलन होला त?

नेतृत्वविहीन जेनजी आन्दोलनले पहिले नै देखाइसकेको छ, युवाहरू अब मौन बस्दैनन्। यदि चुनाव नै नहुने हो भने युवाहरूले उत्कृष्ट बहाना पाउनेछन् र भन्नेछन्, ‘हाम्रो अधिकार खोसियो, अब सडकमा निस्कनै पर्ने भयो।’ यसले आन्दोलनलाई नयाँ उचाइ, नयाँ स्वरूप र सम्भावित रूपमा अझ व्यापक जनसमर्थन प्रदान गर्न सक्छ। 

त्यसपछि के हुन्छ, त्यसको कल्पना पनि अहिले नगरौँ। यति मात्रै भन्न सकिन्छ, निर्वाचन हुने छाँटकाँट छैन, र युवाहरूलाई निर्वाचन नहुने कार्य स्वीकार्य छैन। अनि विकल्प के त? 

खतरनाक छ वर्तमान ‘मध्यान्तर’
सिनेमामा मध्यान्तर कतिपयलाई रमाइलो लाग्न सक्छ, कतिपयलाई नरमाइलो लागेर बाँकी भाग छाडेर हिँड्न सक्छन्। तर आन्दोलनको मध्यान्तर भने सधैँ खतरनाक हुन्छ, यसमा कसैले दुविधा नलिए हुन्छ। किनकि यो अवस्थामा युवाहरू शान्तजस्ता देखिए पनि उनीहरूभित्रको असन्तोष गहिरिँदै जान्छ, अपेक्षा बढ्दै जान्छ, निराशा गाढिँदै जान्छ, नेतृत्वप्रतिको अविश्वास चुलिँदै जान्छ र आर्थिक कठिनाइले युवामा झनै आक्रोश भरिन्छ। 

जब असन्तोष गहिरो र मौन बन्छ, तब अचानक ठूलो विस्फोट हुने सम्भावना बढ्छ। अहिलेको नेपालको स्थिति त्यही हो। अझ यो अवस्थामा बाहिरी तत्व पनि खेल्न आए भने? हामीले बुझ्नु पर्ने कुरा जेनजी आन्दोलन अहिले मौन असन्तोषको चरणमा छ, त्यसलाई विस्फोट हुनबाट रोकौँ।

जेनजी आन्दोलनको मूल मनोविज्ञान पारदर्शी राजनीति, भ्रष्टाचार विरोधी कडा व्यवस्था, औसत नागरिकको जीवनस्तर सुधार, सुधारमुखी राष्ट्रवाद, विदेश पलायन रोक्ने वास्तविक अवसर, कार्यान्वयन हुने वाचामा टिकेको छ। युवाहरूलाई अब भाषणले प्रभावित पार्न सकिँदैन, उनीहरू नतिजा खोज्छन्। त्यसैले जेनजी आन्दोलन ‘तात्कालिक नाराबाजी’ होइन, बरु यो दीर्घकालीन सोच र परिवर्तनको चाहना हो।

यो आन्दोलनले राजनीतिक नेतृत्वका लागि चार कडा सन्देश दिएको छ। अझ भनौँ, राजनीतिक नेतृत्वका लागि चेतावनी समेत दिएको छ। पहिलो, चुनाव नै वैधताको मेरुदण्ड हो, चुनाव नहुने हो भने नेतृत्वप्रतिको सम्मान स्वतः समाप्त हुन्छ। दोस्रो, युवाको आक्रोश कुनै दिन फुट्ने बाँध हो, सधैँ दबाएर राख्न खोज्नु बुद्धिमानी होइन, सकिन्न। तेस्रो, आर्थिक संकट राजनीतिक संकटभन्दा खतरनाक छ, जनतालाई भोक, बेरोजगारी, महँगीले सडकमा ल्याउँछ। गफ धेरै भयो, काम खै? चौथो, समयमै सुधार गर्न सके अझै सम्भावना छ, सरकार र राजनीतिक दलले बुद्धि पुर्‍याउने हो भने संवादबाटै पारदर्शिता, सुधारका संरचना बलियो बनाउन सकिन्छ।

अब के हुन्छ? 
अबका सम्भावित पाँच परिदृश्यहरू यसप्रकार छन् :

क) तोकिएकै मितिमा चुनाव हुन्छ, देश फेरि शान्त, प्रभावकारी र संवैधानिक रूपमा चल्न थाल्छ। 

ख) तोकिएको मितिमा चुनाव हुन्न, फेरि अर्को मिति तोकिन्छ, आन्दोलन पुनः उठ्छ। तर यो पटक संगठित रूपमा उठ्छ। 

ग) कोही चुनाव नगर्ने वा हुन नदिने योजनामा भए संवैधानिक द्वन्द्व सुरु हुन्छ र फेरि संगठित आन्दोलन हुन्छ। 

घ) अर्थतन्त्र झनै कमजोर हुन्छ र फलस्वरूप जनताको असन्तोष तीव्र हुँदै आन्दोलनमा बदलिन्छ। 

ङ) नयाँ युवा नेतृत्व उदय हुन्छ जुन परम्परागत दलहरूको लागि गतिलो चुनौती हुनपुग्छ। यी परिदृश्यमध्ये एक वा बढी एकैसाथ पनि हुन सक्छन्।

आजको निष्कर्ष
जेनजी आन्दोलन अर्को चरण प्रवेश गर्नेछ र त्यो पहिलेको भन्दा अझ शक्तिशाली हुनेछ। जेनजी आन्दोलन सकिएको होइन, यो त सामयिक थकान र रणनीतिक प्रतीक्षा मात्र हो। आन्दोलनको ऊर्जा, मुद्दा र भावना तीनै यथावत् छन्।

यदि राज्यले युवाको माग सुन्न, सुधार गर्न, र समयमै चुनाव गराउन असफल भयो भने, अर्को आन्दोलन, अझ व्यापक, अझ तीव्र, अझ दीर्घकालीन र रूपान्तरणकारी हुनसक्छ। त्यसैले नेपाल अहिले एउटा निर्णायक मोडमा उभिएको छ, अगाडि उज्यालो पनि छ र अन्धकार पनि।

एउटा कुरा भने पक्का छ, युवाहरूको चेतना जागिसकेको छ र यो चेतना अब कहिल्यै निदाउँदैन। मध्यान्तरको त अन्त्य हुनेछ र दोस्रो अंक भने पक्कै सुरु हुनेछ।

तर के फागुनमा हुने भनिएको चुनावले माथिका सबै वा अधिकांश समस्याको समाधान गर्ला त? त्यो पनि यही निर्वाचण प्रणालीले? आउनुहोस् यसमा पनि छलफल सुरु गरौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad