जटाटवी गलज्जल प्रवाह पावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजङ्ग तुङ्ग मालिकाम्
चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम्
(जंगलजस्तो जटाबाट प्रवाह भएको जलले पवित्र पारेको स्थानमा गलामा सर्पको माला बेरेर, डमड डमड आवाज आउने गरी डमरु बजाएर ताण्डव नाच्दै गरेका शिवले रक्षा गरून्)
हिन्दु, बौद्ध, जैन, यी सबै धर्मको आस्थाको केन्द्र, संसारको पानीको राजधानी कैलाश मानसरोवर यात्रा गर्ने चाहना सायदै कसैलाई नहोला। अब त यो वर्षको यात्राको समय पनि सुरु भयो। कति जाने सोच बनाउँदै हुनुहोला, कतिले यात्रामा जाने निश्चय नै गरिसक्नुभयो होला। विभिन्न विज्ञापन, आफन्त र साथीभाइबाट यात्राको रोमान्चकता तथा लाग्ने खर्चको पनि जानकारी पाइसक्नुभयो होला।
पहिलो दिन, काठमाडौंबाट रसुवाको टिमुरेसम्मको करिब ९ घण्टाको यात्रा गर्दा एकातिर प्रकृतिको सुन्दरतामा मन्त्रमुग्ध हुँदै, फोटो खिच्दै, टिकटक बनाउँदै र अर्कोतिर बिग्रेको बाटोको हविगत देखेर आफ्ना नेतालाई सत्तोसराप गर्दै बेलुकी भोटेकोसीको कलकल अवाजसँगै रमाउँदाको क्षण कहाँ सजिलै बयान गर्न सकिन्छ र?
दोस्रो दिन, छिमेकी देश चीन छिरेपछि विदेश यात्राको सुरुको अनुभव, सानो तर सुन्दर सहर केरुङ घुमाइको रमाइलो वातावरण, केही किनमेल (थर्मस, लठ्ठी) आदिले आफू २ हजार ७ सय मिटरको उचाइमा पुगेको पत्तै हुँदैन।
नेपाल–चीन सीमाबाट करिब १ घण्टा बसको यात्राबाट केरुङ पुगिन्छ। बेलुकी गाइडले तपाईंको देब्रे हात र चोर औँला ल्याउनु न त भनेर रक्तचापका साथै अक्सिजनको मात्रा नाप्न थालेपछि भने शरीर सिरिङ्ग गर्छ। अझ सानो चक्की औषधि हातमा राखेर आजबाट हरेक दिन तीनपटक अक्सिजन र रक्तचाप नाप्ने अनि यो एक चक्की औषधि बेलुकी खाने भनेपछि आफू साँच्चै अफ्ठेरो यात्रामा छु भन्ने बोध हुन्छ। केरुङ पुगेपछि साँझ गुम्बाको अगाडि रहेको ठूलो चोकमा तिब्बती गीतसंगीतमा ननाच्ने त को नै होला र?
तेस्रो दिन, केरुङबाट उकालो लागेर पुराना तिब्बती बस्तीहरु हेर्दै, झरनामा ओर्लेर फोटो खिच्दै, टिकटक बनाउँदै, ५ हजार मिटरभन्दा माथिको लोराङ पास हुँदै करिब ६ घण्टामा रमाइलो सहर सागा पुगिन्छ। लोराङ पासको चिसो हावाले हान्दै गर्दा गाइडबाट बायाँतर्फ देखिने सबैजसो हिमाल नेपालका गौरीशंकर, लाङटाङ भएको सुन्दा हामी आफ्नै देश वरिपरि छौँ भन्ने बुझ्न कठिन हुन्न। अब जीवनमा सायद पहिलो पटक तिब्बती पठारको रमाइलो यात्रा, चौँरी, च्याङ्ग्राहरु चरेका देखिन्छन्। सागा सहर पुग्नैलाग्दा कलकल बगेको ब्रम्हपुत्र नदीको दर्शनले कसको मन रोमान्चित नहोला र?

चौथो दिन, एकतातिर आज पवित्र मानसरोवर तालको दर्शन हुन्छ भन्ने कौतुहल र अर्कोतर्फ पट्यारलाग्दो झण्डै १० घण्टाको बस यात्रा। अब हाम्रो शरीरले बुझ्छ र भन्छ, ‘तिमी ४ हजार पाँचसय मिटरभन्दा माथि छौ है।’ बाटोभरि देखिने चौँरी र च्याङ्ग्राका बथान, कलकल बगेको पवित्र ब्रम्हपुत्र नदी र कतैकतै देखिने साना तिब्बती बजार। साँझपख पुगिने पवित्र मानसरोवर ताल र टाढैबाट कैलाश पर्वतको दर्शनले दिनभरिको थकान कसो नमेटिएला र?
पाँचौँ दिन, कैलाश पर्वतको काखमा रहेको मानसरोवरमा स्नान, लाखबत्ती, पूजाआजा, भजन अनि नाचगान। पूजाआजापछि दिउँसो गाडीबाटै मानसरोवर तालको परिक्रमा, राक्षसतालको वर्णन सुन्दै टाढैबाट कर्के हेराइले साँझ ४ हजार ६ सय मिटरमा अवस्थित अत्यन्त सुन्दर सहर दार्चेन पुगेको पत्तै हुन्न।
करिब चार घण्टाको ताल घुमाइसहितको बसको यात्राबाट त्यहाँसम्म पुग्दा जो कोही चीनले तिब्बतमा गरेको विकास देखेर दंग परिसकेको हुन्छ र भन्छ, हाम्रा त नेता नै ... परेपछि के गर्नु र? चिनियाँ सरकारले हुन्न भन्दाभन्दै र ठाउँठाउँमा सूचना राख्दैगर्दा पनि मानसरोवरमा डुबुल्की लगाउन हामी किन छाड्थ्यौँ र, कि कसो?
छैटौँ दिन, यहाँसम्म आइपुग्दा सँगै गएकाहरुमध्ये आधाले कैलाश पर्वत परिक्रमा गर्ने विचार त्यागिसकेका हुन्छन्। बिहानै चिया र केही खानेकुरा खाएर बसवाट करिब ३० मिनेटको यात्रा गर्दै यमद्वार पुगिन्छ। हजारौँ तीर्थयात्री, सयौँ घोडा लिएर बसेका तिब्बतीहरु देखेर जो कोही पनि हौसिन्छ एकैछिन। यमद्वारमा दर्शन गरेर परिक्रमा गर्न आँट गर्नेलाई बिदा गरेर अरु दार्चेन फर्कन्छन्। उनीहरुका लागि होटेलको झ्यालबाट कैलाश पर्वतको दर्शन गर्दै कलब्रेक खेल्नुको मजा पनि कहाँ कम छ र!

उता परिक्रमा वा कोरामा जानेहरुको करिब ९ घण्टाको तेर्सोतेर्सो हिँडाइमा रोमान्च र थकान दुवै हुन्छ। नजिकैबाट कैलाश पर्वतको र चरणसम्मको दिव्य दर्शन, घोडामा जानेहरु, घस्रेर जानेहरु, ढुंगाबाट आउने विभिन्न आवाजहरु र सयौं किम्बदन्तीहरुले यो दिन आफ्नो जन्म सार्थक भएको अनुभव सबैमा हुन्छ। बेलुकी दिरापुकमा खिचडी खाएर सुत्दा भगवान शंकरको सम्झना गर्दै आफन्त घर परिवार सबै नबिर्सने को होला र?
सातौँ दिन, अब फेरि आफूसँग गएकामध्ये आधाले पूर्ण परिक्रमा गर्ने विचार त्याग्छन्। कोही भन्छन्, ‘शास्त्र अनुसार शिवलिंगको परिक्रमा अर्ध हुुनु पर्दछ।’ कोही पुग्यो भनेर आफ्नो स्वास्थ्यको ख्याल गर्न थाल्छन्। परिक्रमा त्याग्नेहरु त्यहाँबाट चिनियाँ ५०० युयान तिरी गाडी चढेर दार्चेन आएर कलब्रेक समूहमा मिसिन्छन्। कोही भने करिब ६ घण्टाको पैदल यात्रा, डोल्मा पासबाट तल झरेपछि गाडी मगाएर दार्चेन फर्कन्छन्।
परिक्रमा यात्रालाई निरन्तरता दिनेहरुको लागि यो दिन कठिन र अझ अविस्मरणीय रहनेछ। १३ घण्टाको लगातार हिँडाइ, लुगा लगाइएका ढुंगाहरु, गौरी कुण्डको दिव्य दर्शन, आक्कलझुक्कल मात्रै देखिने कैलाश पर्वत र झण्डै ५ हजार ७ सय मिटरको डोल्मा पासको यात्रा। यहाँबाट त घोडा पनि तल ओर्लन सक्दैनन्। साँझ थकित भएर जोथलपुकको ओछ्यानमा पल्टेपछि ‘म आज जति खुसी कैले थिएँ होला’ भनेर नसोच्ने कोही होला र?
आठौँ दिन, करिब ५ घण्टाको तेर्सो बाटोको हिँडाइपछि आफूलाई लिन आएको गाडी देख्दा तीर्थयात्रु सबै थकान बिर्सेर नाच्न थाल्छन्। गाडीबाट करिब ३० मिनेटको यात्रापछि आफ्ना दार्चेनमा रहेका साथीहरुसँग भेट, केही खाना अनि फिर्ती यात्रा सुरु। राति फेरि तेस्रो रात बसेको सुन्दर सहर सागा। यो दिनको यात्रा पछि सबै थकाइले लोथ भइसकेका हुन्छन्, बसमा बोलचाल पहिलेको तुलनामा आधाभन्दा कम भइसकेको हुन्छ। बसमा यात्रा गर्दैगर्दा परिक्रमा गर्नेहरुको खुसी अलग र नगर्नेहरुको सन्तुष्टि अलग। दुवैथरी उत्तिकै हँसिला। भगवान् शंकर पार्वतीको कृपा कस्तो अनौठो है?
नवौँ दिन, सागाबाट केरुङ अनि किनमेल। लुगा, सिरक, खेलौना, रक्सी मात्र नभई खानेकुरा समेत। लगेकोे चाइनिज पैसा सबै सकिन्छ त्यहाँ। तिब्बती स्वादको खाना र नाचगानमा लाग्छ अब तीर्थयात्री। भोलि त काठमाडौँ भनेर सोच्दासोच्दै भुसुक्क नदिनाउने कोही छ?
दसौँ दिन, केरुङबाट रसुवागढी, नेपाल प्रवेश र सामान्यतया बेलुकी काठमाडौँ। घर पुगेपछि झोला एकातिर शरीर अर्कोतिर। शरीर पो आयो त दिमाग कसैको कैलाशबाट आयो र? पक्कै छैन र पटक्कै छैन।
अब पालो बिरामी हुनेको। तर्साको हैन है? यत्रो यात्रा पछि सायद भगवानले केहीदिन आराम गर भन्नुभएको होला।
तर यो यात्रा माथि भनेजस्तो सरल, सहज र रोमान्चक मात्रै छैन। बाँकी कुरा के हुन् त?
हामीलाई थाहा भएका कुरा
१. यात्रा सामान्यतया काठमाडौँबाट सुरु हुन्छ र दसौँ दिनमा काठमाडौँमै आएर टुंगिन्छ।
२. खर्च प्रतिव्यक्ति करिब १ लाख ५० हजार रुपैयाँ ट्रभल एजेन्सीलाई बुझाउने र आफ्नो लागि फर्मायसी करिब २५ हजार रुपैयाँ भए पुग्छ।
३. सामान्यतया यात्रा सडक बाटोबाट त्रिशुली हुँदै रसुवागढी, चीनको केरुङ, सागा, मानसरोवर, कैलाश परिक्रमापछि त्यही बाटो काठमाडौँ आइपुग्छ।
४. भिसा, यातायात, खाना, बसोबास सबैको प्रबन्ध ट्राभल एजेन्सीले गर्छ।
५. मानसरोवरमा पूजा गर्न, लाखबत्ती बाल्न र नाचगान गर्न पाइन्छ भने कैलाश परिक्रमा गर्दाका दृश्य त शब्दले वर्णन पनि गर्न सकिन्न।
६. बाक्ला लुगा, केही खानेकुरा (चकलेट, नट्स), लठ्ठी बोके पुग्छ। अरु केही चाहिन्न।
माथिका सबै कुरा शत प्रतिशत सही हुन्। तर के यति बुझेर पुग्छ? पुग्दैन। अब चर्चा गरौँ थप बुझ्नुपर्ने कुराहरु, जुन तपाईंलाई कसैले भन्दैनन्।
पहिलो, तपाईंले नेपाल र चीनमा गरी दस दिनमा करिब २ हजार किलोमिटरको बसको यात्रा गर्नुपर्ने हुन्छ। जुन दैनिक २०० किलोमिटर वा हरेक दिन काठमाडौँबाट पोखरा गएजति हो।
दोस्रो, यदि तपाईं कैलाश पर्वतको परिक्रमा गर्ने सोचमा हुनुहुन्छ भने तपाईंले यमद्वारबाट सुरु हुने यात्रामा पहिलो दिन नौ घण्टा, दोस्रो दिन १३ घण्टा र तेस्रो दिन तीन घण्टा पैदल हिँड्नुपर्ने हुन्छ। यो यात्रा करिब ४ हजार ७ सय मिटरको उचाइबाट सुरु भएर ५ हजार ७ सय मिटरको उचाइसम्म पुग्छ।
तेस्रो, तपाईं तेस्रो दिन केरुङबाट यात्रा सुरु गरेपछि नवौँ दिन फेरि केरुङ नआइपुगुञ्जेलका ७ दिन लगातार ४ हजार ५ सय मिटरको उचाइमा हुनुपर्ने छ। यदि लेक लाग्यो वा अरु कुनै बिरामी भइयो भने उचाइ कम हुने स्थानसम्म आइपुग्न १५ घण्टाको बसको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। तपार्ईंले औषधि सेवनका कारणले थाहा नपाए पनि तपाईंको शरीरलाई भने त्यो थाहा हुन्छ।
चौथो, जति हौसिए पनि यदि तपाईं उच्च रक्तचाप, मुटु वा अरु कुनै लामो समय औषधि सेवन गर्ने बिरामी हुनुहुन्छ, घुँडा दुख्छ भने तपाईंले कैलाश पर्वतको परिक्रमा गर्न सक्नुहुन्न, गर्नुहुन्न। यो यात्राको सोच त्याग्नुस्, टीभीमा, युट्युबमा वा गएकाहरुबाट सुनेर यात्राको अनुभव गर्नुहोस्।
पाँचौँ, हामीले खाने उही खानाको स्वाद पनि उचाइ अनुरुप फरक हुन्छ। हामी काठमाडौँमा बस्नेहरुलाई करिब १ हजार ३ सय मिटरमा बसेर खाने बानी छ, त्यही अनुरुप खाना मिठो वा नमिठो लाग्छ। हामीलाई लिएर जाने ट्राभल एजेन्सीले यहीँ खाने खाना हामीलाई ४ हजार ५ सय मिटरमा खुवाउने हुँदा त्यहाँ खाना मिठो लाग्दैन र खान सकिन्न, रुच्दैन।
छैटौँ, केही गरी कुनै कारणले अक्सिजनको मात्रा कम भयो भने उपचारको विकल्प अत्यन्त कम छ।
सातौँ, जाने बेलामा गाइड भन्छन्, ‘गाडीमा सुत्नु हुन्न है!’ यो भनाइले धेरै अर्थ राख्छ।
आठौँ, जाडो धेरै हुने भएकोले धेरै लुगा बोक्न पर्दैन। हरेक दिन नुहाउने वा लुगा फेर्ने गर्न सकिन्न, गर्नु हुँदैन र गर्नु पर्दैन।
नवौँ, यदि आफूसँग गएका कोही आफन्त वा साथीको मृत्यु भयो भने हाम्रो संस्कार अनुरुप जलाउन सकिन्न, लास नेपाल ल्याउन करिबकरिब सम्भव छैन। त्यत्तिकै छाडेर फर्कनुको विकल्प झण्डैझण्डै छैन।
कैलाश मानसरोवरको यात्रा यात्रुको आर्थिक अवस्थाबाहेक आँट र स्वास्थ्यको दोभान हो। जान सकिन्छ, जान हुन्छ तर माथिका कुरा मनन गरौँ। कसैको लहलहैमा लागेर हुन्न। भावनामा बगेर श्रवणकुमार बन्ने काम नगरौँ। दुर्घटनामा सम्भावनाको सिद्धान्त लागू हुन्न। त्यहाँ एक नै सय हो।
जय शम्भो!
(पूर्वबैंकर राजु नेपाल सन् २०२४ को कैलाश मानसरोवर यात्री हुन्)
Shares

प्रतिक्रिया