त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले तीन जना विचौलियालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार, सर्लाहीको हरिवन नगरपालिका-१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङको नेत्रावती गाउँपालिका-२ का ३६ वर्षीय वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोकको चौतारा नगरपालिका-५ का ४३ वर्षीय मिक्टे लामा पक्राउ परेका हुन्। तीनै जना हाल काठमाडौंमा बस्दै आएका छन्।
राहदानी विभागको मूलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनेर प्रलोभन देखाइ अतिरिक्त रकम लिई दुःख दिने गरेको पाइएको प्रहरीले जनाएको छ। सेवाग्राहीसँगै राहदानी विभागका कर्मचारीलाई समेत कामकाजमा अवरोध पुर्याउने गरेको सूचनाका उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
Shares

प्रतिक्रिया