समाज


पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

फाइल फोटो


नेपालखबर
फागुन ८, २०८१ बिहिबार १६:३६, काठमाडौँ

फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा आगोको लप्कासहित भएको बेलुन बिस्फोटमा घाइते भएका पोखराका मेयर धनराज आचार्य बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

उद्घाटनको क्रममा उडाउन लागिएको हाइड्रोजन भरिएको बेलुनलाई आगोको झिल्काले टिप्दा निस्केको लप्काले उनीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए। ५ देखि ६ प्रतिशत शरीरको भाग जलेपछि तत्काल उपचारको लागि दुवैलाई कीर्तिपुर अस्पताल लगिएको थियो।

अस्पतालले मन्त्री पौिडेललाई तीन दिनअघि नै डिस्चार्ज गरेको थियो भने मेयर आचार्यलाई चाहिँ बिहीबार अस्पतालले बिदा गरेको हो। यद्यपि, उनको शरीरमा भएको जलन भने निको भएको छैन। 

अस्पतालले भेट्न आउने शुभेच्छुकहरुको भीडबाट मेयरलाई जोगाउन उनलाई डिस्चार्ज गरेको मेयर निकट स्रोतले बताएको छ। मधुमेह (सुगर) समेत रहेकाले उनको घाउ निको हुन समय लाग्ने भएको हो। मेयरको हात र अनुहारको घाउ निको हुन केही समय लाग्ने र दैनिक रुपले ड्रेसिङ गर्नुपर्ने आवश्यकता छ। 

अबका केही दिन उनी एकान्तमा बस्नेछन् भने नियमित रुपमा घाउको ड्रेसिङ गराउने छन्। मेयरले अस्पतालबाट डिस्चार्ज भएको जानकारीसहित सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्। 

‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन तपाईंहरूको साथ, सहयोग, र सुझाव सधैं अपेक्षित रहनेछ,’डिस्चार्जपछि उनले भनेका छन्।

सो घटना छानबिनको लागि सरकारले समिति बनाएको छ भने बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। 

कमलेशले अनुमतिबिना हाइड्रोजन उत्पादन गर्ने गरेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad