विचार


यसकारण पुटिनले अस्वीकार गर्न सक्छन् ३० दिने युद्धविराम प्रस्ताव

यसकारण पुटिनले अस्वीकार गर्न सक्छन् ३० दिने युद्धविराम प्रस्ताव

माइकल एभन्स
फागुन २९, २०८१ बिहिबार ८:२४,

मंगलबार अमेरिकासँग साउदी अरबमा भएको वार्तामा युक्रेनले ३० दिने अस्थायी युद्धविराम गर्न सहमति जनायो। अब एउटा प्रश्नको जवाफ प्राप्त हुन बाँकी छ– के राष्ट्रपति भ्लादिमिर पुटिन अहिले कुनै पनि किसिमको सम्झौता गर्न इच्छुक होलान् त?

पुटिन शान्ति चाहन्छन् भन्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वस्त छन्। तर, पुटिनले युद्ध अन्त्य गर्न चाहे पनि के उनले अमेरिकाको सर्तमा युद्ध टुंग्याउलान्? कि आफ्नो मुख्य लक्ष्य पूरा नहुञ्जेल पर्खेलान्? उनले यसअघि युक्रेनका चार प्रान्त पूर्ण रूपमा रुसको नियन्त्रणमा हुनुपर्ने सर्त अघि सारेका थिए। 

सेप्टेम्बर २०२२ मा क्रेमलिनको सेन्ट जर्ज हलमा पुटिनले घोषणा गरेका थिए– रुसमा अब चार नयाँ क्षेत्र थपिएका छन्, दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा। यी क्षेत्रका बासिन्दा ‘सधैँका लागि हाम्रो नागरिक’ बनिसकेको उनको भनाइ थियो।

यी चार क्षेत्र त्यतिबेला आंशिक रूपले मात्रै अहिले रुसको अधीनमा थियो। तर, पुटिनले ती भूभाग रुसमा विलय भइसकेको र युद्धविरामका लागि युक्रेनले त्यसलाई स्वीकार्नुपर्ने बताएका थिए। 

त्यसको करिब ३० महिना बितिसक्दा पनि रुसी सेनाले यी क्षेत्रको सम्पूर्ण इलाका कब्जा गर्न सकेको छैन। उदाहरणका लागि खेर्सन र जापोरिजा सहर अझै पनि युक्रेनको नियन्त्रणमा छ। मार्च २०२२ मा खेर्सन रुसले कब्जा गरेको थियो। तर, नोभेम्बरमा त्यो स्थान युक्रेनले फिर्ता लियो। जापोरिजा पनि युक्रेनको नियन्त्रणमा छ तर जापोरिजा आणविक भट्टीमा रुसले नियन्त्रण जमाएको छ।

यसको अर्थ, पुटिनको लक्ष्य अधुरै छ। जब ट्रम्प राष्ट्रपति भए र ‘पुराना साथी’ रहेका दुई नेताबीच ९० मिनेट लामो न्यानो फोन संवाद भयो, तब पुटिनले पूर्वी युक्रेनमा आफ्नो योजना सफल हुनसक्ने निष्कर्ष निकालेको हुनुपर्छ।

गत महिना भ्लादिमिर जेलेन्स्कीसँग झगडा परेर ट्रम्पले सैन्य सहायता र गुप्तचर सूचना रोकेपछि त पुटिनले पक्कै आप्ना सैन्य कमान्डरहरूलाई खेर्सनसहित आफूले विलय गरिसकेका चार क्षेत्र पूर्ण रूपमा कब्जा गर्न आदेश दिए होलान्। 

उसोभए अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेलेन्स्कीका वार्ताकारसँग नौ घण्टा लामो वार्तापछि गरेको ३० दिने युद्धविरामको प्रस्ताव मान्नुमा पुटिनलाई फाइदा छ त?

‘बल अब रुसको कोर्टमा छ। हुन्छ वा हुँदैन भन्ने जिम्मा अब उनीहरूको काँधमा छ,’ रुबियोले साउदीको वार्तापछि भनेका छन्।

निर्णय गर्नका लागि पुटिनसँग ज्यादा समय छैन। ट्रम्पले यही साता पुटिनलाई फोन गर्ने बताएका छन्। र, उनले पुटिनसँग भेट्न आफ्ना विशेष दूत स्टिभ विट्कोफलाई पठाउने बताइएको छ। विट्कोफको छवि कस्तो छ भने भनिन्छ, उनी कहिल्यै पनि नाइँ भन्ने जवाफ सुन्न सक्दैनन्। गाजामा युद्धविरामको विषयमा कुरा गर्ने विषयमा जब बेन्यामिन नेतन्याहुले भेट्न आनाकानी गरे, तब विट्कोफले उनलाई आफू भेट्न आउने बताए। अन्ततः नेतन्याहु झुक्नु पर्‍यो।

युक्रेनमा शान्तिका लागि ट्रम्पको प्रयासमा पुटिनले सहमति जनाउने सम्भावना छ। किनकि यो लडाइँ अन्त्य गर्ने सुनौलो मौका हो। अर्कोतिर, रुसको रणनीतिक साझेदार चीन पनि सौदाको पक्षमा छ।

तर, पुटिनलाई नराम्रो लाग्ने कुरा के छ भने ३० दिने युद्धविरामपछि आज लडाइँको अग्रमोर्चा जहाँजहाँ छ, त्यहीँत्यहीँ बिसाउने प्रस्ताव आउन सक्छ।

हालैका हप्ताहरूमा रुसी सेनाले सीमित भए पनि निरन्तर भूमि कब्जा गर्दै लगेको छ। यदि ट्रम्पले सैन्य सहायता र गुप्तचर सूचना अलि लामो समय रोकिराख्ने हो भने पुटिनले विलय गराएको क्षेत्रमा थप भूमि कब्जा गर्ने मौका पाउँथे।

यहीँनेर ट्रम्पले चतुर चाल चलेका छन्। ३० दिने युद्धविरामको प्रस्तावसँगसँगै जोडिएर आएको छ युक्रेनलाई अमेरिकी सैन्य सहायता र गुप्तचर सूचना आदानप्रदान गर्ने सर्त पनि। अर्थात्, ट्रम्पले व्यावहारिक रूपमा पुटिनलाई भनेका छन्– अमेरिका अब युरोपेली साझेदारहरूको पक्षमा फर्किसकेको छ। र, जेलेन्स्कीले पनि रुसी आक्रमणबाट देशको रक्षा गर्न जे चाहेको हो, त्यो पाउने छन्।

यसले पुटिनको हिसाबमा गडबडी ल्याउन सक्छ। किनकि उनका लागि ह्वाइट हाउससँगको सम्बन्ध सुधार्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। वर्षौँसम्मको शीतयुद्धकालीन एक्लोपनपछि अमेरिकासँगको सम्बन्ध नाटकीय तरिकाले बदल्ने मौका रुसले पाएको छ।

ट्रम्पले पुटिनलाई लोभ्याउन चाहनुको कारण जेसुकै होस्, उनले चीनसँगको साझेदारी कहिल्यै तोड्ने छैनन्। तर, ट्रम्पसँग बोलचालको सम्बन्ध कायम राख्नु पुटिनको हितमा छ। ताकि विश्वमञ्चमा उनी टिकिराख्न सकून्।

त्यसैले पुटिनले ३० दिने युद्धविरामको प्रस्ताव स्वीकार्दा ज्यादा फाइदा प्राप्त गर्ने छन्। तर, त्यसका लागि उनले गत तीन वर्षमा अघि सार्दै आएका मागहरू अक्षरसः पूरा हुनु पर्छ।

पुटिनले माथि उल्लिखित चार क्षेत्र छाड्नका लागि ट्रम्प र जेलेन्स्कीलाई राजी गराउन नसक्लान्। तर, यदि उनी युक्रेन नेटोमा सहभागी हुने सपना त्याग्न र पूर्वी युरोपबाट सीमित भए पनि नेटो फौज फिर्ता गराउन ट्रम्पलाई राजी गराए भने सायद उनी सम्झौताको दस्तावेजमा हस्ताक्षर गर्न तयार हुन सक्छन्।

तर, थुप्रै कुरा अझै अज्ञात छन्। के पुटिन पूर्वी युक्रेनका चार क्षेत्र सिंगै कब्जा गर्ने चाहनाबाट पछि हट्लान्? के उनले जेलेन्स्की युक्रेनको नेता हुँदाहुँदै सहमति गर्लान्? के रुसी सीमानजिकका मुलुकबाट आफ्नो सेना पछि हटाउन नेटो तयार होला?

(द स्पेक्टेटरबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad