चौबीस घण्टामा हामीले एउटा सिंगो युग बाँच्यौँ।
तन्नेरी पुस्ता निसास्सिँदो निराशाको पिँजडा तोडेर हिजो बिहान सडकमा ओर्लियो। आइन्दा हाम्रो भविष्य बिगार्न दिन्नौँ भन्ने गह्रौँ निश्चय आफ्ना कलिला मुटुमा बोकेर किशोरकिशोरी जुलुसमा निस्कए। निषेध, प्रतिबन्ध र कर्फ्युलाई अटेर गर्ने उनीहरूको आँट हामीले देख्यौँ।
केही छिनमा हामीले देख्नुपर्यो– खुनी बर्दीधारीहरूले ती कलिला मुटुमा ताकीताकी गोली दागे। फुल्न खोजिरहेका मुनाहरू जरैदेखि निमोठिए। आमाका सपना, बाबाका आडभरोसा सडकमा ढले। अनाहकमा साथी–सहपाठी गुमाएर अलल्लिएका, विलापिएका तन्नेरी हामीले देख्यौँ। भविष्य बोकेका जवानहरूलाई भकाभक मृत घोषित गर्नुपर्दा लुगलुग काँपिरहेका र रोइरहेका स्वास्थ्यकर्मी देख्यौँ। र, देख्यौँ युवाहरूको अभूतपूर्व बलिदानी।
हिजै हामीले देख्यौँ– सन्ततिको मृत्युमा मजाक गर्ने ‘बा’हरूको बर्बरता र बौलठ्ठी। सत्ताको नसामा चूर भएर डुबेका शासकहरू मानव जीवनलाई पूर्ण उपेक्षा गर्दै नरसंहारमा उत्रिएको देख्यौँ। १९ जनाको ज्यान लिएपछि र सयौँलाई गोली ठोकेपछि पनि कुर्सीमा टाँस्सिइरहने निर्लज्जता पनि देख्यौँ। अझ घुसपैठको बहानाबाजी। गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराएर सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको घटिया दाउपेच।
तर, त्यो पुरानो दाउपेच चलेन। झेली खेल टिकेन।
आज हामीले देख्यौँ– बन्दुकको घेराले पनि शासकहरूलाई बचाउन सक्दो रहेनछ। पुस्तौँसम्म शोषण गरेर ठड्याइएका महल जनआक्रोशको आगोले क्षणभरमै खरानी तुल्याउँदा रहेछन्। बिना जवाफदेही जनताको थाप्लोमा गिर खेल्न अभ्यस्तहरूले जमिनमा भाग्ने बाटो पनि पाउँदा रहेनछन्। जनआक्रोशका आँधीसामु जतिसुकै बलियो बहुमतको भए पनि सिंहासन ढलेरै छाड्दो रहेछ। मुलुकको सम्पूर्ण सत्ता र शक्तिका केन्द्र बनेका राज्यका तिनै अंगका मुख्यालयहरू वास्तवमा कति कमजोर हुँदा रहेछन्।
यस्तो लाग्न सक्छ, दुई दिनमा हामीले सबथोक देख्यौँ।
तर, त्यसो होइन। देखिन बाँकी कुरा अझ धेरै छन्।
नेपालमा गत चौबीस घण्टामा जेजे भए, ती घटनाक्रमको साक्षी हामी बसिसकेका छौँ– छिमेकी देशहरूमा। श्रीलंका र बंगलादेशमा जनताले शासक लखेटिसकेपछिका दिन पनि सहज थिएनन्। व्यवस्था कायम गर्न, हिंसा साम्य पार्न र जनजीवनलाई लयमा ल्याउन ती देशमा लामो समय लागेको थियो। त्यसको मूल्य आम मान्छेले चुकाउनु परेको थियो।
नेपालमा जेन-जी आन्दोलन यसर्थ अलग छ कि एकै दिनको प्रदर्शनले यति ठूलो परिवर्तन यसअघि कहिल्यै गरेको थिएन।
तर, तत्काल दुई वटा खतरा देखिँदैछन्। पहिलो– अनियन्त्रित हिंसा। प्रदर्शनकारीहरूको आक्रोश सार्वजनिक र निजी सम्पत्तिमाथि पोखिँदैछ भने व्यक्तिमाथि भौतिक हमला भइरहेका छन्। यो चिन्ताजनक संकेत हो। यसलाई तत्काल रोक्न आवश्यक छ। राजनीतिका खलनायकहरू या त भागिसकेका छन्, या पक्राउ परिसकेका छन्। प्रहरीले लत्तो छाडिसकेको छ। यस्तोमा संयम अपनाउने सम्पूर्ण जिम्मा आन्दोलनकारीको काँधमा छ। अन्यथा यसले आन्दोलनको छवि त बिगार्छ नै, मुलुकलाई थप अप्ठेरोतर्फ हुत्याउन सक्छ।
दोस्रो– अब पहलकदमी जेन–जीको हातमा रहला कि नरहला? पुरानो सत्ता ढलिसकेको र नयाँ सत्ता स्थापना हुन नपाएको यो रिक्ततामा अनेक समूहहरूले आफ्नो दुनो सोझ्याउने चेष्टा गरिरहेका छन्।
कतिले सेनालाई अघि सार्न खोजिरहेका छन्। पुरातनपन्थी शक्तिहरूको मुख मिठ्याइ हेर्नलायक छ। तर, यसो हुनु भनेको यो पुस्ताको आन्दोलन र करिब बीसभन्दा बढी युवाको बलिदान खेर जानु हो। किनभने त्यतिबेला जेन–जीका मुद्दा स्वतः किनारा लाग्ने छन्। सेना आफ्नै लागि पनि राजनीतिमा मिसिनु प्रत्युत्पादक हुन सक्छ। त्यसैले अलग्गै बसेर उसले स्थायित्वका लागि सघाउनु उचित हुन्छ।
यतिबेलाको आवश्यकता भनेको आन्दोलनकारी शक्तिसमेतको सहभागितामा नागरिक सरकार हो। जसले चाँडो चुनाव गराएर जनादेशप्राप्त सरकारलाई सत्ता सुम्पिन सक्छ। त्यस्तो सरकारले मात्र जेन–जीको आकांक्षालाई सम्बोधन गर्छ।
नेपाल त्यस्तो अभिशप्त देश हो– जहाँ सधैँ कुपात्रहरू सत्तामा पुर्याइन्छन्।
बहुदल आएपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाजस्ता पञ्चायतका हस्तीहरूलाई दूधले नुहाइयो। मान्छेहरूले छिन्ताङ, पिस्कर हत्याकाण्ड बिर्से अनि उनीहरूलाई पटकपटक प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बसाइयो।
अनेक विकृतिमा मुछिएका शेरबहादुर देउवाले ०५८ सालमा संकटकाल लगाए। सत्ताका लागि पार्टी फुटाए। कुनै पनि सभ्य देशमा देउवाको राजनीतिक करिअर त्यतिबेलै समाप्त हुने थियो। तर, नेपालमा त्यसो भएन। जनआन्दोलन २ मा आएर मिसिएपछि उनी पूरै चोखिए। त्यसयता पटकपटक प्रधानमन्त्री बने।
सशस्त्र द्वन्द्वपछि पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकहरूले मत दिएर मौका प्रदान गरेका थिए। तर, उनमा शासन चलाउने खुबी देखिएन। एकपटक असफल भइसकेपछि उनलाई पनि बिदा गर्नुपर्ने थियो।
केपी शर्मा ओलीको हकमा त उनी गणतान्त्रिक युगमा राजनीतिमा ठाउँ पाउन लायक पात्र नै थिएनन्। त्यसयता पनि दुई तिहाइ बहुमतको नेकपा सरकारलाई असफल तुल्याएर संसद् विघटन गरेपछि अदालतले उनलाई दुईदुई पटक गलहत्याएको थियो। उनलाई पार्टीले, नभए मतदाताले राजनीतिबाट सदाका लागि बिदा गर्नुपर्थ्यो।
तर, त्यसो भएन। उनी खेलोफड्को गरेर फेरि सत्तामा उक्लिए। आफ्नो दलका नेता–कार्यकर्तालाई दाससमान बनाए र इसारामा नचाए। नेताहरूले नयाँनयाँ झुट सिर्जना गर्ने आफ्नो खुबीलाई प्रयोग गरेर देश र नागरिकको भविष्यको लात्ते भकुण्डो खेलिरहे। त्यही खेलमा रमाएर सञ्चारमाध्यम र समाजका अगुवाहरूले ताली पिटिरहे। आम नागरिकको डरलाग्दो निराशामा तिनको नजरै परेन।
यस्तो किन भयो त?
किनभने हामीले यिनका पुराना कर्तुत चाँडै बिर्सियौँ। उनीहरूलाई कानुनी रूपमा दण्डित गर्नुको साटो पुरस्कृत गर्यौँ। चुनेर सत्तामा पुर्यायौँ। आफ्नो सन्तानको भविष्यको तालाचाबी उनीहरूकै हातमा सुम्पियौँ।
यसपटक नयाँ पुस्ताको आन्दोलनले दलदल बनेको यो दलतन्त्रको जरा काट्न सम्भव छ।
नेपालीहरूको सामूहिक स्मरण शक्ति क्षीण छ। त्यसैले मलाई डर छ, फेरि पनि भ्रष्टहरू हाकाहाकी हाम्रो नेता बन्न अघि सर्ने हुन् कि? पतीत र कुपात्रहरू फेरि हाम्रो थाप्लोमा चढ्ने पो हुन् कि!
त्यसलाई रोक्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ।
के हामीले भदौ २३ को नरसंहारलाई याद राखौँला? मानवताको यो उपेक्षा, आम मानिसको जिन्दगीमाथिको यो खेलवाड सम्झौँला?
विकास, प्रविधि, भूराजनीतिको हल्लाखल्ला चर्को हुन थालेपछि यो त्रासदी नभुलौँला?
आशा गरौँ, अघिल्लो पुस्ताले बिर्से पनि जेन–जीले याद राख्नेछ र समय अनि समाजलाई सही दिशामा डोर्याउनेछ।
(खगेन्द्र गिरी नेपालखबर विचार सम्पादक हुन्)
Shares

प्रतिक्रिया