कारोबार


वर्षासँगै आएको हावाहुरीले ३० बिघामा लगाएको केराखेती नष्ट, ५१ लाखको क्षति

वर्षासँगै आएको हावाहुरीले ३० बिघामा लगाएको केराखेती नष्ट, ५१ लाखको क्षति

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १६:२०, बनियानी

झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ। 

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताए।

हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सिसीटीभी क्यामेरा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बाङ्गिएर क्षति भएको छ। उक्त स्टोर हलको भित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेको छभने करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ।

हावाहुरीले दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छभने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad