विचार


ट्रम्पलाई ब्युँझाउन अब युरोपले गर्नुपर्ने छ तीन अकल्पनीय काम

ट्रम्पलाई ब्युँझाउन अब युरोपले गर्नुपर्ने छ तीन अकल्पनीय काम

किशोर महबुबानी
फागुन १४, २०८१ बुधबार १०:२२,

कठिन घडीमा अप्ठेरा उपायहरू अपनाउनुपर्ने हुन्छ। मेरा भूराजनीतिक गुरुहरूले सिकाएझैँ मान्छेले सधैँ अकल्पनीय अवस्थाका बारेमा सोच्नुपर्ने हुन्छ। अब युरोपले पनि अकल्पनीय काम गर्नुपर्ने समय आएको छ।

ट्रम्पको दोस्रो कार्यकालको असली जितुवा र हरूवा कोको होलान्, अहिल्यै भन्नु हतार हुन्छ। स्थिति बदलिन सक्छ। तैपनि, युरोपको भूराजनीतिक कद स्वात्तै घटेकोमा कुनै सन्देह छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूसँग परामर्श त के, उनीहरूलाई जानकारी समेत दिन आवश्यक ठानेनन्। युरोप कति असान्दर्भिक भइसक्यो, यसैले देखाउँछ। जबकि युरोपको भूराजनीतिक हित दाउमा लागेको छ। युरोपले आफ्नो भूराजनीतिक हैसियत उचाल्नलाई यी तीनवटा अकल्पनीय काम गर्नुपर्छ।

पहिलो, युरोपले नेटो छाड्न तयार रहेको घोषणा गर्नुपर्छ। यदि रक्षामा ५ प्रतिशत खर्च गर्न बाध्य हुनुपर्ने हो भने युरोपलाई अमेरिकाको आवश्यकता छैन। ईयू र बेलायतको जीडीपीको ५ प्रतिशत भनेको २०२४ मा १.१ ट्रिलियन डलर हुन आउँछ। त्यो २०२४ को अमेरिकी रक्षा बजेट ८२४ अर्ब डलरभन्दा बढी हो। गत वर्ष ईयू र बेलायतले रक्षामा जम्मा ४१० अर्ब डलर खर्च गरेका थिए।

अन्ततः युरोपले नेटो छाड्नुपर्ने अवस्था आउँदैन। तर, युरोपले साँच्चै नेटो छाड्न सक्छ भन्ने विश्वसनीय खतरा देखेपछि मात्रै ट्रम्प (र, उपराष्ट्रपति जेडी भान्स अनि रक्षामन्त्री पिट हेगसेथ पनि) ब्युँझिने छन्। जसले युरोपसँग सम्मानपूर्ण व्यवहार गर्न ट्रम्पलाई बाध्य पार्ने छ। 

त्यसविपरीत ट्रम्पको उत्तेजक गतिविधिपछि पनि युरोपेलीहरूले नेटोमै जोड दिइरहने हो भने दुनियाँलाई लाग्ने छ– युरोपेलीहरू आफ्नै अनुहारमा बर्सिरहेको जुत्ता चाटिरहेका छन्। 

अहिले युरोपेलीहरू जुन दलदलमा फसेका छन्, उनीहरूले त्यसको अलिकति पनि अनुमान गर्न सकेनन्। यो देखेर विश्वका थुप्रै मानिस चकित छन्। भूराजनीतिको पहिलो पाठ के हो भने हामीले सधैँ सबैभन्दा खराब स्थितिका लागि योजना बनाउनु पर्छ। तर, युक्रेन युद्ध सुरु भएपछि बनेका सबै युरोपेली रणनीतिक योजना सबैभन्दा उत्तम स्थिति अर्थात् अमेरिका पूर्ण रूपमा विश्वसनीय सहयोगी हुनेछ भन्ने सोचमा आधारित थियो। जबकि पहिलो कार्यकालमै ट्रम्पले विश्वकै ठूलो सैन्य गठबन्धन अर्थात् नेटोबाट बाहिरिने धम्की दिइसकेका थिए।

मेटरनिख, टालिराँ र किसिन्जरजस्ता रणनीतिक दिमाग जन्माएको यो महादेशको युक्रेन युद्ध र यसको दीर्घकालीन परिणामसम्बन्धी रणनीतिक सोच भने लगभग बालसुलभ रहँदै आएको छ।

यदि आज मेटरनिख, टालिराँ वा चार्ल्स दे गाल जिउँदो हुन्थे भने दोस्रो अकल्पनीय विकल्प रोज्न सिफारिस गर्ने थिए। त्यो हो– रुससँग एउटा नयाँ विशाल रणनीतिक सौदा गर्ने। एकअर्काको प्रमुख चासोलाई सम्बोधन गरेर। यो सुझावप्रति कयौँ प्रभावशाली युरोपेली रणनीतिकारहरूले आपत्ति प्रकट गर्नेछन्। किनकि रुस युरोपेली मुलुकहरूका लागि साँच्चैको सुरक्षा खतरा हो भन्नेमा उनीहरू विश्वस्त छन्।

साँच्चै हो त?

वास्तवमा रुसको सबैभन्दा आधारभूत रणनीतिक प्रतिद्वन्द्वी ईयू हो कि चीन? कोसँग उसको सबैभन्दा लामो सीमा जोडिएको छ? र, कसको तुलनामा रुसको सापेक्षिक शक्ति धेरै बदलिएको छ?

रुसीहरू सबैभन्दा माथिल्लो तहको भूराजनीतिक यथार्थवादी हुन्। उनीहरूलाई थाहा छ– अब न नेपोलियनको सेना, न हिटलरको ट्यांक नै फेरि मस्कोतर्फ बढ्ने छ। युरोपेलीहरू एकातिर युक्रेन (३ करोड ८० लाख जनसंख्या र १८९ डलरको जीडीपी भएको मुलुक) लाई रुसले हराउन सकेन भनेर खुसी मनाउँछन्। अर्कोतिर, युरोप (७४ करोड ४० लाख जनसंख्या र २७ ट्रिलियन डलरको जीडीपी) को सबैभन्दा ठूलो खतरा रुस हो भनेर घोषणा गर्छन्। उनीहरू यी दुई कुरामा रहेको विरोधाभाष देख्दैनन्।

ईयूसँग निष्पक्ष सम्झौता गर्न पाउने हो भने रुसीहरू खुसी हुने छन्। जसमा रुस र ईयूबीचको वर्तमान सीमाको सम्मान र युक्रेनका सवालमा दुवै पक्षको प्रमुख हितलाई हानि नपुयाई यथार्थमा आधारित सम्झौता सामेल हुने छ।

दीर्घकालमा रुस अनि भर्खरै रणनीतिक रूपले स्वायत्त बनेको युरोपका बीचमा केही हदसम्म रणनीतिक विश्वास निर्माण हुने छ। त्यसपछि युक्रेन विवादको कारण होइन, विस्तारै ईयू र रुसबीचको पुल बन्न थाल्ने छ। सापेक्षिक हिसाबले रुस उदाउँदो होइन, ओरालो लाग्दो शक्ति हो। त्यसकारण ब्रसेल्सले आफूलाई भाग्यमानी सम्झिनुपर्छ। आसियानजस्तो कमजोर क्षेत्रीय संगठनले चीनजस्तो उदाउँदो शक्तिसँग विश्वासिलो र दिगो सम्बन्ध कायम गर्न सक्छ भने ईयूले रुससँग त्यो भन्दा राम्रो सम्बन्ध निर्माण गर्न सक्छ।

र, यसले अकल्पनीय विकल्प ३ मा पुयाउँछ– चीनसँग नयाँ रणनीतिक सम्झौता गर्ने। यो कुरा पनि विदेशनीतिको आधारभूत जानकारीभित्र पर्छ– भूराजनीति भूगोल र राजनीतिगरी दुईवटा शब्दको संयोजनबाट बनेको हुन्छ।

अमेरिकाले प्रशान्त महासागरमा चीनको सामना गर्छ र वासिङ्टन विश्वको प्रधान शक्ति बनिराख्न चाहन्छ। अमेरिका र चीनबीचको सम्बन्ध शत्रुतापूर्ण किन भयो, त्यसको जवाफ भूगोल र राजनीतिले दिन्छ। तर, कुन भूराजनीतिक दबाबका कारण ईयू र चीनको सम्बन्ध बिग्रियो? अमेरिकाको भूराजनीतिक प्राथमिकताप्रति दासतापूर्ण वफादारी राख्दा भूराजनीतिक लाभ हुन्छ भन्ने मूर्खतापूर्ण विश्वासमा युरोपेलीहरू परे। तर, लाभको सट्टा तिनले मुखमा लात खाए।

उल्लेखनीय कुरा के छ भने चीनले ईयूलाई दीर्घकालीन भूराजनीतिक दुःस्वप्नबाट जोगिन मद्दत गर्न सक्छ। त्यो दुःस्वप्न हो– अफ्रिकाको जनसांख्यिक विस्फोट। 

१९५० मा युरोपको जनसंख्या अफ्रिकाको भन्दा दोब्बर थियो। आज अफ्रिकाको जनसंख्या युरोपको भन्दा दोब्बर छ। २१०० सम्ममा त्यो ६ गुणा बढी हुन सक्छ। अफ्रिकाले आफ्नो अर्थतन्त्र विकास गरेन भने युरोपमा अफ्रिकी आप्रवासीहरूको संख्या बढ्दै जानेछ। युरोपले कहिल्यै पनि ट्रम्पजस्ता नेता जन्माउँदैन भन्ने विश्वास यदि युरोपेलीहरूलाई छ भने त्यो उनीहरूको भ्रम मात्र हो। युरोपका उग्र दक्षिणपन्थी पार्टीलाई समर्थन गर्ने इलोन मस्क एक्लो अर्बपति होइनन्। 

युरोपमा मध्यपन्थी पार्टीहरूकै मात्र शासन कायम राखिराख्ने हो भने युरोपेलीहरूले अफ्रिकामा जुनसुकै विदेशी लगानीलाई स्वागत गर्नुपर्छ। जसले रोजगारी सिर्जना गर्छ र अफ्रिकीहरूलाई आफ्नै देशमा राख्छ। तर, त्यसको उल्टो अफ्रिकामा चिनियाँ लगानीको विरोध र आलोचना गरेर युरोपेलीहरूले आफ्नै खुट्टामा बञ्चरो हानिरहेका छन्। युरोपेलीहरूको दीर्घकालीन रणनीतिक सोच कति बेकामे छ, उनीहरूको यही एउटा कार्यले दर्शाउँछ। भूराजनीतिक दासत्वले लाभ हुने आशामा युरोपले अमेरिकी स्वार्थ पूर्तिका लागि आफ्नै रणनीतिक स्वार्थ बिर्सिरहेको छ। 

तर प्रस्ट छ, लाभ भएन। दुई हजार वर्षको भूराजनीतिले हामीलाई पढाएको सोझो पाठ के हो भने सबै महाशक्तिहरूले आफ्नै स्वार्थलाई सबैभन्दा अगाडि राख्छन्। र, आवश्यक पर्दा आफ्ना सहयोगीहरूको स्वार्थ बलि चढाउँछन्। 

यसर्थमा ट्रम्पले तर्कसंगत भूराजनीतिक खेलाडीको जस्तो व्यवहार देखाइरहेका छन्। उनले आफ्नो देशको हित जेमा देखे, त्यसैलाई अगाडि राखिरहेका छन्। त्यसैले, युरोपले ट्रम्पको आलोचना मात्र गर्नु पर्दैन। बरु, उनको अनुकरण गर्नु पर्छ र अहिले अकल्पनीय लाग्ने विकल्प रोज्नु पर्छ– अब युरोपले आफूलाई विश्वमञ्चमा रणनीतिक रूपले स्वायत्त शक्ति घोषित गर्नुपर्छ, जसले आफ्नो स्वार्थलाई सबैभन्दा अगाडि राख्ने छ। यदि युरोपले त्यसो गर्‍यो भने बल्ल ट्रम्पले अलिकति सम्मान देखाउन सक्छन्।

(फरेन पोलिसीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad