चैत १५ को तीनकुने काण्ड हुनुअघि नै म टाढाबाट एउटा लेख लेख्दै थिएँ, जुन लेखमा भन्न खोजिरहेको थिएँ– नेपालमा राजा होइन, अ(राजा) कता आउँदैछ।
यसो हुन नदिन फेरि पनि एउटा उपाय दोहोर्याउन खोज्दै थिएँ। अल्छीवश त्यो लेख पूरा गरिनँ। म ढिलो भएँ।
चैत १५ आयो। तीनकुने काण्ड भयो। दुईजनाले ज्यान गुमाए। धनमालको ठूलो नोक्सान भयो।
भयो ठिक त्यस्तै, जो म चैत १५ अघि भन्न खोजिरहेको थिएँ। भन्न खोजिएजस्तै– राजा होइन, अ(राजा) कता आयो।
हुन त २०६१ भदौ १६ मा जलिरहेको काठमाडौँ देखेको, भोगेको र आफ्नो कार्यालयपछाडिको एउटा चप्पल कारखानामा हामफालेर भागेको मजस्ताका लागि काठमाडौँमा चैत १५ गते भएको घटना अराजक भीडको मनोविज्ञानको एउटा नक्कल मात्रै हो। त्यसलाई कुनै वाद वा संस्थासँग जोड्नु बेकार कुरा हो।
आजको नेपाली लोकतन्त्रका मुख्य सञ्चालकहरूले समयमै चेतेनन् भने २०६१ भदौ १६ को वा २०८१ चैत १५ को पटकपटक नक्कल हुनेवाला छ– राजाका नाममा, रविका नाममा, बालेन वा अरु यस्तैका नाममा।
भीडको त्यस्तो ‘कपीक्याट’ मनोविज्ञानलाई राजावालाहरू वा अरु कोहीले (अरु कोहीमा को पर्छन्, तपाईंहरू आफै अनुमान गर्नुहोला) आफ्नो ताकत ठानिरहेको छ भने यो उनीहरूको सबैभन्दा ठूलो भ्रम हो।
तर यो पनि एउटा जबर्जस्त सत्य हो कि नेपालको भूगर्भमा सधैँ जति भूकम्पको जोखिम छ, त्यति नै जोखिम राजनीति र समाजमा पनि छ। भूकम्प र आक्रोश दुवै थेग्रिएर बसेका छन् नेपालमा।
थेग्रिएको जन आक्रोशले राजालाई खोजिरहेको छ वा अर्को कुनै खास जादुगरलाई खोजिरहेको छ, यो पनि होइन।
म केमा हिजो पनि, आज पनि र भोलि पनि ढुक्क छु भने– नेपालमा अहिले जेजस्ता अनुहारले राजा ल्याउने वा अर्को ‘अनिल कपुर’को कुरा गरिरहेका छन्, उनीहरूसँग खासमा त्यो ताकत र गुण नै छैन। उनीहरूमा न राजा ल्याउने ताकत वा गुण छ, न कथं कसैले स्थापना गर्दिएका राजा वा अनिल कपुरलाई टिकाउन सक्ने ताकत वा गुण नै उनीहरूमा छ। यसरी राजा आउँदै आउँदैनन्। कथं राजा यसरी नै आए भने तिनले कुनै हालतमा वैतरणी तार्दैनन्। यसरी ‘अनिल कपुर’ सिनेमामा मात्र आउँछन्, सिनेमाका अनिल कपुर र सिनेमाबाहिरका अनिल कपुर बिल्कुल दुई फरक कुरा हुन्।
यसैले, राजा धान्ने ताकत नभएका राजावाला, वैतरणी तार्न नसक्ने राजा र सिनेमाका अनिल कपुरका जुँगा उखेल्ने र उनीहरूका नाममा धेरै शब्दहरू खर्च गर्ने रुचि ममा छैन।
खै किन हो, अहिले नेपालमा मरेका बाघका जुँगा उखेल्ने ठूलै होड चलिरहेको छ। कसैले ज्ञानेन्द्र शाहका, कसैले दुर्गा प्रसाईंका, कसैले रवीन्द्र मिश्र वा धवल शमशेर वा अरु कसैका जुँगा उखेलिरहेका छन्।
के ती जिउँदा बाघ हुन्?
खासमा लोकतन्त्रवालाहरूले आफू जिउँदो बाघ भएको बिर्सेका छन्। र, मरेको बाघसँग डराएका जस्ता देखिन्छन्।
कतिपय बुद्धिजीवी र मिडियाका साथीहरू समेत मरेको बाघमा ताकत देखिरहेका छन्। र, त्यसका जुँगा उखेल्नमा गौरवान्वित छन्। मलाई बडो आश्चर्य लागिरहेको छ।
एउटा कुरा म बडो जोडले सुनाउन चाहन्छु– आज पनि नेपालको राजनीतिक जंगलमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को कुनै जिउँदो बाघ छैन। कसैले भ्रम नपाले हुन्छ। भलै तीसँग मेरा अनेक गुनासाहरू छन्। अरु पार्टीहरूले चित्त नदुखाउनुहोला। चित्तै दुखाए पनि मेरो केही भन्नु छैन। आजको यथार्थ यही हो।
हो, यी दुई बाघले बाटो बिराएका कारण स्यालहरूको हुइयाँ बढेको हो।
मलाई स्यालहरूसँग गुनासो छैन।
गुनासो छ त बाघहरूसँग छ, जसले स्यालहरूका लागि ठूलै ‘स्पेस’ बनाइदिए। नेपालको आजको राजनीतिमा राजावालाहरू मात्र स्याल होइनन्, अरु पनि स्यालहरू छन्। ती स्यालहरूले कसरी जंगललाई निरस बनाउँदै गए, म कुनै बेला छुट्टै विश्लेषण गरौँला।
आज मलाई नेपाली राजनीतिक जंगलका दुई बाघहरूमाथि नै अलिकति गुनासो गर्ने अनुमति दिनुस्। कतिपयले भन्लान्, यो गुनासो गर्ने समय होइन। म भन्छु– ठिक समय नै यही हो।
स्याल हुइयाँको लहडमा म बाघका सय खुन माफको पक्षमा छैन।
मलाई नेपालका राजावालाहरूसँगभन्दा बढ्ता डर नेपालका लोकतन्त्रवालाहरूसँग छ। र, खासगरी, यिनका नेतृत्व कर्ताहरूसँग।
यिनले कति नचेतेका?
के यिनले कहिल्यै चेत्नु पर्दैन?
के यिनले आफू के हो भन्ने कुराको तत्वबोध गर्नु पर्दैन?
हो, यो ठिक समय हो तत्वबोध गर्ने। तत्वबोध अलि आध्यात्मिक शब्द हुन सक्छ। राजनीति र अध्यात्मबीच बडो जटिल सम्बन्ध छ। पाठकहरूसँग कुनै उपयुक्त शब्द छ भने मलाई भन्नुहोला। म चाहिँ अहिले यही तत्वबोध भन्ने शब्द नै प्रयोग गर्छु।
तत्वबोध गर्न ढिलो भयो।
हो, नेपाली कांग्रेस र एमालेको नेतृत्वकर्ताले, बितेका तीस वर्षमा पनि तत्वबोध नगरेकै हुन्। खासगरी पछिल्ला सत्र–अठार वर्षमा त कांग्रेस र एमालेका खास नेतृत्वकर्ताहरूका कारण नै देशमा धेरै बर्बादी भएका छन्। अब देशसँग थप बर्बादी सहन गर्न सक्ने ताकत छैन।
क्यान्सरका प्रारम्भिक लक्षणहरू देशको शरीरमा देखिएका छन्। केमोथेरापीले पनि त्यतिन्जेलसम्म काम गर्छ, जतिन्जेल ज्यानले थेग्न सक्छ।
ज्यान दिन प्रतिदिन कमजोर बन्दो छ। क्यान्सरले च्याप्दो छ। लोकतन्त्रवादीभित्र पनि दुर्गा प्रसाईंहरू छन्। डर मलाई राजावालका दुर्गा प्रसाईंसँग होइन, लोकतन्त्रभित्रकै दुर्गा प्रसाईंहरूबाट छ।
म कुनै न कुनै रूपले मिडियासँग सम्बन्ध राख्ने मान्छे। म आज नेपाली मिडियामा पनि दुर्गा प्रसाईंहरू देखिरहेको छु। मलाई तिनले गर्ने क्षतिको सधैँ डर छ।
अनेक डरका बीच, यो समयमा टाढाबाट मेरो आज फेरि दोस्रोपटक नेपाली कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी शर्मा ओलीलाई आग्रह छ– कृपापूर्वक अब तपाईंहरूले हात उठाउनुस् र भन्नुस्– हामीले जति राम्रो–नराम्रो गर्यौँ, गर्यौँ, अब कोही आउनुस्, देश बचाउनुस्, राजा होइन।
नेपाली कांग्रेस र एमालेका पहिलो र दोस्रो पुस्ताको समय मेरो हिसाबमा अब सकिइसकेको छ। अब तपाईंहरू नेपाली राजनीतिमा जति हाबी हुनुहुन्छ, त्यति अराजकता हाबी हुन्छ।
म यो विषयमा केही वर्षदेखि बडो प्रस्ट छु।
यसैले झण्डै एक वर्षअघि टाढाबाट मैले त यही नेपालखबरमा एउटा लेख लेखेको थिएँ, जसको शीर्षक थियो– अब, गगन थापा।
त्यो लेखमा मोटामोटी मुख्य तीन कुरा थिए–
एक, नेपालमा अहिलेको जस्तो लोकतन्त्र अब काम छैन।
दुई, नेपाली लोकतन्त्र हार्दो छ।
तीन, हार्दो नेपाली लोकतन्त्रलाई एकपटक जिताउन सक्ने अब एक मात्र खेलाडी हुन्– गगन थापा।
त्यो लेख झण्डै ६२ हजार जनाले सेयर गरे। सयौँ क्रियाप्रतिक्रियाहरू आए। कतिपयले भनिरहेका थिए– गगनको मिडिया प्लान। कतिपयले भनिरहेका थिए– चाकडी। र, कतिपयले भनिरहेका थिए– अलि बढ्तै भयो गगनको प्रशंसा। मान्छेलाई यो हदसम्म बढ्ता प्रशंसा गर्नु राम्रो होइन।
गगनको मिडिया प्लान र गगनको चाकडी गरेको भन्नेहरूका विषयमा मेरा कुनै प्रतिटिप्पणीहरू थिएनन्, म हाँसी मात्र रहेको थिएँ।
तेस्रो टिप्पणीमा भने मलाई केही भन्नु थियो।
भनेँ– मैले त्यो लेख गगनको समीक्षा गर्न लेखेकै थिइनँ। यसकारण लेखेको थिएँ, जहाँ मलाई भन्नु थियो– नेपाली लोकतन्त्र हार्दो छ। र, हार्दो लोकतन्त्रलाई कमसेकम एकपटक हारबाट जोगाउन सक्ने ताकत गगनले राख्छन्।
बस्, भनेको यत्ति हो।
हजारौँ, लाखौँ मान्छेले सुनेको, सही ठहर्याएको त्यो मेरो विचार, खै किन हो देउवा, ओली र माओवादीका पुष्पकमल दाहालले चाहिँ कसोकसो ऊ बेला सुनेनन्।
उनीहरूका कान र विचारमा के समस्या छन्, म जान्दिनँ?
तर आज नेपालमा यस्तो एउटा परिस्थिति देखिँदैछ– लोकतन्त्र आफनो अन्तिम खेलमा छ। र, हार्ने सम्भावना बढदो छ। देउवा, ओली वा दाहालसँग खेल जिताउन सक्ने ताकत करिबकरिब शून्य छ।
उनीहरूमा जित्ने ताकत असाध्यै कमजोर त छँदैछ, दर्शक अर्थात् जनताको पनि उत्तिसारो समर्थन छैन।
अनि खेल जितिन्छ कसरी?
खै किन हो, म लोकतन्त्रले हार नखाओस् भन्ने चाहन्छु। चाहन्छु– अन्तिम मिनेटमा पनि कोही नयाँ खेलाडी मैदानमा छिरोस् र चमत्कार गरोस्।
नेपाली कांग्रेस वा एमालेभन्दा बाहिरबाट आउने कोही खेलाडीले अहिले नै अन्तिम मिनेटको खेल खेल्न सक्छ भन्ने विश्वास मलाई छैन।
यसैले आज फेरि म टाढाबाट भन्दैछु– त्यो खेलाडी हुन सक्छः फेरि पनि गगन थापा।
टाढाबाट म आज फेरि भन्दैछु– कमसेकम एकचोटि गगनलाई मैदान दिनुस्।
होइन भने, अबका नेपालका दिनहरू राम्रा देखिँदैनन्। राम्रा नदेखिएका अनेक संकेतहरू आइरहेका छन्।
एउटा संकेत– राजावालाहरूको चुरीफुरी।
दोस्रो संकेत– भारतीय मिडियामा त्यहाँका विश्लेषकहरूका चुरीफुरी।
र, तेस्रो संकेत– अमेरिकामा ट्रम्पराजको चुरीफुरी।
यी तीन चुरीफुरीका अनेक असर छन्। यी असरलाई समयमै नेपालका अहिलेका मै हुँ भन्ने राजनीतिक दलका नेताहरूले हेक्का राख्न सकेनन् भने म निश्चितताका साथ भन्छु– नेपाल अब फेरि अर्को संक्रमणमा प्रवेश गर्दैछ।
राजावादीहरू ठानिरहेका छन्– राजा आए देशले लय पकड्छ।
लोकतन्त्रवालाहरू ठानिरहेका छन्– अहिले नै देश लयमा छ।
यी दुई खतरनाक चेत र भ्रमहरूको मारमा अहिले नेपाल छ। अब मलाई केहीबेर राजावालाहरूको चेत वा भ्रमका बारेमा केही भन्न दिनुस्।
हुन त राजावालाहरूका पनि अनेक चरित्र र चित्रहरू छन्। म कुन राजावालाको कुरा गरुँ?
नवराज सुवेदीका जुन राजा हुन्, ठिक त्यही राजा राजेन्द्र लिङ्देन वा रवीन्द्र मिश्रका हुन् कि होइनन्, मलाई शंका छ। दुर्गा प्रसाईंका जुन राजा हुन्, ठिक त्यही राजा केशरबहादुर विष्टका हुन् कि होइनन्, मलाई शंका छ। हिजो राजाका नाममा फाइदा लिएका तर लोकतन्त्र आएपछि राजनीतिक रूपले दमित बनेकाहरूका जुन राजा हुन्, ठिक त्यही राजा ०६३ सालपछि जन्मे हुर्केकाहरूका हुन् कि होइनन्, मलाई शंका छ।
भाटभटेनी स्टोरबाट चार बोतल बियर बोकेर हिँड्ने वा तीन दाना सुन्तला टिपेर हिँड्नेले राजा खोजिरहेको हो कि अरु केही, मलाई शंका छ। मलाई राजावालाहरूमाथि नै शंका छ, ती एकै हुन् वा फरक।
खैर, ती जे होऊन, म अहिले रवीन्द्र मिश्रवाला राजावालालाई टिप्छु। बाँकी राजावालाहरू आफूले के कुरा गरिरहेको छु र आफूले गरिरहेको कुराको के दीर्घकालीन अर्थ राख्छ भन्ने हेक्कासम्म राख्न नसक्नेवालाहरू छन्।
रवीन्द्र मिश्र भनिरहेका छन्– नवीन समझदारी। मलाई थाहा छैन, उनले ठयाक्कै कोसँग नवीन समझदारी गर्न खोजिरहेका छन्?
मिश्रजी जो, ओली, देउवा र प्रचण्डको सत्तोसराप गरिरहेका छन्, के उनी तिनै र राजाबीच नवीन समझदारी होस् भन्ने चाहन्छन्? ओली, देउवा वा प्रचण्ड आज खराब हुन् भने नवीन समझदारीका नाममा भोति ती कसरी असल हुन सक्छन्? मिश्रजीको अहिलेसम्मको भाषामा ओली, देउवा वा प्रचण्ड फोहोरका पोखरी हुन्। के मिश्रजी उनले सफा ठानेका राजालाई त्यही पोखरीमा मिसाउन चाहन्छन?
के हो त्यो नवीन समझदारी भनेको?
म मिश्रजी वा उनका चेतमा विश्वास राख्नेहरूलाई आज एउटा सुझाव दिन चाहन्छु– तपाईंहरूलाई अहिलेको नेपाली लोकतन्त्र र यसका सञ्चालकहरूमाथि ठूलो गुनासो छ भने उनीहरूसँग नवीन समझदारीको कुरै बन्द गर्नुस्।
एउटा पोखरी जुन फोहोर छ, त्यो पोखरीमा तपाईं किन तपाईंले ठानेको सफा पानी मिसाउन खोज्नुहुन्छ मिश्रजी? बरु प्रष्टसाथ भन्नुस न– नेपाललाई केही समयका लागि सक्रिय राजतन्त्र आवश्यक छ। दुईवटा होइन, एउटै पोखरी राखौँ। यसो भन्नु बढी तर्कसंगत देखिन्छ।
कोही कसैले सोची विचारी कि त अनुशासित र कामयाबी लोकतन्त्र भनोस्, कि त सक्रिय राजतन्त्र भनोस्। मेरो विचारमा यो भन्दाबाहेक नेपालको राजनीतिमा अर्को कुनै बहसको विषय हुनु हुँदैन।
बीचका बाँकी बहसहरू नक्कली हुन्। यस्ता नक्कली बहसमा मेरो कुनै रुचि छैन।
दोस्रो, असाध्यै महत्त्वपूर्ण र गम्भीर विषय छ– भारतीय मिडिया र त्यहाँका कतिपय विश्लेषकहरूका पछिल्ला टिप्पणी र चुरीफुरी। उनीहरू असाध्यै आपत्तिजनक टिप्पणी गरिहेका छन्– नेपालका सन्दर्भमा।
केही दिनअघि भारतीय मिडियामा नेपालका सन्दर्भमा भइरहेको बहस सुनिरहेको थिएँ, जहाँ एकजना भनिरहेका थिए– अमेरिकामा राष्ट्रपति ट्रम्पले जसरी क्यानडालाई आफनो एउटा स्टेट बनाउने खालका अभिव्यक्ति दिइरहेका छन्, त्यस्तो अभिव्यक्ति भारतले नेपालका बारेमा त दिइरहेको छैन नि।
सतहमा हेर्दा यो वाक्य सामान्यजस्तो लाग्छ, तर वाक्य पटक्कै सामान्य होइन। ती विश्लेषक यो सन्देश नेपाललाई दिइरहेका छन्– अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाका सन्दर्भमा भनेजस्तै भारतले पनि कुनै पनि दिन नेपालका सन्दर्भमा भन्न सक्छ।
संयुक्त राष्ट्र संघ कमजोर भएको र ट्रम्प मनोविज्ञान हाबी भएको यो समयमा भारतीय मिडियामा हुन थालेका यस्ता खतरनाक बहसहरू असाध्यै डरलाग्दा छन्। नेपालको आजको जस्तो राजनीतिले यो थेग्न सक्छजस्तो मलाई लाग्दैन।
र तेस्रो कुरा– अमेरिकामा ट्रम्पको चुरीफुरी।
ट्रम्पको चुरीफुरीले विश्वकै कूटनीतिक, राजनीतिक र आर्थिक मान्यताका जराहरू हल्लाइदिएको थियो। ट्रम्पले जरा हल्लाइरहेका छन्। नेपालजस्ता देशमा रुख नै ढल्ने चिन्ता छ।
यो होसियारीको समय हो।
म चाहन्छु– नेपालको राजनीतिक नेतृत्वले यी सबै चीज विचार गरोस् र भनोस्– कोही आओस्, नेपाली लोकतन्त्र र नेपाललाई बचाओस्।
यहाँ एउटा कुरा चाहिँ म स्पष्ट भन्न चाहन्छु– यो बीचमा रवि वा बालेन शाहहरूले पनि लोकतन्त्रको जरा हल्लाउन कहीँ न कहीँ भूमिका खेलेकै हुन्। यसैले अहिले नै लोकतन्त्रको ठेकेदार बन्ने हैसियत उनीहरूले राख्दैनन्। उनीहरूको ‘बेस’ भीड हो।
भीड सधैँ खतरनाक र ‘अनप्रेडिक्टेबल’ हुन्छ।
खै किन हो, मलाई त एकचोटि लोकतन्त्र जोगाउने ताकत गगनले नै राख्छन् जस्तो लाग्छ। गगनका अनेक अवगुण होलान् वा नहोलान्। म त आज फेरि भन्छु– गगन आओस्, लोकतन्त्र बचाओस्।
मेरो दृष्टिमा गगन त एउटा प्रतीकात्मक पात्र हुन्, अरु कोही गगनजस्तै तपाईंका मनमा छन् भने भन्नुहोला।
Shares

प्रतिक्रिया