विचार


चार दिनको लडाइँमा भारतको जित भयो कि पाकिस्तानको?

आकाशमा भारत र जमिनमा पाकिस्तानले बेहोरेको चोट
चार दिनको लडाइँमा भारतको जित भयो कि पाकिस्तानको?

म्याथ्यु चान्स
बैशाख २९, २०८२ सोमबार १६:१०,

त्यसै भनिएको होइन, जितका दाबेदार हजार हुन्छन्, तर हार टुहुरो हुन्छ। 

दक्षिण एसियाका दुई चिर शत्रु भारत र पाकिस्तानबीचको छोटो तर पीडादायी लडाइँपछि पनि यही भनाइ अक्षरसः लागू भइरहेको छ। दुवै पक्ष आफ्नो सफलताको बखान जोडतोडले गरिरहेका छन् र क्षतिको बारेमा गुपचुप छन्।

अमेरिकाको मध्यस्थतामा युद्धविराम लागू भएको केही मिनेटमै भारतका उन्मत्त टेलिभिजन च्यानलहरूमा यस्तो शीर्षक छायो– ‘पाकिस्तानले आत्मसमर्पण गर्‍यो।’

कस्मिरको पहलगाममा अप्रिल २२ का दिन भएको पर्यटकहरूको हत्याका कारण भारतले पाकिस्तानविरुद्ध गरेको यो सैन्य कारबाहीले आतंकवादीहरूलाई भयंकर सन्देश दिएको भारतका रक्षामन्त्री राजनाथ सिंहले बताए।

उता पाकिस्तानमा प्रधानमन्त्री शहबाज सरिफले भने, ‘हाम्रो बहादुर सेनाले सानदार तरिकाले सैन्य इतिहास रच्यो।’ त्यो ‘जित’को उत्सव मनाउन मानिसहरूको भीड सडकमा ओइरियो।

‘केही घण्टामै हाम्रा लडाकु जेटले यसरी भारतीय बन्दुकमा बुजो लगाइदियो कि त्यसलाई इतिहासले छिट्टै बिर्सिने छैन,’ सरिफको दाबी थियो। उनले त्यसो भनिरहँदा पाकिस्तानी सडकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन हुँदै थियो।

तर, यो लडाइँ दुई परमाणु शक्तिसम्पन्न छिमेकीबीच भएको हिंसाको त्यस्तो विस्फोट थियो, जसमा दुवै पक्षले सफलता पनि पाए र नोक्सान पनि ठूलै बेहोरे।

पाकिस्तानले आकाशमा सफलता प्राप्त गरेको फूर्ति लगाइरहेको छ। आफ्ना पाइलटले हवाइ युद्धमा पाँचवटा भारतीय लडाकु विमान खसाइदिएको उसको दाबी छ। जसमा तीनवटा चाहिँ फ्रान्समा बनेको अत्याधुनिक राफेल विमान रहेको पाकिस्तानको भनाइ छ। यो पूर्ण सत्य साबित भए भारतीय वायु सेनाका लागि निकै ठूलो अपमानको कुरा हो।

सीएनएनको रिपोर्टअनुसार पाकिस्तानको सीमानजिक भारतीय क्षेत्रमा पाकिस्तानले विमान खसाएको दाबी गरेकै समयमा दुईवटा विमान दुर्घटना भएका छन्। र, फ्रान्सेली गुप्तचर स्रोतले पाकिस्तानले कम्तीमा एउटा राफेल विमान खसाएको बताएको छ।

भारतीय अधिकारीहरूले अहिलेसम्म विमान खसेको स्वीकार गर्न इन्कार गरिरहेका छन्। 

उता भारतले नयाँ स्याटलाइट तस्बिर सार्वजनिक गरेको छ, जसमा पाकिस्तानी हवाइ अड्डा र रेडार स्टेसनमा गम्भीर क्षति भएको देखिन्छ। आफूहरूले पाकिस्तानी सैन्य अखडाहरूलाई धराशायी बनाएको भारतीय अधिकारहिरुको दाबी छ।

अर्को शब्दमा भन्दा यो लडाइँको नतिजालाई भारत र पाकिस्तानका राजनीतिक तथा सैन्य नेतृत्वले जसरी मन लाग्यो, त्यसरी व्याख्या गर्न सक्छन्। तर, यो लडाइँको स्पष्ट विजेता भने कोही छैन।

युद्धविरामपछि त्यसको जस लिन पनि हानथाप भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक ट्रुथ सोसलमा दुई देश तुरुन्त युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए। सुरक्षा स्थिति तीव्र गतिमा नाजुक हुँदै जाँदा यो नियन्त्रणबाहिर जाने खतरा देखिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले दुवै देशका राजनीतिक तथा सैन्य नेतृत्वसँग फोनमा कुरा गरेका थिए र रोकिन आग्रह गरेका थिए। 

यो हस्तक्षेपका लागि पाकिस्तानीहरूले अमेरिकाप्रति आभार व्यक्त गरे। तर, भारतीय नेताहरूले अमेरिकी भूमिका ज्यादा नभएको बताए। युद्धविरामको सहमति भारत र पाकिस्तानबीचको सोझो वार्तामार्फत भएको उनीहरूको भनाइ छ।

भारतले यसो भन्नुको कारण उनीहरूको राष्ट्रिय गौरव हुनसक्छ। किनकि उनीहरू यो युद्धविराम अमेरिकाले लागू गराएको हो वा अमेरिकाले मध्यस्थता गरेको हो भन्न पनि हिच्किचाउँछन्।

त्यसमाथि दिल्लीले भारत र पाकिस्तानबीच विवादित कस्मिरको बारेमा वैदेशिक मध्यस्थता मान्य नहुने नीति लामो समयदेखि अपनाउँदै आएको छ। अहिलेको लडाइँको केन्द्रमा पनि त्यही कस्मिर छ। यसलाई भारत आफ्नो आन्तरिक मामिला मान्छ।

जे भए पनि युद्धविराम गराउन सफल भएका ट्रम्पले उत्साहित हुँदै दुवै मुलुकलाई कस्मिर विवादबारे ‘एक हजार वर्षपछि दिगो समाधान खोज्न’ सघाउने प्रस्ताव गरेका छन्। स्वाभाविक रूपमा सो प्रस्तावको पाकिस्तानले स्वागत गर्‍यो भने भारतले सुनेको नसुन्यै गर्‍यो।

ट्रम्पको प्रस्तावले के स्मरण गराउँछ भने यो युद्धविराम क्षणिक मलमपट्टीबाहेक केही होइन। जसले चुरो कारण समाधान गर्दैन। त्यो कारण हो– दशकौँ पुरानो कस्मिर विवाद।

त्यसैले पनि यतिबेला भारत र पाकिस्तानले गरेको आआफ्नो जितको दाबी खोक्रो सुनिन्छ। त्यसमाथि केही समयपछि नै कस्मिर विवाद एकपटक फेरि अवश्य उम्लिनेछ। 

(सीएनएनबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad