पदभार लिएदेखि आफूले जारी गरेका कार्यकारी आदेशविरुद्ध अहिलेसम्म ७४ ओटा मुद्दा खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुंकार गरे, 'देश बचाउन गरेको काम गैरकानुनी हुँदैन।'
सामाजिक सञ्जालमा पोखिएको उनको यो अभिव्यक्तिलाई अमेरिका र युरोपका सञ्चारमाध्यमले उन्नाइसौँ शताब्दीका फ्रान्सेली तानाशाह सम्राट नेपोलियनसँग दाँजेका छन्। सन् १८३३ मा प्रकाशित 'नेपोलियनका उदेश्य र विचार' पुस्तकमा उनलाई उद्धृत गरिएको छ, 'जो देशको रक्षा गर्छ, ऊ कानुनभन्दा माथि हुन्छ!'
नेपोलियन बोनापार्ट र डोनाल्ड ट्रम्प फरक युग र परिवेशमा जन्मिए। दुवैको पृष्ठभूमि पृथक छ। तर नेतृत्वशैली, व्यक्तित्व, आम मान्छेको धारणा प्रभावित गर्ने क्षमता, भीड आकर्षित गर्ने कला, उच्च महत्त्वाकांक्षा अनि दृढता र आफ्नो 'जजमेन्ट' र निर्णयमा अभेद्य विश्वास केही यस्ता प्रवृत्ति हुन्, जसमा नेपोलियन र ट्रम्पबीच रोचक समानता छ।
अठारौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली रक्तपातपूर्ण क्रान्तिमा राजाविरोधी मोर्चामा अग्रपंक्तिका योद्धा नेपोलियनले सन् १८०४ मा आफैलाई सम्राट घोषणा गरे। यतिबेला डोनाल्ड ट्रम्प शासित ह्वाइट हाउसको ओभल अफिस सम्राटको दरबरमा परिणत हुँदैछ। एकजना अनिर्वाचित संसारकै धनी व्यक्ति शक्तिको डमरु बजाउँदै छन्।
कुनै बेला नेपोलियन बोनापार्ट छ लाख पचास हजार स्थलसेना लिएर त्यतिबेला रूसको दोस्रो ठूलो सहर मस्कोमा महिना दिन राज गर्न पुगेका थिए। रुसी जारका सेनाले वरिपरिका गाउँ डढाएर खाद्दान्नको आपूर्ति रोकिदिएपछि फ्रान्सका सेना आफ्नै घोडा मारेर खान बाध्य भए। विकल्पहीन भएर फ्रान्स फर्केको सेना भयानक हिमपातको सिकार भयो। दैनिक एक हजारका दरले घोडा मर्न थाले। छ लाख पचास हजार सेना लिएर हिँडेका नेपोलियनसँग फ्रान्सको सिमाना टेक्दा केबल चालीस हजार सैनिक बाँकी थिए।
पेरिस आएपछि उनले आफूविरुद्द विद्रोहको सामना गर्नु पर्यो। उनलाई निर्वासनमा पठाइयो। एक वर्षभित्रै नेपोलियन आफूलाई थुनिएको टापुबाट भागेर फ्रान्सको सत्तामा पुनर्स्थापित भए। त्यसको सय दिनपछि भएको वाटरलू नामक युद्धमा बेलायती, डच, जर्मन र बेल्जियमको संयुक्त सेनासँग उनको हार भयो। उनी फेरी निर्वासित भए। केही वर्षपछि उनको मृत्यु भयो।
डोनाल्ड ट्रम्प पहिलो कार्यकालका लागि चुनावमा होमिँदा महिलाहरूका बारेमा उनको अश्लील र अपमानजनक भनाइको रेकर्ड सार्वजनिक भएपछि मान्छेले सोचेका थिए, अब यिनको दिन गयो! तर उनले चुनाव जितेर देखाए। आफ्नो पराजय स्वीकार नगरी समर्थकहरूलाई देशको संसद् भवन आक्रमण गर्न पठाउने ट्रम्पमाथि राष्ट्रदोहको मुद्दा लागेको हो। तर दोस्रोपटक उनी थप शक्तिशाली राष्ट्रपतिका रूपमा स्थापित भए। अब ट्रम्पको आफ्नै वाटरलूको युद्ध सुरु भएको छ। जहाँ सारा संसार एकातिर छ, ट्रम्प र मस्क अर्कोतिर!
नेपोलियनसँग ट्रम्पका केही अमिल्दा कुरा पनि छन्। नेपोलियन एक महान सैन्य रणनीतिकार र आफै मोर्चामा खटिने जर्नेल थिए। ट्रम्प जर्नेल होनन्। उनले अनेक बहानामा त्यतिबेला उमेर पुगेका हरेक युवालाई भियतनाम युद्धमा खटाउने बाध्यकारी कानुन (भियतनाम ड्राफ्ट) तोडेको आरोप लाग्ने गरेको छ। अखबारी अभिलेखहरू भन्छन्, उनले त्यो बेला आफ्नो टोले डाक्टरबाट 'पैतालामा हाडको टुसो पलाएको' प्रमाण बनाएर आफूलाई जोगाएका थिए।
ट्रम्पले आफ्नो जीवनमा मदिरा सेवन गरेका छैनन्। तर 'पैतालामा हाडको टुसो पलाएको' मान्छेलाई भियतनाम युद्धताका सुन्दरीहरूको भीडमा रात्रीकालीन न्युयोर्कको जमघटमा देख्न सकिन्थ्यो। अखबारहरूका अनुसार युवा ट्रम्प यौनजन्य रोगबाट जोगिने औषधिहरूमा निकै चासो राख्ने गर्दथे। 'म त्यो बेला आफ्नै खालको भियतनाम युद्ध लड्दै थिएँ,' ट्रम्पले एउटा मनोरञ्जन म्यागजिनसँगको अन्तर्वार्तामा भनेका पनि रहेछन्। नेपोलियन आफ्नी पत्नी जोसेफ़ाइनलाई अत्यन्त प्रेम गर्थे र इमान्दार थिए। उनले रणमैदानबाट जोसेफ़ाइनलाई लेखेको प्रेमपत्र फ्रान्सेली रोमान्टिक कविहरू अझै चाख मानेर पढ्छन्।
नेपोलियन आफू सम्मुखको अवस्थालाई यथार्थको धरातलमा रहेर विश्लेषण गर्थे। डोनाल्ड ट्रम्प आफू अनुकूलको वैकल्पिक सत्यमा विश्वास गर्छन्। नेपोलियन आफै हतियार बोकेर मैदानमा होमिन्थे। ट्रम्पलाई त्यस्तो बाध्यता छैन। तर ट्रम्पको मगजभरि युद्ध छ। उनी आफ्नो कालो मोटो कलमरूपी हतियारले लामालामा दस्तखत गरेर एकैदिन कयौँ व्यापार युद्धको घोषणा गर्दैछन्। यद्दपि, उनले देखेको वैकल्पिक सत्य जस्तो अमेरिका अहिलेसम्म कुनै सम्राटको साम्राज्य भैसकेको छैन। यो देशमा प्रजातन्त्रको अवयव अझै बाँकी छ।
ट्रम्पको वैकल्पिक सत्यसँग असहमत आम नागरिक र राज्यकै अन्य निकायहरूले शक्तिको पृथकीकरणको अभ्यास गर्न न्यायालयको संवैधानिक ढोका धकेल्न थालेका छन्। न्यायालयले ट्रम्पका कतिपय 'अजेन्डा'माथि कानुनी लगाम लगाइदिएको छ। यो ट्रम्पलाई सह्य छैन। नेपोलियनको भनाइसँग मेल खाने 'देश बचाउन गरिएको काम गैरकानुनी हुँदैन' भन्ने उनको दाबी न्यायालयप्रति उनको क्षोभको अभिव्यक्ति हो। उनको मत छ, 'अदालतले कार्यकारी अंगको अपहेलना गर्दैछ, जो गैरकानुनी हो।'
अमेरिकी राष्ट्रपतिका अनिर्वाचित दाहिने हात इलोन मस्कले त सिधै आफ्नो एक्सको पानामा पोस्ट गरिसके, 'यी न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्छ।'
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटले समेत औपचारिक रूपमै भनिन्, 'लिबरल अदालत र न्यायाधीशहरू आफ्नो शक्तिको दुरूपयोग गरेर संवैधानिक संकट निम्त्याउन खोज्दैछन्।'
उनको कथन छ, 'अदालत न्यायालय नभएर लिबरल अभियन्ताहरूको अखडा जस्तो भएको छ।'
क्यारोलाइन लेभिट ट्रम्पको अघिल्लो कार्यकालकी चर्चित प्रवक्ता सारा स्यान्डर्सभन्दा बिल्कुलै भिन्न छिन्। आफूभन्दा ३२ वर्ष जेठा घरजग्गा व्यवसायी पतिकी पत्नी र सात महिने छोराकी आमा २७ वर्षीया सुन्दरी क्यारोलाइन तीसौँ वर्ष ह्वाइट हाउस चहारेर खली खाएका पाका पत्रकारहरूलाई आधा मिनेट पनि टिक्न दिन्नन्। संवाददाताहरूलाई 'इङ्गेज' गर्ने उनको शैली देखेर आम मानिसहरू समेत टिप्पणी गर्न थालेका छन्, 'सरकारी प्रेस सम्मेलन पनि यति रोचक हुन्छ भन्ने मैले सोचेको थिइनँ। मलाई त उनी बोलिरहून् जस्तो लाग्छ।'
काम थालेको एक महिना नपुग्दै 'सेलिब्रिटी' को छवि बनाइसकेकी क्यारोलाइन प्रत्यक्ष प्रसारित टीभीमा भन्छिन्, 'राष्ट्रपति ट्रम्प बहुमत जनताको समर्थनमा निर्वाचित हुन्। जनताको अधिकारलाई अरु कुनै अधिकारले परास्त गर्न सक्दैन भन्ने सत्यलाई अदालतले जति छिटो बुझ्यो त्यति राम्रो हुनेछ।' ट्रम्प समर्थक फक्स न्युजका दस करोड दर्शकहरू सहमतिमा मुन्टो हल्लाउँछन्।
समाचारको अम्मलीका रूपमा यो पंक्तिकारले क्यारोलिनको प्रेस सम्मेलनमा नेपाली पत्रकारहरूको उपस्थिति खोज्नु अनुचित होइन। तर खोइ अमेरिकी नागरिकताधारी नेपाली मूलका न्युज पोर्टलको त्यहाँसम्म पहुँच? नेपाली अमेरिकन पत्रकारहरूको अमेरिकामा दुईओटा त संगठन मात्रै छ। झन्डै दुईसय सदस्य छन्। छापामा दुईओटा अखबार छन्। नेपाली न्युज पोर्टलको संख्या कति छ? त्यो गुगललाई पनि थाहा छैन।
तर न्युयोर्क, टेक्सस, लस एन्जेलस र पेन्सिल्भेनियातिरका नेपाली अनलाइनहरू हेर्दा स्पष्ट हुन्छ, यिनको स्वरूपमा आफ्नोपनको अभाव छ। कुनै पनि कुनैभन्दा भिन्न छैनन्। सबैले अध्यागमन सम्बन्धी समाचार सामग्रीमा विशेष जोड दिएका छन्। यो बिकाउ विषय हो। प्राय: सबैमा नब्बे प्रतिशतभन्दा बढी नेपाली राजनीतिका समाचार पस्किने प्रचलन रहेछ। अमेरिकाभरि छरिएर रहेका नेपाली समूदायका सुख, दु:ख र सफलताका कथा, मानवीय अभिरुचिका प्रस्तुति शून्य छ। नेपाली मूलका व्यापारी, सामाजिक अभियन्ता र एनआरएन उद्यमीहरूको अन्तर्वार्ता भने अघाउन्जेल पढ्न र हेर्न मिल्ने रहेछ।
आफूलाई 'मूलप्रवाह' मान्ने 'नेजा' र विद्रोह गरेर चोइटिएको पूर्ववामपन्थीहरूको 'ईञ्जा' नामक संगठनहरूको सक्रियता देख्न एनआरएनको चुनावरूपी चलखेल कुर्नुपर्ने बाध्यता छ। विभिन्न चिरामा विभक्त एनआरएनका जतिओटा गुट र उपगुट छन्, त्यति नै संख्यामा पोर्टल र पत्रकारहरू छन्। नेपालका स्थापित अनलाइनमा सुलभ समाचारको गुन्द्रुक खाँदेर अस्तित्व जोगाउनुपर्ने विवशताले पीडित 'नेपाली अमेरिकन जर्नलिस्ट'हरूको अमेरिकी संस्थापनमा पहुँच टीठलाग्दो रूपले संकुचित छ। यस स्थितिमा ह्वाइट हाउसको प्रेस सम्मेलनमा अमेरिकी नेपाली पत्रकारहरूको उपस्थिति खोज्नु आफैमा एउटा अन्याय वा पूर्वाग्रह हुनसक्छ।
वर्षमा दुवै संस्था मिलेर नेपाल र अमेरिकाका आधा दर्जन जति सञ्चारकर्मीलाई पुरस्कार दिएपछि सबै खुसी र सन्तुष्ट छन् भने त्यसको अर्घेलो गर्नु जरुरी छैन। तर अपाच्य त्यतिबेला हुँदो रहेछ, जब 'नेजा' र 'ईञ्जा'का पत्रकारहरू आआफ्नो उपस्थिति देखाउने होडमा नेपाल सरकारका टीके पत्रकार पदाधिकारीहरूलाई अमेरिकामा मेजमानी गराएर उनीहरूबाट पेसागत व्यावसायिकताको उपदेश सुन्न लालयित हुन्छन्! नेपाल पत्रकार महासंघका पदाधिकारीहरूको आफ्नै देशमा कुनै मूल्य छैन। उनीहरू व्यावसायिक निष्ठाका उदाहरण हुन सकेका छैनन्। राजनीतिक बाहेक अन्य विधामा न उनीहरूको कलम चल्छ, न अमेरिका आएर पत्रकारिताको धर्म 'सिकाउने' उनीहरूको ल्याकत छ। तर खादामाला, भोजभतेर, भाषण, प्रवचन मार्फत कुम्भ मेलामा हराएका दाजुभाइको मिलन हुन्छ भने त्यसमा कुनै आपत्तिको कुरा छैन। सबै खुसी छन्, सन्तुष्ट छन्।
अध्यागमन बाहेक नेपाली अमेरिकी समुदायले चासो दिनुपर्ने अरु पनि मुद्दा छन्। अमेरिकी निर्वाचन प्रणाली, बजेट आदि विषयमा सुसूचित गर्न जाँगर चलाएका छैनन् भने यसमा पनि उनीहरूको दोष छैन। पाठकहरूले नरुचाउने विषय व्यवसायको दृष्टिले प्राथमिकतामा नपर्नु स्वाभाविक हो।
सुविधाले सम्पन्न र अवसरले भरिपूर्ण अमेरिकामा 'नेपाली अमेरिकन पत्रकारहरूलाई प्रेरणा दिन' बेलाबखत ममता काफ्लेहरूको हत्या हुने गरेको छ। त्यो बेला उनीहरूको युट्युब खातामा हजारौँ नयाँ सदस्यहरू थपिएका थिए। अरुबेला उनीहरू 'ईञ्जा'का सभापतिले झैँ टिकटकमा घडी बेचेर बसे पनि यो अरुको समस्या होइन।
केही दिनअघि 'नेजा' का एक पूर्वसभापतिका परिवारका सदस्यको नामबाट सामाजिक सञ्जालमा एक अंग्रेजी पोस्ट आयो- 'अमेरिकी करदाताले इलोन मस्कले जे गर्दैछन्, त्यसलाई प्रेम गर्नुपर्छ।'
इलोन मस्क अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हात हुन्। उनी निर्वाचित पदाधिकारी होइनन्। उनलाई कुनै औपचारिक नियुक्ति पत्र पनि दिइएको छैन। सरकारको आकार र व्ययभार घटाएर छरितो बनाउने ट्रम्पको मनसाय पूरा गर्न संसारकै धनी व्यक्ति इलोन मस्क आफ्नो चार वर्षे नाबालक छोरा सहित ह्वाइट हाउसको ओभल अफिसमा लडिबुडी गर्दैछन्। उनले ट्रम्पको चुनावमा सयजना सामान्य मान्छेले दुई जुनीमा समेत कमाउन नसक्ने रकम भन्दा बढी चन्दा दिएका हुन्। उनी ट्रम्पको फ्लोरिडास्थित दरबारमा दैनिक दुई हजार डलर भाडा तिरेर बसेका छन्।
अहिले मस्कको आदेशमा सिलिकन भ्यालीमा काम गर्ने बीस वर्षभन्दा कम उमेरका प्राविधिकहरूको दल राष्ट्रिय कोषागारको गोप्य सूचना कम्प्युटरमा नाङ्लो निफ़नेझैँ केलाउँदैछ। ट्रम्पको आड र आदेशमा मस्कले फ़ुलाएको मांसपेशी देखेर हत्प्रभ सञ्चारकर्मीले मस्कको आधिकारिक हैसियतबारे प्रश्न गर्दा ट्रम्पको जवाफ थियो, 'उनलाई कर्मचारी भने पनि हुन्छ, सल्लाहकार भने पनि हुन्छ। उनी एक देशभक्त हुन्। उनीसँग देशभक्त युवाहरूको दल छ। उनीहरू जे गर्दैछन्, देशको हितमा गर्दैछन्।'
इलोन मस्कले यूएसएड नामक अमेरिकी वैदेशिक सहायता नियोगलाई 'अपराधीहरूको संगठन' भनेको भोलिपल्टै यो संस्था खारेज गर्ने तरखर सुरु भयो। ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै सबै विदेशी सहायता तीन महिनाको निम्ति निलम्बन गर्ने निर्णय गरेपछि अविकसित र विकासोन्मुख देशका नागरिकहरूको जीवन संकटमा परेको थियो। नेपाल लगायत अफ्रिकी मुलुकले पाइआएको खोप अब बन्द हुने सम्भावना छ। यूएसएड अन्तर्गत नेपालले पाउने सम्झौता भैसकेको करिब ७० करोड डलर रकम रोकिएको छ। एमसीसी बन्द छ। तर अमेरिकन नेपालीहरू इलोन मास्कको कामबाट खुसी छन्।
डोनाल्ड ट्रम्प र इलोन मस्कका नेपाली समर्थकलाई थाहा छ कि छैन होला? मस्कको टेस्ला नामको विद्युतीय सवारीको विकास सरकारी अनुदानबाट भएको हो। उनको स्पेस एक्स र स्टारलिंक आयोजनालाई अमेरिकी स्पेस एजेन्सी (नासा) र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले आर्थिक सहायता गरेको छ। सरकारी खर्च कटौती गर्ने नाममा उनले राज्यकोषबाट तीन हप्तामा एक करोड साठी लाख खर्च लिइसके। यो रकम अन्य अमेरिकी नागरिकले जस्तै नेपालका नयाँ अमेरिकी नागरिकले समेत तिरेको करको रकम हो। राज्यका सम्पूर्ण गोप्य सूचनामा हालीमुहाली गर्दागर्दै उनले आफ्नो व्यक्तिगत व्यापारिक साम्राज्यको पनि समान्तर नेतृत्व गरिरहेका छन्। यो टड्कारो स्वार्थको द्वन्दका बारेमा 'नेपाली अमेरिकन जर्नालिस्ट'हरूले एक शब्द बोल्ने जाँगर चलाएका छैनन्। उनका निम्ति यो नेपालका नेताहरूलाई सुशासनको पाठ पढाएजस्तो सरल छैन।
नेपाली नागरिकता त्यागेर अमेरिकन बनेका ट्रम्प र इलोनका समर्थकहरूले यति जानेरै मस्कको तारिफ गरेका हुन् भने यो क्रूरता हो। नजानेर हो भने उनीहरू वास्तवमै निलो स्यालका समर्थक हुन योग्य छन्।
गोर्खाली अमेरिकनहरूको नयाँ देशमा अहिले प्रजातान्त्रिक पद्धति र शक्ति पृथकीकरणको सिद्धान्त संकटमा छ। चुनाव जितेर आएको ऐतिहासिक रूपले उदार दलको विजयी उम्मेदवार तानाशाहको ढंगले शासन गर्न खोज्दैछ। आजको खुला समाजमा नेपोलियन प्रवृत्तिले शिर खडा गर्नु आधुनिक मानव सभ्यताकै निम्ति एक लज्जास्पद काल हो। तर नेपाली अमेरिकनहरूको एउटा सानो वर्ग खुसी छ। त्यो वर्ग अब नेपालीबाट 'अमेरिकी करदाता' मा रूपान्तरित भइसक्यो। नेपालजस्ता गरिब राष्ट्रहरूले पाइआएको सहयोग कटौती हुँदा उनीहरूलाई अब खुसी लाग्छ।
नेपालका सत्तासीनहरू अमेरिका भ्रमणमा आउँदा एक छाक मासुभात र दुईतीन पेग सिंगल माल्ट ह्विस्कीले स्वागत गरुन्जेल ठीकै छ। तर आफूसरहको अर्को नेपाली आफ्नो घरगाउँ छेउ स्थापित भएको देख्न मुखले नभए पनि मनले सहन गाह्रो मान्छ। डोनाल्ड ट्रम्पको कागजबिनाका आप्रवासी लखेट्ने अभियानले उनीहरूको लुकेको अभीप्साको तुष्टि गर्छ। त्यसैले उनीहरूका निम्ति इलोन मस्कहरू प्रियपात्र हुन्।
अमेरिकामा दास प्रथाकालमा एकथरी 'उच्च श्रेणी' का दासहरू पनि हुने गर्थे। उनीहरू खेतमा होइन, मालिकको घरमा काम गर्थे। मालिकको भान्साको जुठोपुरो खान्थे। मालिककै घरको छिँडीमा सुत्थे। 'अंकल टम' भनिन्थ्यो यी उच्च वर्गका दासहरूलाई। उनीहरूको प्रमुख काम हुन्थ्यो, मालिकका विरुद्द अन्य दासहरूले कुनै गतिविधि गरेको शंका भए त्यसको चियो गर्ने। मालिकलाई सुराकी दिने। यस्ता अङ्कल टमहरूका कारण व्यक्तिगत वा सामूहिक विद्रोह गर्ने हजारौँ दासहरूले जीवन गुमाएको कथाले रंगीन छ अमेरिकी इतिहास।
यी नेपाली अमेरिकनहरूको सोचविचार र क्रियाकलाप झन्डै अङ्कल टम सम्झाउने खालको छ। अङ्कल टमहरूलाई हर्षित दास भन्न सकिन्छ।
जर्मन भाषी अस्ट्रियाली लेखिका मेरी भोन् इब्नरले उन्नाइसौँ शताब्दीमा थाहा छैन के सोचेर भनेकी थिइन्, 'प्रफुल्ल दासहरू स्वतन्त्रताको सबैभन्दा ठूला शत्रु हुन्।' तर उनको यो वचनको सान्दर्भिकता एक्काइसौँ शताब्दीको एक चौथाइ कालपछि पनि कायम छ। दासता र दासको स्वरूप र परिभाषा फेरिएको छ। दास, मालिक र दासप्रथा अझै जीवित छन्।
एकथरी दासहरू मुक्ति चाहन्छन्। अर्काथरीलाई आफू दास भएको अनुभव नै छैन। अर्काथरी पनि छन्, जो खतरनाक छन्, उनीहरूलाई आफू दास भएकोमा गर्व छ।
यो उनीहरू प्रफुल्ल हुने बेला नै हो, किनकि अहिले नेपोलियनको आत्मा बनेर ट्रम्प र इलोन मस्क एकैपटक उदाएका छन्।
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
Shares

प्रतिक्रिया